झापामा आजबाट जारी लकडाउन निष्प्रभावी

0
897

बिर्तामोड ।

झापामा कोरोना संक्रमण उच्च भएपछि जिल्ला प्रशासन कार्यालयले शनिबारराती १२ बजेदेखि लकडाउन जारी गरेपनि लकडाउन निष्प्रभावी देखिएको छ ।

लकडाउनको समयमा पनि मानिसहरुको हिँडडुल र चहलपहलमा खासै कमि आउन नसकेको स्थानीयले बताएका छन् । सडकमा नीजि तथा सार्वजानिक सवारी सञ्चालन भइरहेको छ ।

व्यवसायीहरुले पसल बन्द गरेका छन तर खाद्यान्न बोकेको गाडी लेखेर खाद्यान्न ढुवानी गर्ने क्रम भने रोकिएको छैन । कतिपय निर्माण सामग्री बोकेको ट्रयाक्टर टिपर राजमार्गबाट भित्री सडकहरुमा पनि गुडेका स्थानीयले बताए ।

मानिसहरुको आवतवावत नरोकिए सम्म व्यापार–पसल बन्द गरेर मात्रै कोरोना रोकथाम नहुने व्यवसायीहरुको धारणा छ । प्रशासनले भने अत्यावश्यक काम बाहेक घरबाट बाहिर निस्किन रोक लगाएको छ ।

त्यस्तै अत्यावश्यक सेवा प्रवाह गर्ने सरकारी र सार्वजनिक कार्यालय बाहेक अन्य कार्यालयहरू समेत सञ्चालन नगर्न निर्देशन दिइएको छ । खाद्यान्न लगायतका सबै पसलहरू बन्द गर्न प्रशासनले सुचित गरिसकेको छ । बैङ्क तथा वित्तीय संस्थामा माथिल्लो निकायबाट स्वकृति लिएर न्यून कर्मचारी राखेर हप्तामा तीन दिन आलोपालो प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

कोभिड–१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले सात दिनसम्म जिल्लामा निषेधाज्ञा जारी गर्दै सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेका छन् ।

निषेधाज्ञाबमोजिम आजदेखि पूर्वी सीमानाका काँकडभिट्टाबाट विदेशी नागरिकको प्रवेशमा रोक लगाइएको छ । काँकडभिट्टाबाहेक अन्य नाका तथा गौँडाबाट सबैलाई प्रवेश निषेध गरिएको आदेशमा उल्लेख छ ।

काँकडभिट्टाबाट प्रवेश गर्ने नेपाली नागरिकको अभिलेख राखिने, नाकामै एन्टिजेन विधिबाट कोरोना परीक्षणको व्यवस्था मिलाउने, कोरोना पोजेटिभ देखिएमा नजिकको आइसोलेशन केन्द्र वा मेची अस्पतालमा लगेर उपचार गराउने, नेगेटिभ देखिएमा आवश्यक समन्वय गरी निजको गन्तव्यमा पठाउने व्यवस्था मिलाइने प्रजिअ तिम्सिनाले बताए ।

निषेधाज्ञा अवधिमा सबै प्रकारका सभा, सम्मेलन, जुलुस, गोष्ठी, तालिम, सेमिनारजस्ता कार्यसञ्चालन गर्न नपाइने, जिल्लाबाहिर अनिवार्य जानैपर्ने भएमा सवारी पास लिनुपर्ने, उद्योग तथा कलकारखाना सञ्चालन गर्दा सकेसम्म थोरै जनशक्ति प्रयोग गर्ने र त्यस्तो जनशक्तिलाई खान र बस्ने सुविधा उद्योग परिसरभित्रै मिलाउनुपर्ने निषेधाज्ञामा उल्लेख गरिएको छ ।

निषेधाज्ञामा हाटबजार, भेला, जात्रा, महोसत्व पार्टी, भोजलगायतका कार्य नगर्न आग्रह गरिएको छ । निषेधाज्ञाको अवधिमा अत्यावश्यक वस्तुमा कृत्रिम अभाव गर्ने, मूल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने, लुकाउने वा आपूर्तिमा अवरोध गरेमा कानूनबमोजिम कडा कारवाही गरिने प्रमुख जिल्ला अधिकारी तिम्सिनाले बताए।

छोटो दूरीका सबै प्रकारका सार्वजनिक तथा निजी सवारी साधनको सञ्चालनमा रोक लगाइएको छ । यद्यपि पूर्वपश्चिम राजमार्गमा लामो तथा मध्यम दूरीका सवारी साधन सञ्चालन गर्न पाइने उल्लेख छ । बजार, सिनेमा हल, पार्टीप्यालेस, स्वीमिङ पुल, सपिङमल, मनोरञ्जनस्थल, सैलुन, पार्क, खेलकुद, जिमखाना, ब्यूटीपार्लर, पुस्तकालय आदि बन्द गरिने निषेधाज्ञामा भनिएको छ ।

जिल्लामा कोडिभ–१९ को सङ्क्रमणबाट ४४५ जनाको मृत्यु भइसकेको छ । हाल आइसोशनमा दुई हजार ४१३ सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा यसअघि गरिएको निषेधाज्ञा १५ दिनअघि मात्र खुकुलो पारिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here