उच्च स्वास्थ्य सतर्कता अपनाउन नगरपालिकाको अनुरोध

0
716

पथरीशनिश्चरे,

पूर्वी मोरङको पथरीशनिश्चरे नगरपालिकाले कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै उच्च स्वास्थ्य सतर्कता अपनाउन नगरवासीमा अनुरोध गरेको छ ।

नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको मंगलबार बसेको बैठकले जिल्ला कोरोना संक्रमण व्यवस्थापन समिति मोरङ्गद्वारा जारी निषेधाज्ञा कडाईका साथ पालन गर्न र गराउन निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय मोरङले गत ८ गते देखि साउन १४ गते राती १२ बजेसम्मका लागि निषेधआज्ञा जारी गरेको छ । पछिल्लो तथ्यांक अनुसार नगरमा हाल १ सय बढी सक्रिय संक्रमित रहेको जनाउँदै अति आवश्यक काम वाहेक अनावश्यक हिँडडुल नगर्न र पुर्ण रुपमा स्वास्थ्य मापदण्ड अपनाउन सबैमा अनुरोध गरिएको छ ।

पसल तथा कार्यालय सहित सम्पूर्ण स्थानमा कम्तिमा डेढ मिटरको दूरी कायम गर्ने, अनिवार्य रुपमा मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्न , लगायतका स्वास्थ्य सतर्कता अपनाउनु हुन नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समिति सहसंयोजक एवम् नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले आग्रह गरेकीछिन् ।

वास्तोलाको अध्यक्षतामा बैठक बसेको थियो । साथै, स्वास्थ्य मापदण्ड विपरित निषेधआज्ञा उल्लंघन गरेको पाइएमा स्थानीय प्रशासनमार्फत कानूनी कारवाही गरिने समेत नगरपालिका कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जिल्लाले शैक्षिक संस्था, जिमखाला, पार्टी प्यालेस, खेलकुदस्थल, गुद्री बजार, हाटबजार, सब्जीमण्डी, स्वीमिङ पुल, मेला, महोत्सव, सभा, सम्मेलन, जुलुस तथा सामुहिक जमघटका कुनै पनि कार्यक्रम गर्न निषेध गरेको छ । बेलुका ८ बजेबाट विहान ५ बजेसम्म हिँडडुल गर्न नपाइने निषेधआज्ञा जारी भएको छ ।

यसैवीच, पथरिशनिश्चरे नगरपालिकामा पनि कोरोना भाईरसको संक्रमण फैलिन नदिन भेरोसिल खोप संचालन भयो। नेपाल सरकारले तोकेकै मितिमा संञ्चालन भएको उक्त खोप कार्यक्रममार्फत जेष्ठ नागरिक, शिक्षक शिक्षिका तथा सवारीसाधन मा कार्यरत चालक – सहचालक लगायतलाई खोप लगाइएको नगरका स्वास्थ्य संयोजक मुरारी आचार्यले जानकारी दिनुभयो।

उहाँका अनुसार मंगलबार र बुधबार गरी १७ सय भेरोसिल डोजको खोप नगर अस्पताल, शनिश्चरे स्वास्थ्य चौकी र हसन्दह स्वास्थ्य चौकीबाट खोप उपलब्ध गराईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here