इजरायलबाट फर्किएसँगै सामाजिक सेवामा लुइँटेल

११ भाद्र २०७८, शुक्रबार मा प्रकाशित

ग्रामीण क्षेत्रमा रहेर सामाजिक क्षेत्रमा क्रियाशील हुने नाम हो– मोहन लुइँटेल । कनकाई–८ लक्ष्मीपुर निवासी लुइँटेल पेशाले सुनचाँदी व्यवसायी हुन् ।
उनी नेपाल सुनचाँदी व्यवसायी संघ कनकाई नगरमा रहेर सुनचाँदी व्यवसायीको हक हितको क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दैछन् । आफैं पनि कनकाई नगरको लक्ष्मीपुरमा माताश्री ट्रेडर्स सञ्चालन गर्दै आएका लुइँटेलको परिचय यतिमा मात्र सीमित छैन । सहारा नेपाल सहकारी संस्था लिमिटेड चारपानेको अगुवाइमा कनकाई नगरपालिका–९ घैलाडुब्बास्थित वडा कार्यालय नजिकै निर्माण गरिएको ज्येष्ठ नागरिक चौतारी (भवन) निर्माणका लागि एक कठ्ठा १२ धुर जमिन उनैले प्रदान गरेका हुन् । ज्येष्ठ नागरिकको हकहितका लागि भवन निर्माणमा सहयोग पु¥याउने लुइँटेलले यो संगै कनकाई नगरपालिका–९ स्थित लकडीगद्दी चौकमा सडक आसपासमा बसोबास गर्ने भूमिहीन पाँच परिवारको घर निर्माणका लागि आर्थिकसँगै जमिनको समेत व्यवस्थापन गर्दै घर बसाउन लागेका छन् । भूमिहीन दुई परिवारका लागि १०÷१० धुर जमिन निःशुल्क प्रदान गरेका छन् भने लुइँटेलले तीन परिवारका लागि आर्थिक सहयोग गरेका छन् । लुइँटेलको सहयोगका कारण अहिले पाँच परिवार भवन निर्माणमा जुटेका छन् ।


समाज सुधारमा लागेका लुइँटेल नेपाली कांग्रेस प्रति आस्था राख्छन् । तर, सेवामा समर्पित हुँदाका बखत उनी पार्टीको आस्था र विचारलाई शिरोपर गर्दै तत्कालको आवश्यकता परिपूर्तिमा केन्द्रीत रहन्छन् । कोही दिन दुःखीको सेवा गर्नु परेको खण्डमा उनी पार्टी, जात केही हेर्दैनन् । उनीहरुको तत्कालको आवश्यकता के हो, त्यसको समाधान गरिदिनतर्फ केन्द्रीत रहन्छन् । गाउँका बाटा–घाटा फराकिलो पार्न होस् या त बाटाको स्तरोन्नति नै किन नहोस् उनी दिलोज्यान दिएर लागीपर्छन् । व्यवसायसँगै सेवा र राजनीतिमा छाउँदै गरेका लुइँटेल फस्र्याइलो र मिजासिला पनि छन् ।

२०३१ साल असोज २५ गते बुवा नारायण प्रसाद र आमा गंगादेवीका आठ सन्तानमध्ये कान्छो पुत्रका रुपमा जन्मिएका लुइँटेल श्रीमती उमासहित लामो समय वैदेशिक रोजगारीको सिलसिलामा इजरायल बसे । इजरायल बसाइको क्रममा उनले धेरे कुरा सिक्ने अवसर पाए । इजरायल आफैंमा महिला प्रधान देश भएकाले पनि त्यहाँका मानिसको कामप्रतिको लगनशीलता र मेहनतले उनलाई आफ्नै देशमा केही गर्नुपर्छ भन्ने प्रेरणा जाग्यो । धन कमाउन २०६५ सालमा इजरायल गएका उनी २०७१ सालमा स्वदेश फर्किएर व्यवसायसंगै सेवामा लागीपरे । छोटो समयमा व्यवसायिक सफलता हासिल गरेसंगै उनी सामाजिक सेवामा समेत सक्रिय भए । सुनचाँदी व्यवसायसँगै उनले घर जग्गाको कारोवार समेत गरे । नाफाको केही हिस्सा सेवामा खर्च गर्नुपर्छ भन्ने ज्ञान उनले विदेशमा नै सिकेका थिए ।

विदेशमा रहँदा व्यवसायसंगै सेवामा समेत सक्रिय रहनुपर्छ भन्ने ज्ञान आर्जन गरेका लुइँटेलले अहिले सामाजिक क्षेत्रमा समेत सक्रिय भूमिका निर्वाह गरिरहेका छन् । स–साना थुप्रै सामाजिक काममा हात हालेका लुइँटेलले मेची बहुमुखी क्याम्पसबाट प्रविणता प्रमाण–पत्र तहसम्मको अध्ययन गरेका छन् । २०४८ सालमा सगरमाथा बोर्डिङ स्कूलबाट एसएलसी उत्तीर्ण गरेका लुइँटेल विपद्मा परेका दिनदुःखीको सेवा गर्न औधी रुचाउँछन् ।
व्यवसायसँगै राजनीति र सामाजिक क्षेत्रमा समेत क्रियाशील लुइँटेलको परिचय अहिले लक्ष्मीपुरमा मात्र सीमित छैन झापाको दक्षिणी भेगमा समेत छाउँदै गएको छ । विशेषतः कनकाई –९ स्थित घैलाडुब्बामा ज्येष्ठ नागरिक चौतारी निर्माणका लागि जमिन प्रदान गरेसँगै उनको चर्चा एकाएक चुलिएको हो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here