
पहिलो चरणमा कोभिड महामारीको त्रास यति थियो कि कोही अञ्जान व्यक्तिसँग सबै त्रस्त हुन्थे । सडक सुनसान, बजार सुनसान, गाउँ समेत आ–आफ्नै घरभित्र बन्द थिए । सप्तरी जिल्लाको चन्द्रपुर इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर नेतृत्वको एउटा प्रहरी भ्यान राजविराजस्थित जिल्ला अदालततर्फ हुँइकियो त्यो पनि एकदमै अबेला अर्थात् साँझ ४ः०० बजे ।
देश बन्दाबन्दीमा थियो । खाली चलेको थियो त संसदवादीहरुको लुट र नेपाल कम्युनिस्ट पार्टी माथिको सरकारी दमन । जनता सरकारी लुटपाट र यसको बिरोध गर्ने क्रान्तिकारीहरुको स्थितिप्रति जानकार थिए । हाम्रो पार्टी त्यस्तो स्थितिमा पनि घोषणा गरेरै जनसेवामा लागिरहेको थियो । हँुइकिएर गएको प्रहरी भ्यान झण्डै ५ः०० बजे सप्तरी जिल्ला अदालत पुग्यो । भ्यानबाट हामीलाई (तात्कालीन मेची÷कोशी ब्युरो इञ्चार्ज कमरेड उमा भुजेल ‘शिलु’ र म) उतारियो । जिल्ला अदालतका न्यायाधीशहरु अदालत प्राङ्गणमा हामीलाई नै कुरेर बसिरहेका थिए । न्यायाधीशहरुले प्रहरीलाई प्रश्न गरे किन ढिला गर्नुभयो ? प्रहरी इनिस्पेक्टरले हामीलाई जानकारी ढिला आयो भन्ने जवाफ दिए ।
यो सबै विषयप्रति हामी अनभिज्ञ नै थियौं त्यति बेलासम्म । हाम्रोबारे सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षिकरण रिट दर्ता भएको त सुनेका थियौं । हामीलाई वरिष्ठ अधिवक्ता बुवा एकराज भण्डारीले फोन मार्फत जानकारी गराउनु भएको थियो । तर, त्यो दिन हामीलाई हिरासत मुक्त गर्नु भनी सर्वोच्चले आदेश गरेको रहेछ । प्रहरीहरुको उद्देश्य हामीलाई ढिलो पु¥याउने र आलटाल गर्ने र राति पारेर पुन पक्राउ गर्ने रहेछ । न्यायाधीशहरुले हामीलाई प्रश्न गर्नुभयो– तपाईहरुलाई बुझ्ने कोही आफन्त बोलाउनु भएको छ ? अहं छैन । –हामीले जवाफ दियौं । कसरी बोलाउने त्यस्तो बन्दाबन्दीमा सबैतिर गाह्रो अवस्था थियो । उसो भए बोलाउनुस् न्यायाधीसहरुले पुनः भने । हामीले आमालाई बोलायौं आमा गाडी रिजर्भ गरेर आउनुभएछ दमकदेखि बिराटचौकसम्म । तर, त्यहाँको सबै स्थिति हामीलाई पक्राउ गर्ने नै छ भन्ने छनक पाएपछि आमालाई फर्कनुस् भन्यौं । आमा बीच बाटो बाटै फर्किनु भयो ।
समय बित्दै जाँदै थियो । न्यायाधीशहरुले सल्लाह गरेर बार एसोसिएसनका अध्यक्ष डोमन साहलाई बोलाए र हामीलाई बुझ्न अनुरोध गरे । परिस्थितिको बारेमा न्यायाधीशहरु समक्ष हामीले केही कुरा राख्यौं । सरकारले हामीलाई गैरकानूनी हिसाबले दिएको दुःखप्रति न्यायाधीशहरु खुसी देखिएका थिएनन् । अधिवक्ता डोमन साहलाई हेरेर न्यायाधीशहरुले भने उहाँहरुलाई प्रहरीले फेरि पक्राउ गर्ने बुझियो, सक्नुहुन्छ भने पछाडि बन्दै गरेको हलबाट सानो ढोका खोलिएको छ त्यहाँबाट निकाल्नुस् । वास्तवमा हामीलाई दिइएको दुःख र हैरानीप्रति न्यायाधीशहरु खुशी थिएनन् नै । सरकारले विप्लप माओवादीप्रति गरेको अत्याचारले सीमा नाघ्दै थियो ।
