स्रष्टा काजीको ‘राजनीतिक उगाल’

0
938

आधा शताब्दी अघिदेखि निरन्तर कलम र कागजसँग रमाउँदै विभिन्न विधामा उत्कृष्ट रचना प्रस्तुत गर्नुहुने नकुल काजीको फरक शैलीको हास्य व्यंग्य उपन्यास सार्वजनिक भएको छ ।

दुई दर्जन पुस्तकाकार कृतिहरू प्रकाशित गरेर नेपाली साहित्य भण्डारमा उन्नत शब्द, शैली र भाषिक सीपको आह्रिसलाग्दो साहित्य सीप प्रस्तुतिसँगै पत्रकारिताका गुरु काजीबाट ग्रामीण भेगमा बोलिने ठेट शब्द संयोजन गरिएको ‘राजनीतिक उगाल’ नामक हाँस्य व्यंग्य उपन्यास, उपन्यास विधाकै लागि पृथक विम्बका रूपमा प्रस्तुत छ ।

छोटो टिप्पणी

नेपाली भाषाभित्र पनि लेखिने र बोलिने लेख्य र कथ्यको फरकपनलाई उपन्यासले उजागर गरिदिएको छ । सजिलै बुझिने र बोल्दा सजिलो जस्तो लाग्ने, लेख्दा कठिन हुने र पढ्न पनि त्यस्तै अकरिलो ढंगले पढ्नुपर्ने हाँस्य व्यंग्यात्मक उपन्यास आफंैमा नौलो प्रयोग पनि हो भन्ने मलाई लाग्छ । हाँस्यव्यंग्य विधामा काजीले सञ्चारकर्मीका रूपमा उहाँ आफंैले प्रकाशन गरेका पत्रपत्रिकामा निरन्तर लेख्दै आउनुभएको छ । कृतिको नाममा जोडिएको “उगाल” शब्दले नै स्वाद बिग्रिएको भन्ने बोध गराउँछ ।

उगालको नेपाली अर्थ नै धातुहरूको भाँडामा अमिलो आदि परेर निस्कने तमतमाउँदो स्वाद भन्ने हुन्छ, जसले अमिलो परेको भाँडोमा स्वरूप बिगार्ने गरी दाग लगाउँछ पनि । नेपालको राजनीति अहिले यस्तै तमतमाइलो पाराले चलेको छ । उपन्यासकार भनौं वा हाँस्य व्यंग्यकार भनौं अथवा बहुविधामा उत्तिकै सरस कलम चलाउने काजीले उपस्थापित गर्नुभएका पात्रहरूको माध्यमबाट ठेट लोकभाषाको प्रयोगबाट हाँस्य र त्यस्तै राजनीतिलाई व्यंग्य गर्नुभएको छ ।

आजीवन कलमको हलोले कागजी खेत जोतेर पत्रकारिता र साहित्यको बीऊ रोपण गर्दै प्रजातान्त्रिक बाली भित्र्याउन दत्तचित्त काजीको यो उपन्यासमा १२ खण्ड छ । यस उपन्यासको अर्को महत्वपूर्ण पक्ष भनेको २०७८ साल जेठ महिनाभरिको राजनीतिक ऊहापोहका घटनाक्रम अर्थात् एक महिनाको आधारमा लेखिएको भनेर लेखक काजीले नै उजागर गर्नुभएको छ ।

आफ्नो हित र फाइदाका लागि जस्तोसुकै तुच्छ व्यवहार गर्न पनि पछि नपर्ने राजनीतिक नेतृत्वले संसदीय प्रणालीलाई नै दुष्कर साबित गर्ने दुष्कर्म चलेको अहिलेको अवस्थालाई उपन्यासले रोचक र घोचक प्रहार गरेको कृतिको संक्षिप्त भूमिकामा अग्रज पत्रकार राजबाबु शंकरले लेख्नुभएको छ ।

कृतिका बारेमा धेरै लेख्न पढ्नै पर्ने हुन्छ । थोरै पढेर पनि धेरै बुझ्नलाई प्रस्तुत कृतिको अघिल्लो अंगमा उल्लेख राजबाबु शंकरको ‘व्यंग्य मुद्दा’ र कृति लेखकको ‘लेखकीय’ पढे मात्र पनि धेरै कुरा बुझ्न सकिने मेरो ठम्याइ छ ।

(प्रस्तोता गिरी भद्रपुरस्थित नागरिक एफएमका समाचार सम्पादक तथा साप्ताहिक समाचारका प्रधानसम्पादक हुन् ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here