नीति हराएको राजनीति

0
803

राजनीतिलाई फोहरी खेल भनिन्थ्यो । राजनीतिकर्मीहरूको व्यवहार, सम्बन्ध र चरित्रको आधारमा यसो भनिएको हुनसक्छ । परिभाषा र सिद्धान्तले राजनीतिलाई आदर्श, निष्ठा र समाजसेवा भनेको छ । तर, यथार्थले र नेपालका राजनीतिक दलहरूको आजसम्मको व्यवहारले यो नीति नभएको, स्वार्थी र फोहरी खेल प्रमाणित भइरहेको छ । राजनीति व्यक्तिको अहम् तुष्टिको साधन र पद, प्रतिष्ठा र पैसा कमाउने पेशा बनेको पछिल्लो समय विकसित घटनाक्रमहरूले देखाएको छ । मीठा कुरा र चिप्ला व्यवहारले सोझा तर सार्वभौम जनतालाई झुक्याएर व्यक्ति स्वार्थ पूरा गर्ने अभिष्ट वर्तमानले प्रमाणित गरेको सन्दर्भले नेता र नेतृत्व वर्गको समाजसेवा ‘मुखको राम–राम’ मात्रै रहेछ । उनीहरूले चर्को स्वरले बोल्ने भाषणको अन्तर्यमा धारिलो ‘कैँची’ हुँदो रहेछ । नागरिक स्वतन्त्रता, प्रजातन्त्र अझ लोकतन्त्र, मानवअधिकार जस्ता शब्द जालमा अलमल्याएर निहित स्वार्थको ‘कपटपूर्ण पासा’ खेल्नु राजनीतिभित्रको विशिष्टता रहेछ ।

निरङ्कुशताविरूद्धको लडाइँबाट गणतन्त्र स्थापना ग¥यौ भनेर नथाक्ने नेताहरूले इतिहास निर्माण गरेको राजतन्त्र अन्त्य गरेर जनताले अनुभूत गर्ने के उपलब्धी हासिल गरे ? जनताको जीवनस्तरमा कति परिवर्तन आयो ? अथवा परिवर्तित राजनीतिक प्रणालीले आत्मनिर्भरता कति बढायो ? यसको जवाफ दिने नेताहरूको सामथ्र्य छैन । बरू आमजनताले नेता, तिनका चरित्र, निष्ठा र चम्किलो अनुहारभित्रको निष्पट्ट अन्धकारको विश्लेषण गर्न सक्छन् । स्वयम्ले सिद्ध गरेको ‘राजनेता’ले भनेको निरङ्कुशतन्त्र हटेको डेढ दशक भइसक्यो । यसबीचमा जनताका अपेक्षा र सपनाले कति पूर्णता पाए त्यो समयले मूल्याङ्कन गर्ला । तर, घाम जत्तिकै छर्लङ्ग, स्फटिक जस्तै सफा देखिएको सत्य यति हो कि नेताहरू व्यक्ति स्वार्थ पूर्तिका लागि जति पनि निर्लज्ज हुन सक्ने रहेछन् । पद, पैसा र सत्ता प्राप्तिलाई महानता ठान्नु राजनेताको विशेषता हुने रहेछ । आफूले गरेको र भनेकोलाई धु्रवसत्य ठान्ने र दुनियाँले पनि ठानोस् भन्नु राजनीतिको गुण हुँदो रहेछ ।

आज देशमा भइरहेका राजनीतिक घटनाक्रमले देशलाई उल्टो यात्रामा डोहो¥याएको छ । केन्द्र होस् वा प्रदेशमा सरकार बनिने र फेरिने क्रम तीव्ररूपले भइरहेको छ । हिजो तत्कालीन प्रधानमन्त्री केपी ओली निरङ्कुश भए भन्दै सत्ताच्युत गर्न लागीपरेका उनकै दलका नेताहरू आफ्नो भविष्य असुरक्षित देखेर फेरि उनकै शरणमा पुगेका छन् । इतिहासकै सुरक्षित सरकार गिराउन सम्पूर्ण शक्ति प्रयोग गरेकाहरूमा आस्था, निष्ठा, सिद्धान्तभन्दा स्वार्थप्रेरीत महत्वाकांक्षी चरित्र बलियो हुँदोरहेछ । त्यही स्वार्थ अनुकूल बनाउन एमालेबाट नेकपामा रूपान्तरित नेतृत्व वर्ग टुक्रिएर पूर्ववत् अवस्थामा आएर पनि निरङ्कुश भइरहँदा सत्ताबाट बाहिरिनु प¥यो । सम्भवतः एमालेसँग हिजोको सामथ्य छैन । कठीनतम् घडीमा पार्टीलाई जीवित राख्न संघर्ष गरेका माधवकुमार नेपाललाई विधि, पद्धति र प्रणालीबाट चल्न वल प्रदान गरेका धेरै नेताले नैतिकताको लडाइँमा एक्लो बनाएका छन् । पार्टी एकता राजनीतिक स्थीरताको लागि आवश्यक हुन्छ । तर, नैतिकताबिनाको एकता देश र जनताका लागि घातक हुन्छ । ढीलो चाँडो जनताले पनि निष्ठा, आदर्श, मूल्य र मान्यताविहीन राजनीतिको मूल्याङ्कन गर्नेछन् । नेताहरूका व्यक्तिगत कमजोरी प्रणाली विस्थापन गर्ने ‘निहुँ’ नबनियोस् त्यसतर्फ सबै सचेत बनून् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here