रुसी ‘आमा’ले देखाएको समाजवादको सपना र नेपालमा समाजवादको बहस

0
739

नेपालको संविधान २०७२ मा नेपाल अब समाजवादउन्मुख राज्य हुनेछ भनी लेखिएको छ । नेपालमा यतिबेला समाजवादको सपना सबैभन्दा बढी बिक्री हुने विश्वास गरिएको नारा हो । सबै राजनीतिक दलहरुका समाजवादका आफ्नै परिभाषा र मान्यताहरु छन् । सन् १८४८ मा कार्ल माक्र्स र फ्रेडेरिक एंगेल्सले पुँजीवादका विरुद्ध वैज्ञानिक साम्यवादी घोषणापत्र लेखेका थिए । उनीहरुले पुँजीवादी उत्पादन सम्बन्धहरूले नै पुँजीवादी समाजको विकासलाई रोकिदिन्छन्, अनि जब उत्पादक शक्तिहरूले यी अड्चनहरू पार गर्न थाल्छन्, त्यसबखत तिनले सारा पुँजीवादी समाजलाई नै डगमगाइदिन्छन् र पुँजीवादी स्वामित्वको अस्तित्वलाई नै खतरामा पारिदिन्छन् भनेर लेखेका थिए । पुँजीवादी सम्बन्धहरू तिनीहरूद्वारा उत्पादित सम्पत्ति समाविष्ट गर्न अत्यन्त संकुचित हुन जान्छन् ।

कम्युनिस्ट घोषणापत्रमा उनीहरुले एकातिर, उत्पादक शक्तिहरूको एक ठूलो भागलाई नष्ट गरेर अनि अर्कोतिर नयाँ–नयाँ बजारहरू कब्जा गर्नुका साथै पुराना बजारहरूको पुरापुर शोषण गरेर भनी लेखेका छन् । तसर्थ भन्न सकिन्छ– समाजवादको जन्म पुँजीवादको गर्भबाटै हुन्छ । नेपालमा वामपन्थी पार्टीहरु आफूलाई वैज्ञानिक समाजवादको हिमायती ठान्छन् । आज संसारमा सबैभन्दा बढी कुनै सिद्धान्तले प्रभावित गरेको छ भने त्यो माक्र्सवादले नै छ । माक्र्सवादको मानवीय स्वरूप र शोषणमुक्त समाजको आह्वानले यस दर्शनले २०औं शताब्दीभरि एसिया, मध्यपूर्व, ल्याटिन अमेरिका र अफ्रिका सबै भूगोललाई प्रभावित ग¥यो । शोषणविहीन राज्यको परिकल्पनासहित स्थापित सोभियत संघ, पूर्वी युरोपका केही देशमा समाजवादी सरकार स्थापना भए ।

समाजवादी मुलुकमा नयाँ समाजमा नयाँ मान्छेको जन्म हुने विश्वास गरियो । माक्सिम गोर्की (१८६८÷१९३६)को विश्वका १२० भन्दा बढी भाषामा अनुदित बहुचर्चित उपन्यास ‘आमा’ लेखिँदा रूस तनावपूर्ण स्थितिबाट गुज्रिरहेको थियो । यो उपन्यासले रुसको क्रान्तिपूर्वको सर्वहारा मजदुर वर्गको चित्रण गरेको छ । सन् १९०५ को रुसी क्रान्तिमा कामदार वर्गको भूमिका र त्यसमा पनि महिलाहरुको भूमिकालाई उजागर गरेको छ उपन्यासले । उपन्यासमा दुई मुख्य घटनाको सटिक प्रकटीकरण छ– सन् १९०२ को मे दिवसमा रुसको सारामोभोमा भएको प्रदर्शन र प्रदर्शनकारीलाई गिरफ्तार गरी जारशाहीले मुद्दा चलाएको घटना । शुरुवातीमा उपन्यासकी मुख्य पात्र पेलगेया निलोभ्ना (पाभेल मिखाइलोभिचकी आमा) आम रुसी आमा झैं छन्– रुढीवादी, धार्मिक, डरपोक तर आफ्ना छोराछोरीप्रति मायालु ।

आफ्ना पति मिखाइल भ्लासोभको २० वर्षसम्मको निरन्तरको पीडा र यातना पतिको मृत्युपछि मात्र रोकिन्छ र पतिको मृत्युमा कसैको आँशु झर्दैन । तिनै पीडा, वेदना र कठिनाइमा जिइरहेको आमामा रुसमा भित्रभित्रै क्रान्तिको ज्वाला दन्किँदै जाँदा व्यापक परिवर्तन हुन्छ र उनी क्रान्तिकी आमा बन्दछिन् । छोरा पाभेलले जसरी मजदुरहरुको सामुहिकता र संगठनमा शक्ति हुन्छ र यो नै समाजवादी क्रान्तिको आधार हो भन्ने सच्चाइलाई बुझ्दै जान्छन््, त्यसरी नै आमामा पनि सर्वहाराको यो विचारले नवीन मानवजातिको विकास हुन्छ र ईश्वर पनि नयाँ रुपमा प्रकट हुन्छन् भन्ने विश्वास जागृत हुँदै जान्छ ।

