बोयर बोकापालन सुरु

0
774

उदयपुर,

अधिकांश खसी, बाख्रापालक किसानले परम्परागत प्रजातीको बाख्रा खसीको नश्ल सुधार गरेर विकास गर्दै खसीबाख्रापालनबाट बढी आर्थिक आम्दानी लिन अहिले घरघरमा उच्च प्रजातिको बोयर बोकापालन कार्यलाई बढाउँदै लगेका छन् ।

परम्परागत रुपमा हाम्रा गाउँघरमा पालिने गरेका खसी, बोका बाख्राबाट धेरै आम्दानी नहुने र आधुनिक बोयर बोकाको प्रयोगले नश्ल सुधार आउने तथा परम्परागत बाख्राले जन्माउने पाठापाठीबाट खसी, बोका वृद्धि भई धेरै मासु उत्पादन गर्न र आर्थिक आम्दानी लिन सकिने हुनाले पनि अहिले जिल्लामा बोयर बोकापालन तीव्र रुपमा वृद्धि हुँदै गएको छ ।

विसं २०६८ मा जिल्लामा पहिलो पटक बेलका नगरपालिकामा अष्टे«लियाबाट एक जोडी बोयर बोका भित्र्याइएको र त्यसपछिका दिनमा प्रायः किसानका लागि नेपालको चितवन, बाँके, बर्दिया र भारतको हरियाणा, पञ्जाबबाट समेत धेरै बोयर बोका खरिद गरेर ल्याइएको नगर प्रमुख दुर्गाकुमार थापाले बताउनुभयो ।

अहिले सो नगरपालिकाका अधिकांश किसानले घरघरमा नै बोयर बोका उत्पादन गर्न थालेपछि अधिकांश किसानका घरमा एक भन्दा बढी बोयर बोकापालन हुनथालेको जनाइएको छ । चौदण्डी गढी नगरपालिकामा पनि तीन वर्षदेखि व्यवसायीक रुपमा बाख्रा खसीपालक किसानले बोकापालन गर्ने र प्रयोग गर्ने कार्य बढाउँदै लगेको चौदण्डी गढी–९ हँडियाका एक किसान बिर्खबहादुर खड्काले बताउनुभयो ।

नगर प्रमुख खगेन्द्रकुमार राईका अनुसार नगरपालिकाले मात्र किसानलाई चार दर्जन भन्दा बढी बोयर बोका निःशुल्क वितरण गरेको र धेरै किसानले आफैले पनि उत्पादन गरेको हुनाले नगरभित्र सयौंको सङ्ख्या बोयर बोका उत्पादन भइसकेका छन् ।

जिल्लाको पहाडी क्षेत्रका पालिकामा पनि गत वर्षदेखि रौतामाई गाउँपालिका, उदयपुर गढी गाउँपालिकामा सुरु भएको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्काले बताउनुभयो । बोयर बोका पाल्नुपर्ने कारण, प्रयोगको फाइदाबारे बेलका– २ तपेश्वरीका किसान प्रकाश कार्की भन्नुहुन्छ, “अन्य हाम्रा गाउँघरमा पालिने परम्परागत लोकल बोका र बाख्राबाट उत्पादन हुने पाठापाठी बढेपछि कम्तीमा बीसदेखि बढीमा ४० किलोसम्म मात्र मासु उत्पादन हुन्छ, तर बोयर बोका प्रयोगबाट उत्पादन भएका पाठापाठी बढेपछि कम्तीमा ६० देखि ९० किलोभन्दा बढी मासु उत्पादन हुन्छ, यसर्थ परम्परागत बाख्रा खसीपालनबाट भन्दा बोयर बोकापालन र प्रयोगबाट दोब्बर बढी आम्दानी हुने हुनाले बोयर बोका पालनबाट बढी फाइदा छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here