ठूला विकास आयोजना अलपत्र

0
802

झापा।

कोभिड र निर्माण सामग्रीको अभाव देखाउँदै झापाका केही ठूला विकास निर्माणका योजना अलपत्र परेका छन् । लामो समयदेखि लकडाउनका कारण जिल्लामा सञ्चालित ठूला विकास निर्माणका आयोजना सम्पन्न हुन नसक्दा सडकसहितका केही ठूला आयोजनाको काम अलपत्र परेको हो । लकडाउनका कारण झापामा सञ्चालित झण्डै तीन अर्ब बरावरका आयोजनाको काम समयमा सम्पन्न हुन नसकेको हो । निर्धारित समयमा जिल्लामा सञ्चालित चार वटा सडकको काम नसकिएपछि ६ महिनाको समय थप गरिएको छ ।

निर्माण व्यवसायीले कोभिड र निर्माण सामग्री अभाव भएको भन्दै नेपाल सरकार र एसियाली विकास बैक ‘एडीबी’ सँगको साझेदारीमा निर्माण भइरहेका चारबटा सडकको काम समयमा सम्पन्न गरेका छैनन् । समयमा निर्माण सम्पन्न नभएका सडकहरुमा अमलडाँगी–सोलमारी सडकखण्ड, चारपाने–राजगढ सडकखण्ड, पाडाजुँगी–खजुरगाछी सडक र खर्सङबारी–अधिकारी चोक र खर्साङबारी–अधिकारी चोक रहेका छन् ।

यो संगै जिल्लामा सञ्चालित दुई अर्बभन्दा बढीका साना विकास निर्माणको काम प्रभावित बनेको जिल्ला समन्वय समिति झापाले जनाएको छ । स्थानीय पूर्वाधार तथा कृषि सडक विभागअन्तर्गत ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसीआइपी) मार्फत झापाका चारवटा सडक निर्माणाधीन छन् । रु. ६७ करोड ९३ लाख ७९ हजार ९९५को लागतमा निर्माण भइरहेका चार सडकको निर्माण समय अवधि सकिएर ६ महिना समय थप भएको हो ।

एक चिनियाँ कम्पनी जेठसिजीआइएसी र आशीष–प्रेरा जेभी काठमाडौँले सडक निर्माणको जिम्मा लिएर कञ्चन निर्माण सेवा, विष्णु निर्माण सेवा र पशुपति इञ्जिनियरिङ एण्ड बिल्डर्सलाई चारवटा सडक निर्माणका लागि ५२ करोड ८८ लाख ५४ हजार ९९९ रुपैयाँमा पेटी कन्ट्याकमा ठेक्का दिएको थियो । निर्माण भइरहेका चार सडकहरुमा अमलडाँगी–सोलमारी सडकखण्ड रहेको छ । यो सडकखण्ड निर्माणका लागि १३ करोड ६५ लाख ७१ हजार ७३३ रुपैयाँ लागत रहेको छ । ११ दशमलव ५० किलोमिटर सडक निर्माणको जिम्मा पशुपति इञ्जिनियरिङ एन्ड बिल्डर्सले लिए पनि यो सडकको निर्माण कार्य लकडाउनका कारण प्रभावित बनेको छ ।

त्यस्तै चारपाने–राजगढ सडकखण्ड निर्माणका लागि कञ्चन निर्माण सेवाले काम गरिरहेको छ । १५ दशमलव ४८ किलोमिटर लम्बाइ रहेको यो सडक निर्माणको लागत १९ करोड ५४ लाख ४७ हजार ३४२ रुपैयाँ रहेको छ ।

पाडाजुँगी–खजुरगाछी सडक र खर्सङबारी–अधिकारी चोक दुईवटा १६.५ किलोमिटर सडक निर्माण गर्नका लागि विष्णु निर्माण सेवाले काम गरिरहेको छ । १० दशमलव तीन किलोमिटर लम्बाइ रहेको पाडाजुँगी–खजुरगाछी सडक निर्माणको १२ करोड २८ लाख ७० हजार ७७४ लागत रहेको छ भने खर्साङबारी–अधिकारी चोक (६.५१ किलोमिटर) सडक निर्माण गर्न सात करोड ३९ लाख ३८ हजार १५० लागत रहेको छ ।

