
चित्रदेव कट्टेल,
सबै कवि कलाकार कुशासन विरोधमा
लेख्दछन् कविता काव्य भ्रष्टाचार निरोधमा
सुशासन कहाँ दिन्छन् माफिया मतियारले
सुध्रने छाँट आएन काव्यका हतियारले
जनता पिल्सिएका छन्, रोग भोक र शोकले
सिमाना मिचिएका छन् शत्रू बन्दुक नोकले
शासक रमिता हेर्दै समृद्धि गीत गाउँछन्
देश विदेशका गुण्डा ‘डलर’ ल्याइ चढाउँछन्
खन्दै खाडलमा झर्दा चन्द्रमा कसरी छुने ?
युवा शक्ति सबै बेची समृद्ध कसरी हुने
गण लोक सबै तन्त्र पार्टी तन्त्र हुँदै गयो
नेता तन्त्र पुगि सक्दा माफिया तन्त्र भैगयो
गुण्डा तस्कर नेताको तन्त्रले फाइदा भयो
जनता ऋणमा डुब्दै देश खोक्रो हँुदै गयो
यस्ता नामर्द सन्तान केको कष्ट बचाउने ?
एउटा मर्द सन्तान देउ आमा हँसाउने ।
देउमाई–९, जीतपुर, इलाम
हाल : बिर्तामोड–५, झापा



























