बढ्दो परनिर्भरता

२० भाद्र २०७८, आईतवार मा प्रकाशित

कृषिप्रधान भएर पनि हाम्रो खाद्यवस्तुमाथिको परनिर्भरता वर्षेनि बढ्दै गएको छ । यस्तो परनिर्भरताले न हाम्रो कृषि प्रधानता जोगिन्छ न त जीवनस्तर नै उठ्न सक्छ । खाद्यान्नदेखि दलहन र तेलहन उत्पादन निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्ने परम्परालाई यथावत राख्न नसक्दा हाम्रो अर्थतन्त्र पनि निरन्तर ओरालो लाग्न थालेको छ । प्राचीनकालमै भारतदेखि तिब्बतसम्म व्यापार विस्तार गरेको नेपालले कृषि प्रणालीमा व्यापक परिवर्तन आइसक्दा, उद्योग वाणिज्य क्षेत्रमा आधुनिकता भित्रिइसक्दा वैदेशिक व्यापारमा ठूलो फड्को मार्नु पर्ने हो । तर, सरकारी तथ्याङ्कले हाम्रो व्यापार घाटा बर्षेनि बढ्दो क्रममा रहेको देखाएको छ, जुन प्रतिव्यक्ति आय र राष्ट्रिय हित विपरीत छ ।

देशको पूर्वी नाका काँकरभिट्टास्थित क्वारेन्टिन कार्यालयले दिएको तथ्याङ्कमा आयातको ग्राफ उकालो लागेको उल्लेख छ । बंगलादेशमा सर्वाधिक माग भएको मुसुरो दाल नेपालले माग अनुसार निर्यात गर्न सकेको छैन । विदेशी मुद्रा आर्जन गर्ने भरपर्दो निर्यात वस्तु कृषि उपज नै हुन् । अन्न, फलफूल, तेलजन्य, दालजन्य, मसलाजन्य वस्तु बाहेक अम्लिसो र जडिबुटीजन्य वस्तु निर्यात गरेर आत्मनिर्भर बन्दै जानुपर्नेमा उत्पादन कम भएर निर्यात नै घट्नुले उत्पादन, वितरण र बजार सम्बन्धी राष्ट्रिय नीति र योजना नै असफल भएको पुष्टि हुन्छ । पछिल्लो समय नेपालीको खाद्य शैलीमा समेत परिवर्तन आएको छ । अरूको नक्कल गर्ने प्रवृत्तिले परम्परागत जीवन शैलीमा पनि परिवर्तन आएको छ । यसले ‘उत्तम खेती’ भन्ने मान्यतालाई समेत बदलेको छ । परिणाम स्वरूप हाम्रा स्वस्थ जीवन सञ्चार नै असुरक्षित बन्दै गएको छ ।

कृषिवस्तुको आयात निर्यातमा जिम्मेवार भूमिका निर्वाह गर्ने क्वारेन्टिन कार्यालय काँकरभिट्टाले यो नाका भएर नेपाल भित्रिने फलफूलको परिमाण पनि बर्षेनि बढ्दै गएको उल्लेख गरेको छ । गत आर्थिक वर्षमा मात्रै तेत्तीस करोडको फलफूल भित्रिएको सो कार्यालयका प्रमुख देवीन्द्र साहुले जानकारी दिएका छन् । उत्पादन अनुकूल माटो, हावापानी र भूगोल भएर पनि मेवा, खरबुजा, केरा, कागती, अम्बा, नरिवल, बयर, नास्पती, मौसमी लगायतका फलफूलको आयातमा बाहिरिने नेपाली मुद्राले राष्ट्रको समग्र विकासमा असर नै पार्छ । अझ स्याउ, अनार, भुइँकटहर जस्ता फलफूलको आयात प्रत्येक वर्ष बढ्दै गएकाले आयात निर्यातका बीच सन्तुलन झनै बढ्ने निश्चित छ । यस्तोमा विदेश पलायनको मानसिकतामा परिवर्तन ल्याउन राज्यले विशेष कार्यक्रम ल्याउनुपर्छ । सक्षम तथा सक्रिय जनशक्तिलाई स्वदेशमै आकर्षित गर्ने प्रभावकारी योजना मार्फत कृषि कर्मप्रति विश्वास गर्ने वातावरण बनाउनुपर्छ । उत्पादित वस्तुको बजारीकरण र कृषकको सुदूर भविष्यको सुनिश्चितता कार्यक्रममै समेटिनुपर्छ पर्छ । अन्यथा परनिर्भरता बढेर हाम्रो स्वतन्त्र अस्तित्व र पहिचान जोगाउन सकिने छैन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here