सीमानामै रक्षाबन्धन

0
723

पार्थ मण्डल,
झापा ।

कोरोना भाइरसको महामारीका कारण भद्रपुरस्थित मेची पुल सीमा नाका ठप्प छ । विगत १७ महिनादेखि सीमा नाका बन्द भएकोले यसबर्ष भद्रपुरवासीले नेपाल–भारतको सीमा क्षेत्रमै पुगेर रक्षाबन्धन पर्व मनाएका छन् ।

यो घटना भद्रपुरवासीका लागि नौलो र अनौठो पनि हो । नाका बन्द भएका कारण अघिल्लो वर्ष दिदीबहिनीले दाजुभाइलाई रक्षाबन्धन लगाउन पाएका थिएनन् । तर, यसबर्ष दुवै देशको सुरक्षाकर्मीको समन्वयमा सीमा नाकामै दिदीबहिनीले दाजुभाइलाई हर्षोल्लासका साथ रक्षाबन्धन लगाएका छन् । रक्षाबन्धन लगाउँदा दिदीबहिनी र दाजुभाइकाबीचमा प्रेम सम्बन्ध बढ्ने मान्यता छ ।

मेची पुल पारि प्रहरी विट नजिकै त्रिपाल ओच्छाएर परिवारका सदस्यहरूले सामुहिकमा रुपमा खुशी साटासाट गर्दै रक्षा बन्धन पर्व मनाएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक दलकुमार राईले बताए । भारतबाट आउने दिदीबहिनी, दाजुभाइ र नेपालबाट जाने दिदीबहिनी, दाजुभाइलाई भीडभाड नहुने गरी सुरक्षाकर्मीले आलोपालो समय मिलाएर रक्षाबन्धन मनाउन दिएको उनले बताए । करिब २ सय ५० भन्दाबढी नेपाली नागरिकले सीमा नाकामै पुगेर रक्षा बन्धन लगाएको उनको भनाइ छ ।

कोरोना महामारीले दुई वर्षपछि दिदीबहिनीको हातबाट राखी लगाउने पाएको भद्रपुरका युवा मेघु रायाले बताए । ‘पहिला घरमै आएर दिदीबहिनीले राखी लगाउँथे’– उनले भने– ‘अघिल्लो वर्ष बोर्डर बन्दले कोही आउन पाएनन्, यसबर्ष पनि बोर्डर बन्द छ, तर नेपाल–भारत दुवै देशका सुरक्षाकर्मीले सहजीकरण गरिदिँदा राखी लगाउन पायौं ।’

रक्षाबन्धन मनाउन सीमा पुगेका अधिकांश परिवारका सदस्यहरूको अनुहार हँसिलो देखिएको बताउँदै उनले भने– ‘रक्षा बन्धन मनाउन मेरा परिवारका सदस्यहरू शिलगढी, ठाकुरगञ्ज र गलगलियाबाट आएका थिए, हामीले खुशी साटासाट गर्दै रक्षा बन्धन मनायौं ।’

भद्रपुर, हल्दिबारी, चन्द्रगढी लगायतका स्थानीयले पनि सीमामा आएर दिदीबहिनीको हातबाट राखी लगाएको स्थानीय विक्रम सहनीले बताए । सीमा नाकामा अहिलेसम्म यस्तो दृश्य आफ्नो जीवनकालमा कहिले नदेखिएको बताउँदै उनले भने– ‘मेरी बहिनी पनि आएकी थिइन्, नाकामै बसेर राखी लगायौं ।’ कोरोना महामारीकाबीच भारतबाट ठूलो संख्यामा त्यहाँका नागरिक रक्षाबन्धन मनाउन नेपाल प्रवेश गर्न लागेपछि हामीले सीमा नाकामै रक्षा बन्धन लगाउने व्यवस्था मिलाएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट भद्रपुरका सशस्त्र प्रहरी निरीक्षक विभुराज दाहालले बताए ।

भारतबाट आउने नागरिकलाई भारतीय एसएसबीले सीमा नाकामा रोकेर आलोपालो पठाएको थियो । रक्षा बन्धन मनाइसकेका नागरिक भारत फर्किएपछि मात्र एसएसबीले अन्य नागरिकलाई नेपाली भूमिसम्म जान अनुमति दिएको उनले बताए । यो क्रम भद्रपुर सीमा नाकामा आइतबार दिनभरि चलेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here