भौतिक परिस्थितिले मानवीय चेतनाको विकास हुने र मानवीय चेतनाले भौतिक परिवेशलाई आफू अनुरुप बदल्न कोशिस हुने निरन्तरको अन्तरविरोधका बीचबाट नयाँ युगको आरम्भ हुन्छ भन्ने कुरा आम रुसी मजदुरवर्गले व्यवहारबाटै बुझ्दछ । रूसको निसासिँदो वातावरणबाट पार पाउन रूसी श्रमजीवी जनताले संघर्ष गर्ने निधो गरे । उनीहरू राजा कहाँ ‘राजा आऊ, हामीलाई बचाऊ’ भाषाको बिन्तीपत्र बुझाउन गए । ‘पूज्य पिता’ले उल्टो गोलाबारुदले स्वागत गरे । यसबाट मुर्मुरिएका गोर्कीका दुःखीजनहरू हडतालमा उत्रिए । घमासान संघर्ष भयो । रुसभरि सबैतिर मजदुर सडकमा निस्किए । मजदुर र सैनिकहरू लडाइँमा आए । तर, विभिन्न कमीकमजोरीका कारण संघर्ष तुहियो । अर्को दिनदेखि जारको दमनकारी बुट बज्रिन शुरु भयो । आन्दोलनकारीहरू माथि लुटपाट, मारकाट, जेल र साइबेरिया चलान जस्ता आततायी दमन चल्यो । क्रान्तिकारीहरू निरास र हतास थिए ।

‘आमा’ उपन्यास यस्तै उकुसमुकुस घडीमा छापिएको थियो । एउटा साहित्यिक कृतिमा कति शक्ति हुन सक्छ, ‘आमा’ उपन्यासले देखाइदियो । लेनिनले समेत यस उपन्यासको तारिफ गरेका छन् । उपन्यासले एकाएक क्रान्तिकारीहरूमा ऊर्जा सञ्चार गरेको थियो । संघर्षको विजय कथा सुनाएको थियो । दूर क्षितिजमा देखिने आशाको झुल्के घाम देखाएको थियो । लखतरान भई चौतारीमा सुस्ताएका क्रान्तिकारीहरूलाई उत्साहको लौरो थमाएको थियो । रूसी क्रान्तिकारीहरू ‘आमा’को पथमा अघि लम्के र उनीहरूले अक्टोबर क्रान्तिको उज्यालो किरणले आफ्नो देशलाई सिँचे । उपन्यासले असफल क्रान्तिबाट मजदुर वर्ग कसरी विशाल र रोक्नै नसकिने क्रान्तिको तयारी गर्छन् भन्ने पूर्वाभ्यास देखाएको छ ।

समाजवाद वास्तवमा जिउँदै हुँदाका मृत आत्माको पुनर्जीवन र पुनः उत्थानको सिद्धान्त हो । ‘आमा’ उपन्यास रूसी मजदुर आमाको कथा हो । सामन्तवाद र पुँजीवादको निर्मम पर्खालले घेरिएको छ उनको जीवन । उनको शरीर त जिउँदो छ, तर आत्मा मरिसकेको छ । उनमा जीवनप्रति कुनै लगाव छैन । कुनै रहर, कुनै उल्लास छैन । लोग्नेलाई खाना बनाइदिनु छ । दिनभरि कारखानामा घोटिनु छ । रातमा जँड्याहा लोग्नेको चुटाइ खानु छ । छोराप्रतिको माया मात्र उनको एकमात्र सम्बल हुन्छ, बाँच्नका लागि आशाको मधुरो बत्ती । छोरो पाभेल भूमिगत क्रान्तिकारी गतिविधिमा लाग्छ । अलि–अलि गर्दै आमा उसका विचारहरूबाट प्रभावित हुँदै जान्छिन् । उनको मृत आत्मा फेरि ब्यूँतिन्छ । अब उनको आत्मालाई दुनियाँको कुनै शक्तिले दबाउन सक्दैन । उनी क्रान्तिकारी गतिविधिहरूमा ज्यान फालेर लाग्छिन् । यस्ता हजारौं र लाखौं आमाहरूका कारण पुँजीवाद मरेको थियो रूसमा । र, संसारमा समाजवादी झन्डा फहरिएको थियो । अझ रोमाञ्चक कुरा के छ भने गोर्कीले जुन आमालाई यस उपन्यासमार्फत शब्दमा उतारेका थिए, ती आमा क्रान्तिपछि पनि धेरै वर्षसम्म बाँचिरहिन् ।

