जनसन खोप लगाउन शुरु

१७ श्रावण २०७८, आईतवार मा प्रकाशित

पथरीशनिश्चरे,

पूर्वी मोरङको पथरीशनिश्चरेमा ५० वर्षदेखि ५४ वर्ष उमेर समूहका नागरिकलाई कोरोना भाइरस विरुद्धको जनसन खोप लगाउन थालिएको छ ।

शनिबार बसेको नगरपालिकाको खोप समन्वय समितिको बैठकले आज १७ गते र भोलि १८ गते सो खोप लगाउने निर्णय भएपछि खोप कार्यक्रम सुरु भएको हो । एक पटक लगाए पुग्ने उक्त जोन्सन खोप नगरका ७ स्थानमा सञ्चालन भएको छ ।

१७ गते वडा नम्बर १ वासीका लागि वडाकै शहरी स्वास्थ्य केन्द्र, ७ को सहरी स्वास्थ्य केन्द्र, ९ र ८ का लागि शनिश्चरे स्वास्थ्य चौकी, ५ नम्बरका लागि हसन्दह स्वास्थ्य चौकी खोप केन्द्रको रूपमा रहेको स्वास्थ्य शाखा सहसंयोजक जगतप्रसाद मगरले जनाउनुभयो ।

यसैगरी, भोलि १८ गते वडा नम्बर २ का लागि नगर अस्पताल, ३ नं को सहरी स्वास्थ्य केन्द्र, ४ र १० का लागि शनिश्चरे स्वास्थ्य चौकी र ६ का लागि आधारभूत स्वास्थ्य केन्द्र मंगलबारेमा खोप लगाइने छ । साथै, भूटानी शरणार्थीहरुका लागि भने १९ गते शरणार्थी शिविरमा खोप संचालन गरिइने निर्णय भएको छ ।

खोप लगाउनका लागि ५० देखि ५४ वर्ष उमेर समूहका अतिरिक्त १८ वर्षमाथिका अपाङ्गता भएका क र ख श्रेणीका व्यक्तिहरु, खोप अनिवार्य भएको बैदेशिक रोजगारमा जान चाहने व्यक्तिहरुले उमेर खुल्नेका आवश्यक कागजात पेश गर्नु पर्ने छ । सो उमेर समुहका ५ हजार नागरिकलाई खोप लगाउने योजना रहेको जनाइएको छ ।

खोप लिन आउनेले कोरोना सतर्कता सहितको तोकिएको स्वास्थ्य मापदण्ड पुरा गर्न समेत अनुरोध गरिएको छ । यसअघि ५५ वर्ष उमेर समूह माथिका लागि भेरोसिल खोप लगाइएको थियो । यस अघि र चालु अवस्थामा खोप लगाउन छुट भएका उमेर समूहका लागि वडास्तरबाट तथ्यांक संकलन गरी नगरले थप खोप माग गर्ने जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here