‘विद्युत् सर्ट’ ले करोडौंको क्षति

0
842

बिर्तामोड।

कोरोना कहरका कारण अहिले पनि सबै क्षेत्र सिथिल छ । अझ व्यवसायिक क्षेत्र नराम्ररी प्रभावित बनेको छ । त्यसमाथि भवितव्य घटनाका कारण व्यवसायीले हरेक वर्ष करोडौं रुपैयाँको क्षति व्यहोर्दै आएका छन् । त्यसको पछिल्लो उदाहरण हो– बिर्तामोडस्थित थापा मार्केटमा भएको आगलागीको घटना ।

बिर्तामोड–५ का सूर्य अधिकारीले सञ्चालन गरेको ‘पाथीभरा वेयर कलेक्सन’मा गत साउन २९ गते विद्युत् सर्ट भएर आगलागी हुँदा एक करोड ५० लाख रुपैयाँभन्दा बढीको क्षति भयो ।

आठ वर्ष अघिबाट सञ्चालनमा रहेको उक्त पसलमा आगलागी हुँदा त्यहाँभित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भए । महिला तथा पुरुषका लागि चाहिने सबै प्रकारका जुत्ता चप्पल, रेडिमेड कपडा तथा व्यागसहितका सामग्री जल्दा एक करोड ५० लाखभन्दा बढीको क्षति भएको इलाका प्रहरी कार्यालय अनारमनीको तथ्याङ्कमा उल्लेख छ ।

पसलमा भएको आगलागीका कारण व्यवसायी अधिकारीलाई आर्थिक क्षति पुग्यो नै पसलमा कार्यरत कर्मचारी समेत कामविहीन हुन पुगे । विद्युत सर्ट भएर भएको आगलागी बिर्तामोडमा हुने गरेका भवितव्यको पछिल्लो एउटा उदाहरण मात्रै हो । हरेक वर्ष बिर्तामोडमा विद्युत् सर्ट भएर करोडौंको क्षति हुँदै आएको छ ।

गत वर्षको माघ २२ गते बिर्तामोड नगरपालिका –२ स्थित लालमाटीमा रहेको कुरमुरे फ्याक्ट्रीमा आगलागी हुँदा नौं करोड रुपैयाँ बराबरको क्षति भएको थियो । मध्यरातमा सो उद्योगमा पनि विद्युत् सर्ट भएर आगलागी भएको थियो । श्याम फुड एन्ड बेभरेजले सञ्चालनमा ल्याएको करिव १५ कट्ठा क्षेत्रफलमा फैलिएको कुरमुरे तथा चिजवल बनाउने फ्याक्ट्रीमा आगलागी हुँदा फ्याक्ट्रीमा रहेका मेसिनरी सामान, कच्चा पदार्थ, तयारी सम्पूर्ण सामान जलेर पूर्ण रुपमा नष्ट भएको थियो ।

त्यसो त आपत्–विपत्मा परेका व्यवसायीहरुलाई सहयोग गर्ने उद्देश्यले जिल्लाभर व्यवसायीका संघ – संगठन छन् । तर, त्यस्ता संघ–संगठनका बलबुताले मात्र भवितव्यमा भएको क्षतिमा व्यवसायीलाई राहत दिन सक्ने अवस्था रहँदैन ।

व्यसायीहरुका हकहितका लागि खुलेका कतिपय संस्था आफैं बामे सर्ने अवस्थामा रहेकाले व्यवसाय शुरु गर्न पूर्व नै व्यवसायी आफैं सुरक्षित रहन जरुरी देखिन्छ । जसका लागि व्यवसायी स्वयम्ले आफ्नो व्यवसायको बिमा गर्नुपर्ने आवाज समेत उठ्न थालेको छ ।

अझै पनि कतिपय व्यवसायीले करोडौं रुपैयाँ लगानी गर्दै व्यवसाय सञ्चालन गरेका छन् । तर, तिनै व्यवसायीले आफ्नो व्यवसायको बिमा गरेका छैनन् । यसले उनीहरुलाई नै भवितव्यका घटना घट्दा ठूलो क्षति पुग्ने गरेको पाइएको छ ।

त्यसो त व्यसायीहरुले आफ्नै व्यवसायको हितका लागि खोलेका उद्योग वाणिज्य संघ र अन्य संस्थाले व्यवसायीको हितका लागि व्यवसायी राहत कोष सञ्चालन गरेका छन् । उनीहरुले बिपद्मा परेका व्यवसायीलाई केही थोरै रकम उपलब्ध गराए पनि त्यसले मात्र उनीहरुको क्षतिको पूर्ति गर्न नसक्ने अवस्था हुने गरेको बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने बताउँछन् ।

बिर्तामोड उद्योग वाणिज्य संघमा पनि व्यवसायीका लागि राहतकोष छ तर कोषमा सीमित रकम रहेकाले सो रकमले विपद्मा परेका व्यवसायीलाई पर्याप्त राहत दिन सक्ने अवस्था छैन –न्यौपाने भन्छन्– हामीले व्यवसायीलाई व्यवसाय सञ्चालन गर्नु पूर्व नै अनिवार्य विमा गर्न भनिरहेका छौं । उनीहरुलाई परामर्श दिने गरेका छौं । ताकि भविष्यमा हुने भवितव्यका घटनाले व्यवसायीले ठूलो आर्थिक भार व्यहोर्नु नपरोस् ।

यता नेपाल विद्युत् प्राधिकरणले पनि समय–समयमा सार्वजनिक सूचना जारी गर्दै अनावश्यक रुपमा विद्युत् खपत हुने कार्य बन्द गर्न र आवश्यक परेको समयमा मात्रै विद्युत् प्रयोग गर्न अनुरोध गर्दै आएको छ । तर, सावधानी अपनाउँदा अपनाउँदै पनि यदाकदा विद्युत् सर्टका घटनाले व्यवसायी मात्रै होइनन् आम नागरिक मारमा पर्ने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here