न्यूनदृष्टि क्षमताका परीक्षार्थी परीक्षाबाट बञ्चित !

0
637

पार्थ मण्डल,
झापा।

अर्जुनधारा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको निर्देशनमा नगर क्षेत्रका एक सामुदायिक विद्यालयले अपाङ्गता परिचय पत्र भएका एक न्यून दृष्टि क्षमता भएका विद्यार्थीलाई उनको अधिकारबाट बञ्चित गराउन खोजेको छ ।

अर्जुनधारा–१स्थित सिंहदेवी माध्यमिक विद्यालयले खुला दृष्टिविहीन प्राविस्तरका शिक्षक (करार) पदपूर्तिका लागि साउनको पहिलो हप्ता विज्ञापन आव्हान गरेको थियो । सोही विज्ञापनको आधारमा बागमती प्रदेश मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका–८ निवासी विष्णु दाहालले साउन १८ गते विद्यालयमा आवेदन पेश गरेका थिए ।

हाल काठमाडौंमा बसोबास गर्दै आएका आवेदनकर्ता दाहालले झापाकै साथीको सहयोगमा सो आवेदन पेश गरेका थिए । आवेदन पेश गरेपछि दाहाल परीक्षाको तयारी जुटेका थिए । तर, बिद्यालयले अन्तिम समयमा परीक्षामा सामेल गराउन नसक्ने जानकारी गराएपछि आफू चकित परेको दाहालले बताए ।

विद्यालयले तपाईँ न्यून दृष्टि भएकोले परीक्षामा सामेल गराउन नसक्ने जानकारी गराएको बताउँदै उनले भने– ‘सरकारले नै मलाई न्यून दृष्टि क्षमता (ग) वर्गको अपाङ्गता भएको परिचय–पत्र दिएको छ, सोही पहिलो रंगको परिचयपत्रको आधारमा आवेदन दिएको हुँ, विद्यालयले तपाई (ग) वर्गको दृष्टिविहीन भन्दै परीक्षा दिनबाट बञ्चित गराउन मिल्छ ?’ ‘११ सय तिरेर आवेदन फारम भरेको १५ दिनपछि परीक्षा दिन नमिल्ने कुरा कतिको जायज हो ? कि विद्यालयले आवेदन दखास्त शुरुमै लिनु हुँदैन थियो’– उनले भने ।

परिचयपत्र हुँदाहुँदै मेरो व्यक्तिगत अधिकारमाथि विद्यालय प्रशासन र शिक्षा शाखाले बन्देज लगाउन खोजेको उनको आरोप छ । शिक्षा सेवा आयोगबाट जारी परीक्षा सञ्चालन निर्देशिका २०७५ को बुँदा नम्बर ११मा अपाङ्गता भएको कारण आफैले लेख्न नसक्ने दृष्टिविहीन, (ग) वर्गको न्यून दृष्टि र दुवै हात नचल्ने (अपाङ्ग) परीक्षार्थीले सहयोगी लेखक माग गरेमा सम्बन्धित तहका लागि तोकिएको न्यूनतम् योग्यताभन्दा कम्तीमा एक तह तलको योग्यता भएको व्यक्तिलाई सहयोगी लेखकको रुपमा परीक्षामा बस्न परीक्षार्थी दरखास्त फाराम भरेमा शिक्षा विकास तथा समन्वय इकाइले अनुमति दिने उल्लेख छ । निर्देशिकामा उल्लेख भए अनुसार (ग) वर्ग पनि दृष्टिविहीनमा पर्छ ।

नेत्रहीन युवा संघ नेपाल झापाका अध्यक्ष चन्द्र भट्टराईले सरकारले दृष्टिविहीन भनेर पूर्ण दृष्टिविहीन, दृष्टिविहीनता र न्यू दृष्टि भनेर तीन वर्गमा छुट्याएको बताए । उनले भने– शिक्षा सेवा आयोगको परीक्षा निर्देशिकामा (ख) र (ग) वर्गका दृष्टिविहीनले दृष्टिविहीन शिक्षकको कोटामा भीडन पाउँछ, त्यो अधिकार सरकारले नै बनाइदिएको हो । ‘आवेदनकर्तालाई विद्यालयले अन्तिम समय आएर परीक्षाबाट बञ्चित गराउनु भनेको त्यहाँ कुनै चलखेल हुनुपर्छ’– उनले भने ।

सरकारले दृष्टिविहीनको परिचयपत्र दिएपछि न्यून दृष्टि क्षमता भएकाले पनि दृष्टिविहीन शिक्षक कोटामा प्रतिस्पर्धा गर्न पाउने शिक्षा विकास तथा समन्वय इकाइ समिति झापाका प्रमुख राजकुमार विकले बताएका छन् । ‘दृष्टिविहीनको वर्ग सरकारले छुट्याउने हो’– उनले भने– ‘बिद्यालयले दृष्टिविहीनको वर्ग छुट्याउन मिल्दैन, त्यसैले उनीहरुले पाउने अधिकारबाट बञ्चित गराउन मिल्दैन, परीक्षामा सामेल गराउनुपर्छ ।’

यता अर्जुनधारा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख तोयानाथ रेग्मीले दृष्टिविहीन शिक्षक कोटामा ग वर्गको न्यून दृष्टि क्षमता भएकाले प्रतिष्पर्धा गर्न नपाउने बताएका छन् । ‘शिक्षा सेवा आयोगले त्यो कुरा कहीं उल्लेख गरेको छैन, त्यही भएर (ख) वर्गका दृष्टिविहीनलाई मात्र परीक्षामा सामेल गराउन मिल्छ’– उनले भने । सिंहदेवी माविको दृष्टिविहीन शिक्षक पदपूर्ति छनौट समितिका संयोजक पनि शाखा प्रमुख रेग्मी नै हुन् ।

दाहालको आवेदन परेपछि छनौट समितिले न्युन दृष्टि क्षमता (ग) वर्गलाई परीक्षामा सामेल नगराउने भनी निर्णय गरेको विद्यालयका प्रधानाध्यापक लक्ष्मी रिमालले बताए । छनौट समितिले निर्णय गर्दा आफू त्यस बेला विद्यालयमा नरहेको बताउँदै उनले भने– ‘न्यून दृष्टि क्षमता भएका आवेदनकर्ताले प्रमाण पेश गरे परीक्षामा सामेल गर्न दिन्छौं, परीक्षा शनिबार हुन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here