नेपाली कांग्रेस नेतृत्वमा सरकार गठन भएको डेढ महिना भयो । तर, कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेका एमाले इतरका दलहरूको आन्तरिक कारणले सरकारले पूर्णता पाएको छैन । तत्कालीन प्रधानमन्त्री केपी ओलीको एकलौटी र स्वेच्छाचारी व्यवहारका कारण बढेको आन्तरिक किचलोले नेकपा टुक्रिएर कमजोर मात्र होइन सरकार नै अल्पमतमा पुग्यो । परिणाम सरकार बिघटन हुने क्रम प्रदेशसम्म पुग्यो । नेकपाको विग्रहको कारक एउटा समूहले अर्कोलाई भनिरहे पनि आखिर दुई तिहाईको सरकार ढल्नु र राजनीतिक स्थायित्व कमजोर हुनु परिवर्तित प्रणालीसँगै देशका लागि दुर्भाग्यपूर्ण अवस्था हो । तत्कालीन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल लगायत अध्यक्ष ओलीको कार्यशैलीप्रति असन्तुष्ट नेताहरूले नयाँ दल दर्ता गरेर आफ्नो नयाँ यात्रा प्रारम्भ गरेका छन् । दुई धु्रुवमा विभाजित मधेशबादी दलले पनि फरक यात्रा रोजेका छन् ।

गएको आमनिर्वाचनले कांग्रेसलाई सरकार बनाउने जनादेश दिएको थिएन । तर, परिस्थितिले कांग्रेसलाई सत्तामा पु¥यायो । तर, गठन भएको यति लामो समयसम्म सरकारले पूर्णता नपाउँदा जनता र देशको जीवन सञ्चारमा बाधा पुगेको छ । झण्डै दुई वर्षदेखि सम्पूर्ण अवयवलाई ठप्प बनाउने कोरोना पीडाबाट मानव जीवन मुक्त हुन सकेको छैन । आजका दिनसम्म पनि भाइरसबाट जोगाउने भरपर्दो उपाय भनिएको खोप सुनिश्चित भएको छैन । प्रधानमन्त्री नियुक्त भएकै दिन खोप कार्यक्रममा अर्जुनदृष्टि रहने वाचा गरेको सरकारले अभियानलाई प्रभावकारी बनाउन सकेका छैनन् । खोप भण्डारमा छ, जनता खोप नपाएर मृत्युवरण गरिरहेका छन् । त्यसैगरी प्रधानमन्त्री देउवा आफ्नै दलभित्र व्यवस्थापनको किचलोमा जेलिएका छन् । महाधिवेशनको समय गुज्रिएर वैधानिक अस्तित्व रक्षा गर्नुपर्ने बेला क्रियाशील सदस्यताको विवाद भोक हड्तालमा पुगेको छ । यस्तो बेलालाई ‘भुतको खाजा खाना खाने बेला’ भनिन्छ । प्रधानमन्त्री देउवा त्यही बेलाको चक्रव्युहमा यसरी जेलिएका छन् । जसका कारण उनको यात्रा गतिहीन बन्न पुगेको छ ।
एकातिर अन्य राजनीतिक दल जस्तै गुट–उपगुटमा बिभाजित मानसिकता र अर्कातिर देश र जनताको प्रतिनिधित्व गर्नुपर्ने चुनौति । एकातिर दलको वैधानिकताको रक्षा गर्नुपर्ने दायित्व अर्कातिर आन्तरिक असहमतिलाई व्यवस्थापन गर्नुपर्ने जवाफदेही । यी सबैका माझबाट विश्वलाई आतङ्कित बनाएको कोरोनाजन्य सङ्कटबाट जनताको जीवन सुरक्षित गर्नु प्रधानमन्त्रीका लागि सर्वाधिक ठूलो चुनौति विद्यमान छ । आज पनि कोरोना संक्रमण दर कम भएको छैन न त मृत्युदर नै कम भएको छ । जनसंख्या घनत्व बढी भएका ठाउँहरू संक्रमणको उच्च जोखिममा छन् । बिद्यार्थीले पढ्न बिर्सिसकेका छन्, सेवाप्रदायक संस्था तथा कार्यालयहरू लयमा फर्किन पाएका छैनन् । उद्योग, कलकारखाना, व्यापार व्यवसायहरू अहिले पनि अनिश्चित जस्तै छन् । यस्तोमा सरकारलाई पूर्णता दिएर राज्य सञ्चालनका अङ्गहरूलाई गतिशील बनाउन प्रधानमन्त्रीको विशेष भूमिका हुनुपर्छ । अन्यथा यस्तो गतिहीन यात्राले नेपाली कांग्रेससँगै देशको सुदूर भविष्य पनि अनिश्चित बन्नेछ ।




























