सुरक्षाकर्मीको सुरक्षा चुनौति

१३ श्रावण २०७८, बुधबार मा प्रकाशित

हरेक विपत्तिमा अघि रहनुपर्ने सुरक्षाकर्मी आफैं जोखिममा छन् । भीड नियन्त्रण गर्न, नागरिकको जिउधनको सुरक्षा गर्न, अपराध अनुसन्धान गर्न वा प्राकृतिक तथा दैवी विपत्तिमा अग्रपंक्तिमा खटिने प्रहरी यतिबेला कोरोनाका कारण असुरक्षित छन् । सुरक्षा गर्नुपर्ने सुरक्षाकर्मी आफै असुरक्षित भएपछि नागरिक सुरक्षित हुन सक्दैनन् । चीनमा पहिलोपटक देखापरेको कोरोना भाइरस नेपालमा भेटिए लगत्तै भीडभाड रोक्न प्रहरी खटिएका थिए । त्यसबेलादेखि आजसम्म दिनहुँजसो भइरहेका राजनीतिक गतिविधिमा समेत उनीहरू नै अग्रपंक्तिमा रहेर स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गराउन प्रयत्नरत् छन् । यसैलाई ध्यानमा राखेर सरकारले प्रोत्साहन भत्ता दिने घोषणा पनि ग¥यो । तर, त्यसको कार्यान्वयन भएको छैन ।

सुरक्षाकर्मी नै असुरक्षित भए, संक्रमित र प्रोत्साहित नगरिए नागरिक वा देशको आन्तरिक सुरक्षा अथवा अपराध अनुसन्धान प्रभावित हुन सक्छ । प्रदेश नम्बर १ को आन्तरिक लगायतको सुरक्षा गर्ने दायित्व प्रदेश प्रहरी कार्यालय विराटनगरको हो । कोरोना संक्रमणको उच्च जोखिम रहेको प्रदेश भएका कारण यहाँका प्रहरीले बढी जोखिम व्यहोर्नुपर्छ । प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेशका चौध जिल्लाका एक हजार तीन सय दुई जना प्रहरी कोरोना संक्रमित भएको जनाएको छ । अहिले पनि ५६ जना प्रहरी आइसोलेसनमा रहेका छन् । अहिलेसम्मको तथ्याङ्क अनुसार तीन वटा सुरक्षा निकाय मध्ये जनपदका प्रहरी बढी संक्रमित भएका छन् । निषेधाज्ञा कार्यान्वयन गराउन, सडक सुरक्षा, अपराध नियन्त्रण र सीमा सुरक्षामा खटिएका प्रहरी सबैभन्दा बढी जोखिममा छन् । उनीहरूलाई सुरक्षाका उपकरण, स्वास्थ्य सामग्रीको उचित र आवश्यक प्रबन्ध गर्ने पहिलो दायित्व प्रहरी नेतृत्वको हो ।

स्वास्थ्यविद्हरूले कात्तिक तेस्रो सातासम्ममा कोरोनाको तेस्रो लहर आउन सक्ने प्रक्षेपण गरेका छन् । सरकारले पनि स्वास्थ्य मन्त्रालय र जनस्वास्थ्यविद्हरूको प्रक्षेपणका आधारमा कोरोनाको तेस्रो लहरका विरूद्ध लड्न पूर्व तयारी थालेको छ । सम्पूर्ण संख्याको साठी प्रतिशत नागरिकलाई खोप लगाए मात्र भाइरस नियन्त्रण गर्न सकिने विज्ञहरूको भनाइ छ । तर, अहिलेसम्ममा कूल संख्याको सात प्रतिशतले मात्र खोप लगाउन पाएका कारण स्वास्थ्य जोखिम घातक हुन सक्नेतर्फ आ–आफू अनुशासित र सचेत हुनुको विकल्प छैन । सरकारले सम्भावित तेस्रो लहरबाट नागरिकलाई जोगाउन खोप अभियानलाई युद्धस्तरमा लैजानुपर्छ । तेस्रो लहरबाट बालबालिका र खोप नलगाएकाहरू बढी प्रभावित हुन सक्ने भएकाले खोप सरकारको प्राथमिकता पर्नुपर्छ । त्यसै पनि यो महिनामा संक्रमण बिस्तारको दर अत्यधिक रहेको छ । यस्तैमा जनजीवन सहज बनाउने नाममा निषेधाज्ञा क्रमशः खुकुलो पार्दै लगेको छ भने स्थानीय सरकारहरूले बन्द गर्न थालेका छन् । केन्द्र र स्थानीय सरकारको परस्पर बिरोधी निर्णय संक्रमण कम गर्न सहयोगी हुन सक्दैन । त्यसैले प्रहरी जस्तो कर्तव्यकै हिसाबले उच्च जोखिममा रहेको समूहलाई प्रोत्साहित गर्दै आमनागरिकको सुरक्षामा परिचालन गर्नुपर्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here