विद्यार्थी पढाउन अभिभावक राजी तर बस्ने ठाउँ छैन

२२ श्रावण २०७८, शुक्रबार मा प्रकाशित

दमक ।

झापाको कमल गाउँपालिकामा विद्यार्थीको अभाव र विद्यालयको भौतिक संरचना जीर्ण बनेपछि बन्द हुने अवस्थामा रहेको एक सामुदायिक विद्यालयलाई जागृत गराउनका लागि स्थानीयहरुले अभियान शुरु गरेका छन् ।

स्थानीय अभिभावकहरुले निजी विद्यालयमा पढाउँदै आएका आफ्ना छोरोछोरीहरुलाई यही पढाउने अभियान चलाउँदै विद्यालयको भौतिक र शैक्षिक गुणस्तरमा जोड दिएका छन् । सिद्धदेवी प्रावि कमल–५ सीतापुरी रहेको विद्यालयमा गत शैक्षिक सत्रमा मुस्किलले ३५ देखि ४० जना विद्यार्थी भर्ना भएकोमा अहिले स्थानीयले ‘शैक्षिक गुणस्तर सुधार हामी गराउँछौ, तपाईहरु ढुक्कले बालबालिका विद्यालय पठाउनुहोस्’ भन्दै घरघर पुगेको पठाइएको छ ।

अभियान शुरु गरेपछि अहिले १ सय ५० भन्दा बढी विद्यार्थी यहाँ आउने सुनिश्चित भएको विद्यालय ब्यवस्थापन समिति अध्यक्ष नर्वदा उप्रेती गौतमले बताइन् । स्वयम्सेवी रुपमा विद्यालय सुधारमा स्थानीयहरु जुटेसँगै खासै कसैको यसभन्दा अघि ध्यान नगए पनि अहिले भने सबैको ध्यान जान थालेको पनि बताइएको छ ।

कोरोनाका कारण बन्द भएका विद्यालय खुल्न शुरु गरेसँगै ति विद्यार्थीहरु अब यहाँ आउने उनको भनाइ छ । अधिकांश अभिभावकले निजी विद्यालयमा पठाइरहेका विद्यार्थीहरु यहाँ पठाउने प्रतिबद्धता जनाएका छन् र हामी उनीहरुको व्यवस्थापनको बिषयमा चिन्तित छौं– गौतमले भने ।

विद्यालयको भूकम्पले जीर्ण बनाएको भवन, झ्याल ढोकाको अभाव, पुराना डेक्स बेन्च र त्यो पनि लथालिङ्ग एवम् भताभुङ्ग अवस्थाका रहेका छन् । वालबालिकाहरुका लागि खेल्नका लागि आवश्यक सामग्री पनि यहाँ छैन । यो अवस्था रहे पनि सुधारका लागि हामीले हिम्मत हारेका छैनौं– गौतमले भनिन् । विद्यालयकी प्रधानाध्यापक कौशिला पौडेलले विद्यालयको कन्तबिजोग रहेको बारे गाउँपालिकालाई बारम्बार अनुरोध गरिएको तर सुनावाई नहँुदा समस्या रहेको बताइन् । बल्लतल्ल यो बर्ष भने थोत्रे टिनको छाना फेरिएको छ– उनले भनिन् ।

विद्यार्थी बढ्ने निश्चित भएको तर कक्षा कोठा र अन्य भौतिक अभाव रहेको उनले बताइन् । ६ वटा कक्षा रहेकामा सबै जीर्ण छन्– पौडेलले भनिन् । भौतिक सामग्रीदेखि लिएर विद्यालयलाई अति आवश्यकीय श्रोत साधनको समेत चरम अभाव रहेको छ र यसमा सबैको ध्यान जाओस्– उनले भनिन् ।

कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले विद्यालयको यो हालतको बिषयमा आफूलाई ढिला गरी मात्र जानकारी भएको बताए । आर्थिक बर्षको अन्त्यमा थाहा पाएपछि टिनको छानोको व्यवस्थापन गाउँपालिकाले गरेको छ र अब हाम्रो ध्यान गएको छ– उनले भनिन् । विद्यालयमा आवश्यक डेक्सबेन्च चालू आर्थिक बर्षमा उपलब्ध गराउने पनि उनले प्रतिबद्धता जनाए ।
यो विद्यालय सुगम क्षेत्रमा रहेको छ । दमकबाट ३ किलोमिटर क्षेत्र र पूर्वपश्चिम राजमार्गबाट ३ सय मिटरमा रहेको यो विद्यालयको अवस्था यस्तो छ भनेर आफूहरुले कल्पना पनि नगरेको गाउँपालिकाका एक जनप्रतिनिधिले बताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here