सीमा स्तम्भ सुरक्षित राख

0
891

पूर्वी सीमान्त जिल्ला झापालाई मेची नदीले भारतसँग छुट्याएको छ । तर, नदीको बहाव र धार परिवर्तन भइरहने कारणले सीमा अनिश्चित हुँदा सीमा क्षेत्रमा विवाद उत्पन्न भइरहन्छ । त्यसकै समाधानका लागि दुबै देशका प्रतिनिधिहरूको संयुक्त बैठकले पक्की स्तम्भ निर्माण गर्ने सहमति गरेका छन् । त्यही सहमति अनुसार झापाको एक सय चवालिस किलोमिटर क्षेत्रमा निर्माण गरिएका स्तम्भमध्ये पैंतीस वटा नदीको कटानका कारण उच्च जोखिममा रहेका छन् । सीमा सुरक्षा लगायत अवैध गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी वल बोर्डर आउट पोष्ट सीमा क्षेत्रमा राख्न थालिएको छ । कोरोना बिस्तारको चेनलाई विच्छेद गर्न भन्दै गत वर्षदेखि बोर्डर आउट पोष्ट स्थापनालाई तीब्रता दिइयो । जसका कारण अनियन्त्रित, खुल्ला आवागमन तथा चोरी तस्करी लगायतका अवाञ्छित गतिविधि समेत केही कम भएको पनि छ ।

खुल्ला सीमाना नेपाल र भारतका बीचको विवादको मुख्य कारण बनिएको छ । नदीले छुट्याएको मेची होस् वा महाकाली सीमा विवादको मूल कारण नदीले गर्ने धार परिवर्तन नै मुख्य रहेको छ । महाकाली पारीको दोधारा, चाँदनी होस् वा उद्गम नजिकको कालापानी क्षेत्र नेपाल सरकारको बलियो उपस्थिति नहुँदा त्यहाँ बसोबास गर्ने नेपालीले दुःख पाइरहेका छन् । यता पूर्वी सीमा ताप्लेजुङदेखि झापासम्मका सीमा क्षेत्रमा पनि प्रत्येक वर्ष विवाद हुने गरेको छ । यो वर्ष नेपालतर्फ सशस्त्र प्रहरी पोष्ट स्थापना भएपछि भारतको मिचाह प्रवृत्ति केही मत्थर भएको छ । सीमा रक्षा गर्न होस् वा अवैध र अवाञ्छित गतिविधि नियन्त्रण गर्न सुरक्षा संयन्त्रलाई आवश्यक सेवासुविधा, उपकरण, हतियार र जनशक्तिले बलियो बनाउनै पर्छ । अहिले पनि नेपालतर्फ सोझिएको मेची नदीको धारलाई ठीक बाटोमा हिँडाउन त्यस अनुसारको भौतिक, आर्थिक, प्राविधिक जनशक्ति हुनु पथ्र्यो । गत वर्षदेखि शुरू भएको कोरोना कहर देखाएर सीमा स्तम्भको स्थलगत निरीक्षण नगरिँदा यो वर्ष एउटा मुख्य स्तम्भसहित अठार वटा स्तम्भ मेची नदीमा आएको बाढीले बगाएको छ । यस बाहेक भद्रपुर, कचनकबल, झापा र गौरीगञ्ज क्षेत्रका सीमा स्तम्भहरू पनि असुरक्षित हुन थालेका छन् ।

जिल्लाको समग्र दायित्व प्रमुख जिल्ला अधिकारीसँग रहन्छ । संघीय सरकारको प्रतिनिधित्व गर्ने प्रशासन कार्यालयले सीमाका समस्यादेखि शान्तिसुरक्षा र समग्र गतिविधिसम्मको जिम्मेवारी लिएको हुन्छ । यसउसले सीमा र सीमा स्तम्भका विषयमा उसको अनभिज्ञता र उदासीनता प्रकट हुन पाउँदैन । कोरोनाकै वीच पनि भारतीय पक्षसँग छलफल गर्न र केन्द्रलाई समकक्षीसँग बगेका स्तम्भ पुनर्निर्माण गराउन पहल गर्नुपर्छ । अहिले नै सीमामा रहेको सीमा सुरक्षा बलको पोष्ट बग्ने अवस्थामा पुगेको स्थानीयले बताइसकेका छन् । वर्षा सकिन अझै एक महिना बाँकी छ, जोखिममा रहेका स्तम्भको संरक्षण नगरिए नेपाली भू–भाग पनि मिचिन सक्छ । विगतका अनुभवमा ठूलाले हेप्ने, मिच्ने, अतिक्रमण गर्ने गरेको छ । त्यसैले चोरी खान पल्केको ढाडे बिरालोको दाउ निस्तेज पार्न चनाखो हुनै पर्छ । भूगोलको जटीलता नभएको, सञ्चार र यातायात सहज भएकाले सम्बद्ध निकायले स्तम्भ र भूमिको सुरक्षामा तत्काल पहल गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here