जारशाही रूसका मजदुर, किसान र दरिद्र सिपाहीहरू जार, जारका सैन्य जनरल, सामन्त र पुँजीपतिहरूको दोहोरो–तेहेरो शोषणबाट पिल्सिरहेका थिए । मरीमरी मालिकको सेवा ग¥यो, हात लाग्थ्यो शून्य । दिनभरि कलकारखानामा जोतियो, खान पनि नपुग्ने ज्याला पाइन्थ्यो । त्यसमाथि ‘पितातुल्य’ राजाले बेलाबेला करको भारी बढाइरहन्थे । खान पनि पुग्दैनथ्यो । रातरातभर रासनपानीका पसल अगाडि लाइनमा बस्यो, हात पथ्र्यो नाममात्रको रोटी । युद्धमा जानै पथ्र्यो । गयो, ज्यान फाल्नुपथ्र्यो वा रोगी र अंगभंग भई फर्किनुपथ्र्यो । युद्ध रूसी शासकहरूका लागि मेला वा चाडबाड जस्तै थियो । युद्धमा जितेको जमिन जर्नेल, कर्नेलको मौजा बन्थ्यो । उनीहरू मोजमस्ती गर्थे । यता किसानहरू भने छोराहरूले ज्यान फालेर देशमा थपेको धनीमानीका नयाँ मौजा फाँड्न र खनजोत गर्न मै आफ्ना कैयन पुस्ताको ढाड कुप्राउँथे । गोर्कीको बाल्यकाल यही समाजमा बितेको थियो ।

ढाँट–छल, लोभ–लालच, पाखण्ड र त्यसले निम्त्याउने मनुष्यहीनताको रजाइँ चल्ने समाजमा । गोर्कीको सेरोफेरोमा भौतिक सरसाधनको मात्र अभाव थिएन, आत्माको सौन्दर्य पनि गायब थियो । गोर्कीले यो कुरा आफ्नो अनौठो बानीले गर्दा थाह पाए । पढ्ने बानीले । उनले देशदेशावरका असल मानिसका बारेमा पढे । विज्ञान, इतिहास र युरोपेली समाज पढे । रूसी साहित्यको सागरमा चुर्लुम्म डुबे । राम्राराम्रा कथा, कविता र उपन्यास पढे । तर, गोर्कीको परिवेश पनि कुनै कथाभन्दा कम रोचक थिएन । त्यहाँ चोर, ठग, लोभीपापी, जँड्याहा, वेश्या जस्ता समाजको पिँधमा सर्वाधिक पेलान र चेपानमा पर्ने मानिसहरू थिए । गोर्की तिनका मनोदशासँग किशोर वयमै परिचित भए । त्यसैकारण उनी यो उपन्यास लेख्न सफल भए ।

समाजवादी क्रान्तिको दिशानिर्देशको रूपमा ‘आमा’ उपन्यासलाई लिन सकिन्छ । ‘आमा’को बाटो नै जीवन संग्रामको बाटो हो मेहेनतकश मजदुरवर्गका लागि । समाजवाद मानव जातिको मुक्तिपथ हो । समाजवाद क्रान्तिको गोरेटो हो । वास्तवमा मजदुर वर्ग नै क्रान्तिको वास्तविक संवाहक हो, उत्प्रेरक हो र पहलकर्ता हो । मजदुरवर्गका लागि अरुले क्रान्ति गरिदिँदैनन् भन्ने सच्चाइलाई यो उपन्यासमा सटिकरुपमा देखाइएको छ । क्रान्तिले चेतना दिन्छ, खराब मानिसलाई पनि असल मार्गमा लाग्ने प्रेरणा दिन्छ । माक्र्सवादको आलोकमा समाजवादी÷साम्यवादी सपनालाई साकार तुल्याउन सम्पूर्ण सामाजिक, राजनीतिक र आर्थिक क्रान्ति गर्न जरुरी छ भन्नेमा विश्वास गर्छन् कम्युनिष्टहरु । माक्र्सले संसारको व्याख्या गर्ने मात्र होइन, परिवर्तन गर्ने ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी दर्शनको वकालत गरेका छन् ।

वैज्ञानिक समाजवाद आजसम्मका राज्यव्यवस्था मध्ये सबैभन्दा उत्तम एवम् मानव–हितकारी विशेषताहरू भएको राज्यव्यवस्था मानिन्छ । वैज्ञानिक समाजवाद पुँजीवादी उत्पादन सम्बन्ध एवम् राज्यव्यवस्थाले समाजमा पैदा गरेका वर्गअन्तर्विरोध, शोषण, उत्पीडनका साथै दमनलाई समाधान दिनका लागि अनुसन्धान गरिएको व्यवस्था हो । यसले समाजवाद–साम्यवादका राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिक सम्बन्धहरूको निर्माण र विकास गर्दछ । नयाँ समाजवादी सम्बन्धहरूद्वारा आजसम्म विद्यमान वर्ग, जाति, धर्मबीचका अन्तर्विरोधहरूलाई समाधान गर्दछ । वास्तवमा माक्र्सवाद भनेको समाजको व्याख्या र विश्लेषण मात्र गर्ने शास्त्र होइन, यो त जीवनदर्शन र शैली पनि हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here