मान्छे बुझाएको भर्पाइ लिनु भयो भाइ ? प्रहरीलाई एक न्यायाधीशले प्रश्न गरे । अँ लियौ श्रीमान –प्रहरीले जवाफ दिए । बाहिर दुईवटा प्रहरी भेन तैनाथ देखिन्थे । जासुसहरुको चहलपहल पनि थियो । हामीलाई कानून ्रव्यवसायीको जिम्मामा छोड्ने सम्बन्धी कागजी प्रक्रिया पूरा भएको थियो । न्यायाधीशहरुले हामीलाई ल जानुस् तपाईंहरु डोमनजीले तपाईंहरुलाई बाहिर निकाल्नुहुन्छ भनेर बिदा दिए । हामी अदालतको पछाडिको ढोकाबाट झट्पट बाहिर निस्कियौं । तर, स्थिती त्यति सहज थिएन । अलि पर डोमनजीको कार्यालय थियो एकछिन त्यहाँ रोकियौं । डोमनजीले पत्रकार बोलाउनु भएको रहेछ । उहाँ बुझ्न भनेर बाहिरिनु भयो । कान्तिपुरका पत्रकार साथीहरु आएर हाम्रो फोटो लिए साथै केही प्रश्न गरे । कहिलै अनुभव नभएको तराई, कोरोनाको महामारीले आक्रान्त जनता, प्रहरीको तीव्र खोजी र हाम्रो भाग्दै गरेको अवस्था निक्कै कठिन थियो ।
एकैछिनमा डोमनजी हस्याङ्ग–फस्याङ्ग गर्दै आउनु भयो । प्रहरीको टिम अदालतभित्र छिरेको छ, अदालतको कोठा–कोठा छापा हान्दैछ, केही प्रहरी यता आउँदैछन् भन्नुभयो । लु यहाँबाट बाहिरिनुपर्छ भनेर उहाँ अघि लाग्नुभयो हामी पछि–पछि लाग्यौं । सबैतिर चकमन्न छ । मान्छे चिन्नै मुश्किल हुने रात भए पनि सडकका बत्तीहरुको उज्यालोले छलिन निक्कै गाह्रो भएको छ । उहाँले घुमाउँदै–घुमाउँदै एक घरमा पु¥याउनु भयो । घरका मान्छेहरु कोरोनाको कारण आतंकित त छँदै थिए, त्यही माथि हामीलाई प्रहरीले पिछा गर्दैछ भन्ने थाह पाएर घरका मान्छे झन् आत्तिए जस्तो अनुभूति भयो । तर, एकछिनको कुराकानी पछि परिस्थिती शान्त हुन पुग्यो । डोमनजी नभएको भए, न फोन छ ! न त्यो ठाउँको बारेमा केही थाह छ ! न त हामीसँग पैसा छ ! न त परिस्थिती नै ठीक छ । कोही अन्जान देख्नासाथ कोरोनाकै कारण मानिसहरुले प्रहरीलाई खबर गर्ने स्थिती थियो ।

हामी चन्द्रपुर हिरासत बस्दा सप्तरीकै उमेश यादव र केही साथीहरु हामीलाई भेट्न आउनु भएको थियो । उमेश यादव (सप्तरीका स्थापित नेता तथा पूर्व सिँचाइ मन्त्री) शिलु दिदी वाइसीएलको उपाध्यक्ष भएको बेला एउटै कमिटीमा काम गर्नुभएको रहेछ । धेरै श्रद्धापूर्वक उहाँले आत्मियता प्रकट गर्दै क्रान्ति सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । हामीसँग उमेशजीको नम्बर पनि हिरासतमै छुटेको थियो । प्रहरीले हामीलाई चप्पा–चप्पा खोजिरहेको विषय डोमनजीलाई थाह भयो । उहाँलाई पनि प्रहरीले तारन्तार फोन गरेर हाम्रो बारेमा बुझिरहेका थिए । राजबिराजमा निक्कै ठूलै होहल्ला भएको बुझ्न कठिन थिएन । डोमनजीलाई अब सजिलो थिएन हामीलाई सुरक्षित गर्न । त्यो समय अरु कसैसँग सहयोग माग्नु र पाउनु असम्भव जस्तै थियो । डोमनजीलाई सोध्यौं उमेशजीको नम्बर छ ? उहाँले छ भन्नुभयो र कल ग¥यौं । शिलु दिदी बोल्नु भयो । राजबिराजमा ठूलै हल्लीचल्ली भइसकेको रहेछ । उमेशजी धेरै चिन्तापूर्वक हामीलाई भेट्न पाए र सहयोग गर्न पाए हुन्थ्यो भनेर आत्तिरहनु भएको रहेछ । उहाँले स्थिती अवगत गराउनुभयो र हामीलाइ भेट्न आउँछु भन्नुभयो । उहाँ हामीलाई भेट्न गएको हुनाले राजविराजमा उमेशले नै लुकाएको हुन सक्छ भनेर प्रहरीले उहाँलाई पिछा गर्दै रहेछ । उहाँ हामीलाई भेट्न छद्म रुपमा आउनु भयो । र, सप्तरीकै नेता उहाँहरुकै टिमका साथी बिनोदजीलाई सबै कुरा अराएर हाम्रो सुरक्षाको प्रबन्ध मिलाएर उहाँ तुरुन्तै निस्कनु भयो । र, फोनमा कुरा गर्ने त्यो पनि उहाँको श्रीमतीको नम्बरमा भनेर सल्लाह भयो ।
हामीलाई कहाँ राख्ने भन्ने मिलाउन बिनोदजी र उहाँसँग आउने एकजना साथी हिँड्नु भयो । हामी त्यही घरमा राति १ः०० बजेसम्म पर्खिएर बस्यौं । १ः०० बजे हामीलाई त्यो टोलबाट अर्को टोलमा सारेर बिनोदजीको घरमा लगेर राख्नु भयो । सायद आत्मियता, क्रान्तिकारी प्रेम र त्यो सद्भाव बिनोदजीको घरमा जो पायौं त्यो कहिल्यै बिर्सनै नसकिने प्रकारको छ । बिनोदजीको श्रीमती उहाँले खेल्नुभएको भूमिका सधैँ उल्लेखनीय रहने छ । हामीलाई खोज्न प्रहरीहरु धेरै घुमिरहेका थिए, व्यापक प्रहरी परिचालन गरिएको थियो राजबिराजमा । त्यहाँका जो कोही अगुवालाई राम्रोसँग थाह थियो कि विप्लवकी नेतृ राजबिराज अदालतबाट भागेको र उनी र अर्का युवक कार्यकर्तालाई प्रहरीले धुइँ–धुइँ खोजिरहेको छ । दिउँसोभरि हामी बिनोदजी कै घरमा बस्यौं । लगभग नौ महिना हिरासत र जेलको चक्कर काटेर भर्खरै बाहिर निस्किँदा हामीलाई भने हामी बाहिरै निस्केको प्रति विश्वास नै भइरहेको थिएन । अर्थात् हिरासत र कारागार आदत बनिसकेको रहेछ ।
राजबिराजबाट कसरी निस्कन सकिएला सबैभन्दा ठूलो कुरा यही थियो । उमेशजीहरुलाई पनि यो निक्कै चुनौतिपूर्ण काम थियो । प्रहरीहरुले यतिधेरै खोजेका थिए त्यो उहाँहरुलाई राम्रोसँग थाह थियो । भोलिपल्ट बेलुका अर्को घरमा निस्कने योजना भयो । हामीले हुलिया बदल्नुपर्ने स्थिति बन्यो । दिदीले तराइकै महिलाले जस्तो हुलिया बनाउनुपर्ने अवस्था बन्यो । हामीले आफूले लगाएका सबै कुरा फ्याक्यौं, दिदीले बिनोदजीको श्रीमतीले ल्याइदिएको मधेशी पहिचान जस्तो लाग्ने कपडा लगाउनुभयो । मलाइ एउटा टिसर्ट ल्याइदिनुभयो त्यो टिसर्ट, हाफ्पाइन्ट र गाम्छा र चप्पल लगाए मैले । दिदी गोरो मान्छे भएको हुनाले हुलिया मिलाउन गारो नै भयो । तथापि बिनोदजीको श्रीमती र शिलु दिदी पुरै हुलिया बदलेर अघि