नेपाल सरकार र एशियाली विकास बैक ‘एडिबी’ सँगको साझेदारीमा निर्माण भइरहेको चारवटा सडकको लम्बाइ ४३ दशमलव पाँच किलोमिटर रहेको छ । सन् २०१८ मार्च ३० मा सम्झौता भएका चारवटा सडकको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ असार १८ गते गरेका थिए । हुलाकी राजमार्ग आयोजना इटहरीद्वारा सञ्चालित चारआली–केचना सडकखण्ड र झापा चौक–राजगढ सडकखण्ड तथा राजगढ–गौरीगञ्ज सडकखण्डको काम समेत लकडाउनकै कारण प्रभावित बनेको छ ।

हुलाकी सडक परियोजना अन्तर्गत ४८ किलोमिटर सो सडक दुई चरणमा निर्माण भइरहेको हो । झापा चौक–राजगढ र राजगढ–गौरीगञ्ज सम्मको सडक निर्माण कार्य लकडाउनका कारण प्रभावित बनेको जिसस प्रमुख सोमनाथ पोर्तेलले बताए ।

अलपत्र जीपी भवन

झापाको भद्रपुर नगरपालिका–१० चन्द्रगढीस्थित मेची रंगशाला अगाडि निर्माण थालिएको गिरिजाप्रसाद कोइराला स्मृति भवनको निर्माण कार्य अलपत्र परेको छ ।

पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको स्मृतिमा निर्माण शुरु गरिएको भवन समयमा नबन्दा अलपत्र परेको हो । ११ करोड २६ लाख २७ हजार पाँच सय ५१ रुपैयाँको लागतमा २०७४ असार १० गते भवन निर्माण कार्य सक्ने गरी २०७२ साल असार २७ गते भवनको शिलान्यास भएको थियो ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम लोकतान्त्रिक अध्यक्ष बिजयकुमार गच्छदारले भवनको संयुक्त रुपमा शिलान्यास गरेका थिए । प्रेरा–शाह इञ्जिनियरिङ जेभी काठमाडौंसँग २०७२ असार १० गते सम्झौता गरिएसँगै भवनको शिलान्यास तत्काल असार २७ गते नै गरिएको थियो । तर, भवन निर्माण सम्पन्न गर्नुपर्ने मिति सकिएको तीन वर्ष बितिसक्दा समेत भवन निर्माण कार्य अधुरै रहेको जिल्ला समन्वय समिति झापाका प्रमुख पोर्तेलले बताए ।

त्यस्तै भारतीय राजदूतावासको सहयोगमा भद्रपुर–३मा निर्माणाधीन अरनिको माविको भवन अलपत्र छ । त्यस्तै भद्रपुर–५मा निर्माणाधीन शीत भण्डार समेत निर्माण सम्पन्न हुन नसक्दा अलपत्र छ । तत्कालीन डिभिजन सहकारी कार्यालयको भवनसमेत निर्माण सम्पन्न हुन नसक्दा अलपत्र परेको छ ।

भारतीय दूतावासको सहयोगमा दश वर्ष अघि निर्माण शुरु भएको शित भण्डार निर्माणको काम भद्रपुर नगरपालिकाले हेर्दै आएको छ ।
नेपाल–भारत मैत्री संघको पहलमा भारतीय दूतावासकोे आर्थिक सहयोगमा भद्रपुर नगरपालिकाले २०६७ साल मंसीरबाट १५ महिनामा सम्पन्न गर्ने गरी ४ करोड १३ लाख, ३७ हजार ३ सय ६४ रुपँयाको लागतमा निर्माण शुरु गरेको कोल्ड स्टोर हालसम्म पनि निर्माणाधीन अवस्थामै छ । तोकिएको समय सीमाभित्र पनि ठेक्का लिने सुनौलो खिम्ती कन्ट्रक्सन काठमाडौले काम नगरेपछि दूतावासले गर्ने भनेको आर्थिक सहयोग समेत रोकिदिएको छ ।

आर्थिक सहयोग रोकिएपछि भद्रपुर नगरपालिकाले नै वर्षैपिच्छे लाखांै रुपैयाँ कोल्डस्टोर निर्माणका लागि भन्दै निकासा गर्दै आए पनि कोल्डस्टोर गुणस्तरहीन भएको, समयमा काम नगरी भ्रष्टाचार गरेको र व्यक्तिको जमिनमा सरकारी पैसा खन्याइएको स्थानीयको आरोप छ ।

कोल्ड स्टोर निर्माण शुरु गर्दादेखि नै गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग हुँदै आएकाले छानविन समिति समेत बनाइएको भए पनि गुणस्तर कायम गर्न नसकेको निर्माण पहलकर्ताको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here