लाइन काटेर बक्यौता असुल

१३ श्रावण २०७८, बुधबार मा प्रकाशित

बागलुङ,

नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले समयमा महसुल नबुझाउने ग्राहकको लाइन काटेर बक्यौता असुल गरेको छ । गत आवभित्रमा ४६४ त्यस्ता ग्राहकबाट रु ३५ लाख बक्यौता उठाइएको केन्द्रले जनाएको छ ।

महसुल तिर्न अटेर गर्ने ग्राहकको लाइन काट्ने गरिएको र महसुल बुझाएमा पुनः लाइन दिने गरिएको केन्द्र प्रमुख शिवनारायण गोशलीले बताउनुभयो । मिटर रिडिङ गरेको ६०औँ दिनसम्म विद्युत् महसुल नतिरेमा बिनासूचना जुनसुकै समयमा पनि प्राधिकरणले लाइन काट्न सक्ने कानूनी व्यवस्था छ ।

तोकिएको अवधिभन्दा बढी समयसम्म महसुल नतिर्ने ग्राहकको लाइन काट्ने गरिएको प्रमुख गोशलीको भनाइ छ । लाइन काटिएपछि बल्ल ग्राहकले बक्यौता रकम बुझाउने गरेका छन् । बक्यौता नतिरेसम्म लाइन नजोडिने केन्द्रले जनाएको छ ।

लाइन काटिएपछि पनि महसुल नबुझाउने ग्राहकलाई कालोसूचीमा राखेर केन्द्रले कारवाही अगाडि बढाउन सक्छ । गत आवमै कालोसूचीमा रहेका १६ जना पुराना ग्राहकबाट रु तीन लाख आठ हजार बक्यौता असुल गरिएको थियो । यस्तै ४१ ग्राहकलाई विद्युत् चुहावट गरेको आरोपमा कारवाही गरिएको छ । केन्द्रले अहिले जिल्लाभर केन्द्रीय प्रसारण लाइन विस्तारको काम गरिरहेको छ । विद्युतीकरण कार्यक्रममार्फत गत आवको शुरुमै बडिगाड र ढोरपाटन नगरपालिकाकामा पहिलोपटक केन्द्रीय प्रसारण लाइन पुगेको थियो ।

ताराखोला, बरेङ गाउँपालिका र जैमिनी नगरपालिकामा पनि विद्युत् विस्तार भइरहेको छ । “जिल्लाको करिब ६५ देखि ७० प्रतिशत ठाउँमा केन्द्रीय प्रसारण लाइनको पहुँच विस्तार भइसकेको छ”, प्रमुख गोशलीले भन्नुभयो, “आगामी वर्षसम्ममा सबैतिर पुग्छ, त्यहीअनुसार बजेट माग गरेका छौँ ।”

तमानखोला र निसीखोला गाउँपालिकामा अहिलेसम्म केन्द्रीय प्रसारणको विद्युत् पुग्न सकेको छैन । स्थानीयवासीहरू गाउँमै सञ्चालित लघुजलविद्युत् आयोजनाका भरमा छन् । गत आवमा विद्युत्का एक हजार ९०५ जना नयाँ ग्राहक थपिएको केन्द्रले जनाएको छ ।

गण्डकी प्रदेश सरकारबाट आएको ग्रामीण विद्युतीकरण कार्यक्रमको शतप्रतिशत काम पूरा भएको जनाइएको छ । केन्द्रले विद्युत् विस्तारका साथै विद्युत् लाइन सुदृढीकरण, ट्रान्सफर्मर जडान, चुहावट रोक्ने, जीर्ण काठका पोललाई विस्थापित गरी नयाँ फलामका पोल राख्नेलगायतका काम गर्दै आएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here