लाग्नु भयो । म र बिनोदजी पछि–पछि हिँड्यौं । अलि पर एकजना साथीको घरमा पुग्यौं र रात त्यहीँ बस्यौं । त्यहाँबाट बिहान४ः०० बजे हिँड्ने र राजबिराज बजारबाट बाहिर निस्कने योजना बनायौं । किनकि बिहानको समय मर्निङ्वाक गर्नेहरुको भिडभाड हुने र त्यही समयको उपयोग गर्ने योजना थियो हाम्रो । हामी निस्कियौं करिब डेढ घण्टा पैदल हिँडेर हामी राजबिराजदेखि निक्कै पर साथीहरुको आफन्तकोमा पुग्यौं । आफन्त सरकारी कर्मचारी रहेछन्, उनी यति डराएकी त्यसको कुरै नगरौं । तथापि उनको श्रीमती र हामी पुगेको त्यो बिहानदेखि रातको १ः०० बजेसम्म सँगै बस्यौं ।
हामीलाई बाहिर निकाल्न साथीहरु तयारी गरिरहनु भएको थियो । निक्कै जटिल छ स्थिति भन्ने कुरा आइरहन्थ्यो । सप्तकोशीको पुल कसरी काट्ने ? त्यहाँ चेकपोस्टमा राम्रोसँग हे¥यो भने त फेला परिन्छ भन्ने थियो । उहाँहरुको एउटा टोली हाइवे र पुलको अवस्थाको बारेमा हेर्न जानु भयो । प्रहरीहरु तैनाथ नै भएको बुझियो । अब राजबिराज आसपास नै धेरै समय बस्ने स्थिति थिएन । सुरक्षा चुनौति बढ्दै थियो । सूचनाहरु चुहावट हुने खतरा देखिँदै थियो । उमेशजीसँग फोनमा कुरा भइरहेको थियो । बिनोदजी प्रत्यक्ष हामीलाई सहयोग गर्दै हुनुहुन्थ्यो । हामी सबैको निष्कर्ष यही निस्कियो अब जसरी पनि निस्किहाल्नुपर्छ । एम्बुलेन्सको व्यवस्थापन गर्नुभयो साथीहरुले । दिदीलाई बिमारी बनाएर अक्सिजन समेत लगाइयो । म उहाँको रुंगालु जस्तो भएर एम्बुलेन्समा बसेँ । उमेशजीले पाँच हजार खर्च र एउटा फोन गर्ने मोबाइल पठाइ दिनुभएको थियो । एम्बुलेन्स अगाडि हुँइकियो । एम्बुलेन्सको रफ्तारले हामीलाई २ः०० बजेतिर विराटनगर पु¥यायो । हामी अधिवक्ता कला त्रिताल दिदीकोमा गयौं । उहाँ हामीलाई लिन आउनुभएको थियो न्यूरो अस्पताल नजिकै । यसरी हामी राजबिराजबाट विराटनगर पुग्यौं ।
सम्भवतः त्यो राजबिराजमा साथीहरुको त्यो सहयोग प्राप्त नभएको भए हामीलाई त्यहाँबाट फुत्किएर आउन सम्भव थिएन । क्रान्तिले नै यो सबै सम्भव गरायो । क्रान्तिप्रतिको अथाह प्रेम, नेतृत्वप्रतिको अगाध स्नेहले नै त्यो अपरिचित राजबिराजमा त्यो स्थिती बन्न सक्यो । प्रहरीले हामीलाई झन्डै एक हप्ता बेपत्ता राखेको थियो । मानसिक टर्चर अत्याधिक दिएको नै त्यही थियो । त्यहाँ कोही चिनेको जानेको थिएनन् । तर, राजबिराजमा जे सम्भव भयो यो घटना पछि मलाई लाग्यो हाम्रो मधेशले क्रान्तिलाई धेरै माया गरेको छ । त्यहाँका पत्रकार, अधिवक्ता, हिजोका पुराना क्रान्तिकारी योद्धाहरु, उहाँहरुका परिवार, स्थानीय नागरिक त्यो समय उहाँहरुले प्रकट गर्नुभएको स्नेहप्रति कृतज्ञ छौं । राजबिराजका क्रान्तिकारीहरुलाई रातो सलाम टक्र्याउन चाहन्छु ।

























