धरहरा-हवल्दार सडक जीर्ण हुँदा दुर्घटनाको जोखिम बढ्यो

0
472

विनोद सापकोटा,
शिवगञ्ज ।

पश्चिम दक्षीण झापाका गाँउ जोड्ने दुधे महाभारा सडक अन्तर्गतको शिवगञ्ज धरहरा देखी हवल्दार चोकसम्मको सडक जीर्ण बन्दै गएको छ ।

शिवसताक्षी नगरपालिकाको वडा नम्बर ६ मा पर्ने सो सडकको नियमित मर्मत संहार नहुँदा जीर्ण बन्दै गएको हो । पुर्व पश्चिम राजमार्गको दुधेदेखी दक्षीणका महाभारा, पाँचगाछी, बैगुनधुरा, गौरादह, गौरिगञ्ज जस्ता ग्रामिण बस्ती सो सडकले जोड्ने गरेको छ ।

यसअघि पनि धरहरा हवल्दार चोक क्षत विक्षत अवस्थामा पुगेको थियो । सडक विभागले उक्त सडकको मर्मत संहार गरे पनि बर्षेनी अलाकत्रा उक्कीएर कामै नदिने हुन थालेको स्थानीय सीताराम भेटवालले बताए । उनका अनुसार सडक विभागपछि शिवसताक्षी नगरपालिकाले पनि खाल्टा परेका ठाँउमा गिटी हालेर रोलरले पेलेको थियो तर, दिगो समाधान भने भएको थिएन ।

तत्कालिन जिल्ला विकास समिति झापा मार्फत ०६९/०७० मा ट्रिपल आर नामक गैह्र सरकारी संस्थाको सहयोगमा सो सडक बनेको हो । सडक बनेपछि नियमित मर्मत र रेखदेख नहुँदा उक्त सडक बिग्रिएको छ । सडकका खाल्टामा पानी जमेका कारण ठुला ठुला भौडी समेत पर्न थालेका भेटवालले बताए ।

चार वर्षदेखि पहिलो सरोकार राख्ने निकाय सडक विभाग बेखबर बन्दा उक्त सडक मर्मत नभएको वडा नम्बर ६ का वडा सदस्य लक्ष्मी गुरागाईले बताए । उनले भने, ‘सडक जीर्ण हुँदा सवारी दुर्घटनाको जोखिम बढेको छ ।’ धराहरा देखी हवल्दार चोकसम्मको करिव १ हजार ५ सय मिटर लामो दुरीको सो सडक पुरै जीर्ण छ ।

सडकको अवस्था जीर्ण बन्दै गएपछि सडक दुर्घटनाको जोखिम पनि बढ्दै गएको सवारी चालक बताउँछन् । सो सडकमा शुक्रबार जोखिमका साथ मोटर साईकल चलाइरहेका स्थानीय रेवत खनालले भने, ‘बाटोकै कारण साना सवारी साधनलाइ सास्ती छ । यही अवस्थामा सडक रहयो भने जतिबेला नि ठूलो दुर्घटना हुन सक्छ ।’

सडक जीर्ण भएकैले बिहीबार वडा कार्यपालिका सदस्य गुरागाईँको नेतृत्वमा नगरमा आएको स्थानीय बासिन्दाको प्रतिनिधि मण्डलले नगर प्रमुख चन्द्रकुमार शेर्मालाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको थियो । नगर प्रमुख शेर्माले सो सडकको अवस्थाका बारेमा तत्काल निरीक्षण समेत गरेका थिए ।

‘जनताको गुनासो र समस्या आएपछि स्थलगत निरीक्षण गर्दा सडकको अवस्था दयनिय भइसकेको रहेछ,’ नगर प्रमुख शेर्माले भने ‘तत्काल क्षतीग्रस्त सडकको बचेको कालोपत्रे भाग सहित ग्रेडरले उक्काएर आवस्यक ठाँउमा निर्माण सामग्री लगाउने र रोलरले थिचेर सडकको स्तरउन्नती गर्न योजना शाखालाई जानकारी दिइसकिएको छ । सम्भवत यसै साता सडकको स्तर उन्नती हुने छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here