पार्थ मण्डल,झापा।

अंगदान सम्वन्धी संकुचित कानूनी प्रावधान खुकुलो बनाइएको छ । परिवारका सदस्यले मात्र अंग दान गर्न पाउने कानूनी व्यवस्था भित्रको पारिवारिक नाताको दायरालाई सर्वोच्च अदालतको फैसलाले खुकुलो बनाएको हो । सर्वोच्च अदालतले दुवै मृगौला पीडित भद्रपुर नगरपालिका–१०की गीता भण्डारीको पक्षमा फैसला सुनाएको हो ।
नेपालको कानून बाधक बनेपछि स्वदेशमै मृगौला प्रत्यारोपण गर्न नपाएर श्रीमती गीतालाई लिएर भारतको दिल्ली पुगेका श्रीमान् देवीचरण भण्डारीले कानून व्यवसायीसँग सल्लाह गरी साउन २६ गते सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका थिए ।
देशमा मृगौला प्रत्यारोपणका लागि बनाइएको कानूनले काका ससुराले मृगौला दिन पाउने व्यवस्था नराखेपछि देवीचरणको तर्फ अधिवक्ता टीकाराम भट्टराईले सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।
सर्वोच्चका न्यायाधीशद्वय डा. कुमार चुडाल र दीपककुमार कार्कीको संयुक्त इजलासले भदौ १३ गते रिट निवेदकको पक्षमा फैसला सुनाएको हो । फैसलाको पूर्ण पाठ एक हप्तापछि आउने जनाइएको छ ।
श्रीमती गीतालाई लिएर दिल्ली पुगेका देवीचरणले त्यहीँबाटै फेसबुक स्टटसमा लेख्दै भनेका छन्– ‘ढिलै भए पनि अदालतबाट न्याय मिलेको छ, यो फैसलाको उपभोग हामीले गर्न नपाए पनि हामी जस्तो दुःख, कष्ट पीडा र तनाव अरूले भोग्न नपर्ने भएको छ ।’ गीता पेशाले वीरेन्द्र उमाविकी शिक्षक हुन् भने उनका श्रीमान् देवीचरण निजामति कर्मचारी हुन् ।
कानूनी अड्चनका कारण स्वदेशमै श्रीमतीको मृगौला प्रत्यारोपण गर्न नपाएको कुरा उनले फेसबुकबाटै सार्वजनिक गरेपछि भद्रपुरका वरिष्ठ अधिवक्ता लेखनाथ निरौला उनका परिवारजन भेट्न घर पुगेका थिए । उनले न्यायका लागि मुद्दा हाल्ने विषयमा वरिष्ठ अधिवक्ता निरौलासँग सरसल्लाह गरे । त्यसपछि उनको सबै जिम्मा लिएर अधिवक्ता निरौला काठमाडौँ गए । काठमाडौँ गएर अधिवक्ता निरौलाले त्यहाँका कानून व्यवसायीसँग छलफल गरे । अधिवक्ता निरौलाकै आग्रहमा अन्ततः वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई देवीचरणको तर्फबाट मुद्दा लड्ने तयार भए ।
मुद्दा लड्नका लागि अस्पतालको कागजात आवश्यक पर्ने भयो । ‘शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरबाट मृगौला प्रत्यारोपण गर्न नमिल्ने कारणसहितको पत्र लिन अस्पताल प्रशासन पक्षसँग निक्कै रस्साकस्सी भयो’– उनले फेसबुकमा लेखेका छन्– ‘निक्कै रस्साकस्सीपछि अस्पतालले अन्ततः कानूनी अड्चन भएको कारणसहितको पत्र हामीलाई उपलब्ध गरायो ।’ ‘त्यसपछि अधिवक्ता भट्टराईले हाम्रो पक्षबाट मुद्दा लड्नु भयो, यस्तो पीडा र तनावकाबीच कानूनी उपचारको प्रयास र पहल गरिदिनु हुने अधिवक्ता निरौला र भट्टराईप्रति कृतज्ञ छु’– उनले भने ।
आठ वर्षअघि गीताको दुवै मृगौलामा समस्या देखा परेको थियो । भद्रपुरको ओम साई पाथीभरा अस्पतालमा हेमोडाइलासिस गराइरहेकी गीता भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मृगौला प्रत्यारोपणको तयारीमा थिइन् । प्रत्यारोपणका लागि उनलाई काका ससुरा नेत्रप्रसाद भण्डारीले एउटा मृगौला प्रदान गर्ने निधो भएको थियो ।
काका ससुराले मृगौला दान गर्न नमिल्ने कानूनी व्यवस्था नरहेको अस्पतालले अन्तिम समयमा आएर जानकारी गराएपछि परिवारमा थप बज्रपात परेको थियो । नेपालमा मृगौला प्रत्यारोपण गर्न नमिल्ने भएपछि देवीचरण श्रीमती र काका ससुरालाई लिएर भदौ १४ गते भारतको दिल्ली गएका छन् । दिल्लीस्थित फोर्टिस अस्पताल नोएडामा श्रीमतीको मृगौला प्रत्यारोपण गर्ने तयारी भइरहेको उनले जनाए ।
यता मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन–२०५५ अनुसार मृगौला ग्रहण गर्ने व्यक्तिले उनका नातामा काकाले दान गर्न पाउने उल्लेख भए पनि काका ससुराले दिन पाउने व्यवस्था छैन । ऐनमा परिवारका सदस्य र नजिकका नातेदारले अङ्ग दान गर्न पाउने व्यवस्था छ । जस अनुसार परिवारका सदस्य भन्नाले पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, धर्मपुत्र, धर्मपुत्री, दाजु, भाइ, दिदी, बहिनी, बाजे, बज्यै, नाति, नातिनी, सासू र ससुरा उल्लेख छ ।
यसैगरी नजिकको नातेदार भन्दै पति, पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, धर्मपुत्र वा धर्मपुत्री राख्ने बाबु आमा, सौतेनी बाबु, सौतेनी आमा, बाजे, बज्यै, नाति, नातिनी, दाजु, भाइ, दिदी, बहिनी, ठूलोबुबा, ठूलीआमा, काका, काकी, सानो बाबु, सानी आमा, भतिजा, भतिजी, सासू, ससुरा, जेठाजु, जेठानी, देउरानी, नन्द, देवर, भाउजू, बुहारी, मामा, माइजू, भान्जा, भान्जी, साला, साली, फुपू, फुपाजु, आमाजू, भदा, भदै, भिनाजु, ज्वाइँ र जेठानले मृगौला दान गर्न पाउने व्यवस्था छ ।
ऐनलाई केही खुकुलो बनाउँदै २०७३ सालमा संशोधन गरिएको थियो । जसमा नजिकको नातेदार दुई परिवारमा मानव अङ्ग प्रत्यारोपणका लागि सट्टा गर्न पाउने समेत व्यवस्था गरेको उल्लेख छ ।




























