नरेन्द्र ढकाल
शान्तिपुर ,जेठ ८ । मेची पहाडी जिल्ला इलामको दक्षिणी गाविस शान्तिपुर ५ सिरिसेमा रहेको श्री किसान जनहित प्राविको आज सम्पन्न अभिभावक भेलाले विद्यालय ब्यवस्थापनलाई महिला मैत्री बनाएको छ ।
विद्यालयमा सम्पन्न अभिभावक भेलामा उपस्थित सबैले सर्वसम्मत रुपमा विद्यालय ब्यवस्थापनमा महिला मैत्री बनाउने निर्णय अनुरुपमा विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा चन्द्रकला घिमिरेलाई चयन गरिएको छ । त्यस्तै दलित कोटामा सिता कार्की ढोली, जनजाती तर्फबाट कविता प्रधान रहनुभएको छ भने सविता गौतम पनि सदस्यमा सर्वसम्म्त रुपमा चयन हुनुभएको विद्यालयका शिक्षक नन्दलाल शिवाकोटीले जानकारी दिनुभयो ।
विद्यालय ब्यवस्थापन समितिमा प्रधानाध्यापक सोमकान्त बराल रहनुभएको छ । १० सदस्य हुने समितिको अन्य सदस्यहरुमा भने आगामी बैठक मार्फत चयन गरिने शिक्षक शिवाकोटीले बताउनुभयो ।
विद्यालय निरीक्षक डम्बर सुवेदीको प्रमुख आतिथ्यता तथा सोतब्यक्ति लिला बल्लभ खनालको विशेष आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक नन्दलाल शिवाकोटीले गर्नुभएको थियो । महिलाले सधैं चुल्हो र चैको मात्र गर्छन भन्ने मान्यतालाई पछि पार्दै जिल्लामै पहिलो पटक महिलाले मात्र विद्यालय ब्यवस्थापन समितिको जिम्मेवारी सम्हालेको जनाइएको छ ।
बालबालिकाको पहिले शिक्षिकाको रुपमा आमालाई लिइने भएकाले महिलालाई नै विद्यालय ब्यवस्थापन समितिको जिम्मेवारी दिइएको पुरुषहरुको भनाई छ ।