अल्झेछ क्यारे कोरोना साइँली ! तिम्रो त्यो पछ्यौरीमा

१६ श्रावण २०७८, शनिबार मा प्रकाशित

आँखाले देखिने भए त कोरोना भाइरासलाई साइँली ! जुम्रा मारे जस्तो गरी दुई बुढी औंलाको नङको बीचमा चेपेर पिटिस्सै पारिदिन्थेँ नि । मारेर मात्रै के रिस् मथ्र्यो होला र साइँली ! त्यो कोरोनालाई छिलिपित्तिलि नै पारी दिन्थेँ । अनि त्यो मरेको कोरानालाई मज्जाले नाकले नस सुँघे जस्तो गरी कस्सेर स्वाँक्क सुघ्ने थिएँ र नशाले लठ्ठ हुने थिएँ । अनि हेर्ने थिएँ त्यो मरेको कोराना नाकभित्र पस्दो रै’छ कि नाई ?

आँखाले देख्न सकिने भए त सब्जीबारीमा दबाई छर्के जसरी पिच्कारीले कडाभन्दा कडा दबाई कोरोनाको नाकैमा छर्की दिन्थे । किराहरु कुँडुली परेर मरे जस्तै छट्पटिँदै मर्ने थियो होला त्यो । अनि हेरौँला त्यो कसरी हाम्रो शरीरमा पस्दो र’छ । बारीमा सोतर बाले जस्तो गरी आगो लगाएर मासिदिन्थे त्यसलाई तर यो कोरोना भाइरास भन्ने किरा मुन्छेको आँखाले देख्नै नसकिने र’छ । मच्छेर जस्तो भए त त्यसलाई मच्छेर धुप बालेर लखेट्न हुन्थ्यो । तर, त्यस्तो पनि होइन र’छ कोरोना भाइरास । नुन या सुर्ती दलिदिन हुन्थ्यो नि तर जुका या भ्यात्लुङ्ग जस्तो पनि होइन र’छ कोरोना भाइरास साइँली । होइन के रहेछ हौ साइँली ! यो कोरोना भाइरास ? खोप घोप्दा नि नमर्ने हँ ? होइन हौ उग्रै पो रहेछ यो त ?

खान मिल्ने भए त कोरोना भाइरासलाई तेलमा छ्वाँइयँ पारेर तारेर खाइदिन्थेँ । सिलौटामा लोहोरोले पेलेर दश–बाह्र वटा अकबरे खोर्सानीसँग पिसेर अचार बनाएर भातसँग खाइदिन्थेँ । जाँडसँग भए नि खाइदिन्थे । नत्र म म बनाएर खाइदिन्थेँ । नभए सुप बनाएर सुरुप–सुरुप पिउँथे । तर, के गर्नु र साइँली कोरोना अदृष्य शत्रू रहेछ । मोरो कहाँबाट केबाट मुन्छेहरुको नाकमा छिर्दोरहेछ ।

साइँली ! तिमीले मुबिलको मुसेजमा लेखेथ्यौ कि, तिमी कतै जाँदा नाक–मुख राम्रोसँग छोप्ने गरेको छु । तर, तिम्रो नाकमा पापिस्ट कोरोना भाइरास छि¥यो चाहिँ कसरी ? तर, कोरोना भाइरासको स्वभाउ नै त्यस्तै छ कि कुनै पनि बेला झुक्याएर मुन्छेको शरीरमा छिर्न सक्छ । धन्न साइँली ! तिमीलाई अल्फा, बिटा, गामा र डेल्टा भाइरास लागेनछ नत्र त साइँली ! तिमी वार कि पार हुनेथ्यौं ।

हुन त तिमीले मुसेजमा लेख्यौ कि, साइँला ! तिम्रो माया पाउञ्जेल कस्तै भाइरासले पनि मलाई लान सक्दैन । यस्तो मुसेज पढेपछि त साइँली ! साँच्चै म त भुतक्कै परेँ । कोरोना भाइरासले मेरो माया चिनेछ । त्यसलाई मुरी–मुरी धन्यवाद । कति जनाले भन्ने गर्छन् मायाले संसार अडिदैन, तर मो भन्छु संसार मायाले नै अडिन्छ । माया नहुँदो हो त संसारका सात अरब मानिसहरु बहुलाएर, डिप्रेसनमा परेर मर्ने थिए ।

जब तिमीलाई कोरोना भाइरास लाग्यो भनेर तिम्रो मुसेज पाएँ त्याँ देखि मेरो भोक निद्रा हराइ गयो साइँली । दिन पनि अँध्यारो भयो । रात त झन् निष्पट्टै । तिमीलाई झट्टै निको होस् भनेर देउरालीको देउतालाई के–के हो के–के चढाएँ र पुकारेँ । तिम्रो पीरले घरभित्र पसेपछि बाहिर निस्कन नै बिर्सने भएछु अनि बाहिर निस्केपछि घर आउन नै भुल्ने भएछु । यस्तो बेलामा तिम्रो माया उदुमै लागेर आउँदो र’छ । मुबिलमा धेरै–धेरै मानिसहरु कोरोनाले मरेका सम्चार आउँदा तिमीलाई पनि केही भइहाल्ला कि भनेर मेरो जिउ नै चिसो भयो । मेरी साइँलीलाई एक झल्को हेर्न पनि नपाउने हो कि भनेर पीरले भाउन्न भै गएँ ।

