फोहोर व्यवस्थापनको पहल

0
743

बिर्तामोड ।

केही समयदेखि बिर्तामोडको मुख्य सडक क्षेत्रमा थुप्रिएको फोहोरमैला व्यवस्थापनका लागि बिर्तामोडमा मंगलवार बसेको सर्वदलीय बैठकले फोहोर मैला विर्सजन स्थल अध्ययन तथा छनौट समिति निर्माण गरेको छ ।

फोहोरमैला सडकमा थुप्रिएको र दुर्गन्धित भएको भन्दै बिभिन्न सामाजिक संघ–संस्थाले तथा व्यक्तिले आवाज उठाएपछि नगरपालिकाले सर्वदलीय वैठक राखेको थियो । नगरका सबै राजनीतिक दल, बिर्तामोड उद्योग बाणिज्य संघ तथा सरोकारवालाहरुसँगको छलफलले फोहोरमैला व्यवस्थापन गर्न समिति निर्माण गर्ने निर्णय गरेको हो । समितिको संयोजकमा वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक तथा बिर्तामोड नगरपालिका वडा नं. ४का अध्यक्ष कुलप्रसाद संग्रौला रहने गरी समिति निर्माण गरिएको छ ।

त्यस्तै समितिको सदस्यहरुमा नेपाली कांग्रेसको तर्फबाट लक्ष्मी आचार्य, नेकपा एमालेको तर्फबाट सुवास भट्टराई, नेकपा माओवादी केन्द्रका तर्फबाट मोहन सुब्बा, राप्रपाको तर्फबट रञ्जु प्याकुरेल, बिर्तामोड उद्योग बाणिज्य संघका तर्फबाट प्रकाश शिवाकोटी, जसपाबाट एक सदस्य रहने गरी समिति निर्माण गरिएको नगरका प्रमुख प्रशासकीय अधिकृत गणेश दाहालले जानकारी दिए । त्यस्तै समितिको सचिवमा मेघराज बास्तोला रहने उनले बताए ।

हाल बिर्तामोडको मुख्य सडक मात्र होइन भित्री सडक, सडकका पेटीलगायतका ठाउँमा फोहोरमैला दुर्गन्धित अवस्थामा जम्मा भएका छन् ।

नगर प्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्र नगर इञ्चार्ज युवराज दाहाल, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, बिर्तामोड–४ का अध्यक्ष कुलप्रसाद संग्रौला, नेपाली कांग्रेसका नगर सभापति लक्ष्मी आचार्य, नेकपा एमालेका नगर अध्यक्ष उमानाथ ओली, प्रदेशसभा सदस्य एकराज कार्की, राष्ट्रियसभा पूर्व सदस्य हरिचरण शिवाकोटी लगायतले आ–आफ्ना भनाइ प्रस्तुत गरेका थिए । त्यस्तै नगरप्रमुख शिवाकोटीले बिर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकाले संयुक्त रुपमा फोहोरमैला व्यवस्थापनका लागि पहल गरिरहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here