झापा ।

झापाको सतीघट्टा नाकाबाट भन्सार छलेर अवैध रुपमा सरसामान नेपाल भित्रिने गरेको पाइएको छ ।
मेचीनगर नगरपालिका–७स्थित सतीघट्टा पारि भारतको दुलालजोत पर्छ । सोही नाकाबाट सतिघट्टा भएर चोर बाटो प्रयोग गरी सरसामान नेपाल भित्रिन थालेपछि भारतीय एसएसबीले निगरानी बढाएको छ ।
भारतीय एसएसबीले नेपाल भारत सीमा पिलर ९४ नजिकैबाट करिब ३ लाखभन्दा बढीको लत्ताकपडा बरामद गरेको छ । ९४ नम्बर पिलरको बाटो सतिघट्टा निस्किन्छ एसएसबी ४१ बटालियन टोलीले सीमामा गस्ती गर्ने क्रममा सो मूल्य बराबरको १४ पोका कपडा नेपाल भित्र्याउन लागेको अवस्थामा बरामद गरेको हो ।
एसएसबीले कपडासहित एक तस्करलाई पनि नियन्त्रणमा लिएको छ । बरामद गरिएको कपडासहित तस्करलाई आवश्यक कारबाहीका लागि पानीटंकी भन्सार कार्यालय बुझाइसकेको एसएसबीले जनाएको छ । दुई दिन अघि मात्र एसएसबीले ९४ नम्बर पिलर नजिकैबाट ९ पोका लत्ताकपडा बरामद गरिएको थियो ।
कपडासहित भारतीय तस्कर क्षिरोत राय र घनश्याम शर्मालाई पनि एसएसबीले नियन्त्रणमा लिएको थियो । बरामद गरिएको कपडाको मूल्य नेपाली ५ लाख बढी रहेको थियो । सो नाकाबाट दिनैपिच्छे एसएसबीले सरसामान बरामद गर्न थालेपछि सतिघट्टा क्षेत्र अवैध कारोबारका लागि ट्राञ्जिट बन्दै गएको छ ।






























