शैक्षिक तथा भाषा प्रतिष्ठान १५ महिनादेखि बन्द

१७ श्रावण २०७८, आईतवार मा प्रकाशित

पाँचथर,

कम्प्युटर, भाषा र ट्युसन पढाउने प्रतिष्ठान (इन्स्टिच्युट)हरु कोभिड–१९ सङ्क्रमणको महामारीले १५ महिनादेखि ठप्पप्रायः छन् । पाँचथरको सदरमुकाम फिदिममा निषेधाज्ञाका समयमा समेत अन्य अधिकांश व्यवसाय आंशिकरूपमा सञ्चालन भइरहे पनि यहाँका नौवटा प्रतिष्ठान १५ महिनादेखि बन्द छन् ।

फिदिममा डेढ दशकदेखि सञ्चालनमा रहेको ‘न्यू मिलिस्टार कम्प्युटर इन्स्टिच्युट’का सञ्चालक केशव पौडेलका अनुसार विगत १५ महिनादेखि घरभाडा बुझाएर बस्नुपरेको छ । “पहिलो लकडाउनदेखि घरभाडा तिरेर बसेका छौँ”, पौडेलले भन्नुभयो, “उठाएर लैजान सम्भव छैन । राखिरहे सञ्चालनमा ल्याउन पाइएन ।”

कतिपय विद्यार्थीको कम्प्युटर तथा भाषाको कोर्स पूरा गर्न नपाउँदा पैसासमेत फिर्ता गर्नुपरेको पौडेलको भनाइ छ । यस्तै यी प्रतिष्ठानमा काम गर्ने शिक्षक तथा अन्य कर्मचारीलाई पारिश्रमिक दिएर टिकाइ राख्नुपर्दा झनै समस्या भएको पौडेलको भनाइ छ । “यतिका महिनादेखि कमाइ खाने ठाँउ बन्द भयो”, उहाँले भन्नुभयो, “अब बन्द गरेर बस्ने कि खोल्ने भन्ने अन्योल छ ।”

फिदिममै सञ्चालनमा रहेको ‘सोलुशन एजुकेशन फाउण्डेशन’का सञ्चालक घनेन्द्रराज मिश्रका अनुसार विसं २०७६ चैतदेखि निरन्तर घरधनी र कर्मचारीलाई मासिक भुक्तानी दिइरहनुपरेको छ । “कोरोनाका कारण व्यवसाय डामाडोल भयो । रु १० लाखभन्दा बढी घाटा भइसक्यो”, मिश्रले भन्नुभयो, “सरोकारवालाले केही चासो दिँदैनन् । अब के गर्नुपर्ने हो अन्योलमा छु ।”

फिदिममै भाषा कक्षा सञ्चालन गर्दै आएका ‘पाथीभरा कम्प्युटर एण्ड ल्याङ्ग्वेज सेन्टर’का सञ्चालक युवराज अधिकारीको पनि गुनासो उस्तै छ । अहिलेसम्म रु सात लाखभन्दा बढी नोक्सानी बेहोर्नुपरेको अधिकारीको भनाइ छ । कर्मचारी र घरधनीलाई नियमित रकम दिनुपर्दा मारमा परेको अधिकारीको गुनासो छ ।

फिदिममा सञ्चालनमा रहेका शैक्षिक तथा भाषाका सबै प्रष्तिठानको अवस्था उस्तै छ । सरकारले विभिन्न चरणमा जारी गरेको निषेधाज्ञा इमान्दारीका साथ पालना गरिरहे पनि निजी शैक्षिक तथा भाषा प्रशिक्षण क्षेत्रमा सरकारी निकाय तथा सरोकारवालाले ध्यान नपु¥याउँदा आफूहरु मारमा परेको उनीहरुको गुनासो छ । अन्य व्यवसाय पूर्ण र आंशिकरूपमा सञ्चालन भए पनि प्रतिष्ठानहरू सञ्चालन गर्न समस्या परेको सञ्चालकको भनाइ छ । सङ्क्रमणको जोखिमका कारण कक्षामा राखेर विद्यार्थी पढाउन कठिन पर्ने तथा निषेधाज्ञाका कारण विद्यार्थी नै नहुने कारणले आफूहरुको व्यवसाय सङ्कटमा परेको भन्दै उनीहरुले सरोकारवाला निकायलाई गुहार मागेका छन् ।

उनीहरुले स्वास्थ्यका मापदण्ड पालना गरेर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेका हुन् । जिल्ला प्रशासन कार्यालय पाँचथर, फिदिम नगरपालिका र पाँचथर उद्योग वाणिज्य सङ्घमा ज्ञापनपत्र बुझाएका उनीहरुले ५० जनाभन्दा बढी कर्मचारी तथा शिक्षक बेरोजगार भएको उल्लेख गरेका छन् ।

उनीहरुले शैक्षिक तथा भाषा प्रतिष्ठानका सञ्चालक, शिक्षक र कर्मचारीलाई खोप दिनुपर्ने, घरभाडामा सहुलियतका लागि सहयोग गर्नुपर्ने, स्थानीय तहले उचित राहतको व्यवस्था गर्नुपर्ने तथा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर प्रतिष्ठानहरु सञ्चालन गर्नका लागि शीघ्र नीतिगत व्यवस्था गर्नुपर्ने माग गरेका छन् । फिदिममा अङ्ग्रेजी, कोरियाली, जापानीलगायत भाषाका, विभिन्न तहका शैक्षिक प्रशिक्षण र कम्प्युटर तथा सीप विकाससम्बन्धी प्रतिष्ठानहरु सञ्चालनमा छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here