यता मलाई पनि कोरोना लाग्यो कि क्या हो साइँली ? तीन दिनदेखि रनक्क टाउको दुखेर आइराख्या छ । ओखतीले बीसको उन्नाइस भ’को होइन । खानेकुराको स्वाद पनि पाउन छाँडे । मलाई पनि कोरोना लाग्यो कि के हो भनेर होला डरले म त दिनको तीन–तीन पल्ट पाइखाना जाने भाको छु । तर हाव ! साइँली तिमीलाई चाहिँ कसरी कोरोना लाग्यो हँ ? तिमीले मुसेजमा भन्यौ कि, ‘कोरोनाको खोप लगाउन गाउँपालिका जाँदा अरुबाट कोरोना सरेर आयो होला । कोरोना खोप लगाउने ठाउँमा मुन्छेहरुको मेला लाग्दो र’छ । दुईतीन ठाउँ खाँदिएर लाइन लाग्दा कोहीबाट कोरोना सरेको होला । यो पहाडमा मुखमा लाउने त्यो मोलो कहाँ पाउनु र ? पछ्यौरीले दिनभरि नाक मुख छोपेकै हो ।

अब कोरोना सरी गो त के गर्नु ? पछ्यौरी मै कोरोना टाँसिएछ क्यार । तर, निको भई जान्छु साइँला ! पीर नमान है । ढाकर भरि–भरिको तिम्रो मुया पिरती पाउञ्जेल मो त्यसै मरिजाने कहाँ हुँ र ? तिम्रो मुया पिरतीले कस्तै भाइरासलाई पनि जित्छ साइँला । यहाँ घरमा आमाले तागतिलो खानेकुरा पकाएर खुवाइराखेकी छिन् । तीनटा लोकल भालेको झोल पिइसकेँ । म सुत्केरी नभए नि सुत्केरीले खाने जस्तै तागतिलो खाना खुवाइ रहेकी छन् मेरी आमाले मलाई ।’

साइँली ! तिमीलाई त लौ खोप लगाउने ठाउँको भीडबाट कोरोना सरो अरे । मलाई चाहिँ के बाट कोरोना सरो हँ । ए सम्झे–सम्झे । तिमीले कोरोनाको खोप लगाएको खुशीमा मलाई भेट्न डाँडा बजार बोलाएथ्यौ । डाँडा बजारको थाप्लोको चउरमा तिमी र म धेरैबेर कुराकानी गरेथ्यौँ । तिमीले ओडेको त्यो रातो पछ्यौरीले मलाई पनि कुखुराको पोथीले पखेटाले चल्ला छोपे जस्तो गरि छोपेथ्यौ । अनि हामी दुई चोनोमोचो जोडेर के–के गुनगुनाएका थियौँ । मुया पिरतीका धेरै–धेरै बात गरेका थियौँ । त्यै बेला मलाई पनि कोरोना सरेछ क्यारे । तिमी कोरोना खोप लगाउन जाँदा ओेडेकी त्यै पछ्यौरी ओडेर मलाई भेट्न डाँडा बजार आएकी थ्यो होइन त ? त्यो पछ्यौरी मलाई पनि ओढायौ त । तिमीले नै भनेकी होइनौ मुसेजमा ? त्यै पछ््यौरीमा कोरोना टाँसिएर आएछ । सम्झि ल्याउँदा हाँस पनि उठेर आउँछ । रिस पनि उठेर आउँछ ।

तर, केही पीर छैन साइँली ! थुन्से भरि–भरिको तिम्रो मुया पिरती मोइले पाउन्जेल मोलाई नाथे कोरोनाले लान के सक्थ्यो र । यी बाँचेकै छु । अलिक दिन मातोइ त बिरामी भैजाउँला । तर, यस्तो लाग्छ कि साइँली ! अहिल्यै कोशी तरेर तिमीलाई हेर्न तिम्रो पहाड पुगि हालुँ । कोरोनाले त यस्तो पो पार्दो र’छ हौ । छिन् मै रुने छिन् मै हाँस्ने बनाउँदो र’छ । आजै अहिल्यै मरि पो गैजान्छु जस्तो पनि लाग्दो र’छ । बाँचेर पहाड बोक्छु जस्तो पनि लाग्दो र’छ । संसार अनि यो दुनिया कस्तो–कस्तो लाग्दो र’छ । बित्याँसै पारो साइँली ! कोरोना अनि कोरोना खोप लगाउने भिडले । कोरोना खोप त लगाए मुन्छेहरुले तर साथमा त्यहीँबाट कोरोना बोकेर घर ल्याए धेरैले । तिमीलाई पनि त्यस्तै भयो हो कि साइँली ? कोराना खोप लगायौ तर पछ्यौरीमा कोरोना भाइरास टाँसी ल्यायौ । तिमीले नै भनेको कुरा हो है यो । त्यसैले अनि साइँली ! मैले त एउटा गीत पो बनाको छु कोरोना सार्ने तिम्रो त्यो पछ्यारी सम्झेर ।

गीतको बोल चाहिँ यस्तो छ है, ‘अल्झेछ क्यारे कोरोना साइँली ! तिम्रो त्यो पछ्यौरीमा ।’

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here