माओवादी केन्द्रले जनतासँग टुटेको सारंगीको तार फेरि जोड्न सक्छ ?

0
615

२०५२ सालको माघ महिनामा नेकपा माओवादी समर्थित जनमोर्चाको तर्फबाट डा. बाबुराम भट्टराईले ततकालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० बुँदे माग प्रस्तुत गरेका थिए । भट्टराईले पेश गरेका माग पूरा गर्न सक्ने अवस्थामा देउवा थिएनन् । २०५२ फागुन १ बाट आफूले बुझाएका ४० बुँदे मागकै आडमा माओवादीले जनयुद्ध शरु ग¥यो । युद्ध १० वर्षपछि रोकियो, युद्धमा झण्डै १७ हजार नेपालीले ज्यान गुमाए । युद्ध रोकेर शान्ति प्रक्रियामा आएपछि निर्वाचनबाट माओवादी दुईपटक सत्तामा पुग्यो । दुईपटक पार्टी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भए र अर्कोपटक डा. बाबुराम भट्टराईले सरकारको नेतृत्व गरे ।

२०५२ सालमा बुझाएका ४० बुँदे मागमा कतिपय यस्ता माग पनि रहे जसलाई आफू सत्तामा हुँदा माओवादीले पूरा नगरेको मात्र होइन आफैंले लत्याएर हिँड्यो । माओवादी नेतृत्वमा यस्तो रंगफेराइ कसरी भयो ? जनसंघर्ष, जनान्दोलन र जनयुद्धको थालनी गरी सञ्चालन गर्न र त्यसलाई निष्कर्षमा पु¥याउन पार्टी नेतृत्व, कार्यकर्ता र जनताका वीचमा बलियो सम्बन्ध हुनुपर्छ । जनशैली भनेको जनतासँग घुलनशील हुने शैली हो । जनतासँग घुलमिल हुन सकेमा मात्र जनसंघर्ष, जनान्दोलन र जनयुद्धका उपलब्धिलाई संस्थागत गर्न सकिन्छ । तत्कालीन नेकपा (माओवादी) र सात वटा संसदवादी दलहरुबीच २०६२ सालमा भारतको संस्थापन पक्षको साथ र समर्थनमा नयाँ दिल्लीमा सम्पन्न १२ बँुदे सहमतिको आधारमा दशवर्षे जनयुद्धको आडमा भएको १९ दिने जनान्दोलनले ल्याएको परिवर्तनलाई संस्थागत गर्न जनचाहनाको संविधान निर्माण गर्ने मुख्य उद्देश्यका साथ २०६४ साल चैत्र २८ गते संविधानसभाको चुनाव सम्पन्न भएको थियो ।

तत्कालीन एमाओवादी सबैभन्दा ठूलो शक्तिको रुपमा नेपाली राजनीतिक आकाशमा उदाएको थियो । तर मओवादीको बहुमत भएको संविधानसभाले जनअपेक्षा अनुरुप सफलता दिन सकेन र पटक–पटक म्याद थप्दा पनि संविधान बनाउन नसकी छ वर्ष गुजारेर संविधानसभाको विघटन गरियो । अर्को संविधानसभाको निर्वाचन २०७० सालको मंसीर ४ मा भयो । संविधानसभाका लागि १५औं हजारको शहादतबाट निर्मित संविधानसभाको चुनावको परिणाम तत्कालीन एकीकृत माओवादीको लागि अप्रत्याशित थियो । कुनै पनि पूर्व समूहको निरन्तरता नभएर एकता र ध्रुबीकरणको बीचबाट विकसित कम्युनिष्ट क्रान्तिकारीहरुको मूलधार भएको दाबी गर्ने माओवादी पार्टी आज आधा दर्जनभन्दा बढी टुक्रामा विभक्त छ ।

त्याग, तपस्या र बलिदानको उच्च स्पीरिटसहित माओवादी पार्टी विकसित भएको कुरा साँचो हो । जनअपेक्षा अनुसारको संविधान निर्माण गर्ने र लामो समयदेखि व्याप्त रहेको संक्रमणकालको अन्त्य गरी देशलाई लोकतान्त्रिक धारमा हिँडाउने आजको मूल कार्यभार हो । तर, १५औं हजार शहीदको बलिदान, छ हजार बढी बेपत्ताको योगदान, सयौं घाइते योद्धाहरुको कष्ट, लाखौं कार्यकर्ताको लगानी र करोडौं जनताहरुको साथ र समर्थनको आधारमा विकसित नयाँ परिस्थितिलाई व्यक्तिगत लोभलालच र महत्वकांक्षासँग सौदाबाजी गरेर विश्व कम्युनिष्ट आन्दोलनमै अनुपम उदाहरण प्रस्तुत गर्ने उचाइमा पुगेको क्रान्तिको उभारलाई बरफ खन्याएर नेपाली जनताप्रति विश्वासघात भएको आजको टर्रो यथार्थ हो ।

जनताको द¥हो समर्थनबिना कुनै पनि देश र समाजका परिवर्तनका मुद्दाहरु अघि बढ्न सक्दैनन् । जनयुद्ध, जनान्दोलन, शान्ति प्रक्रिया र संविधानसभाको निर्वाचन हुँदै अघि बढ्ने क्रममा १५औं हजार शहीदको रगतको के मूल्य भयो भन्नुपर्ने अवस्था आज सृजना भएको छ । बलिदान खेर गएको होइन भनेर दाबा गरे त्यो दावा फिक्का हुन्छ । त्यति ठूलो बलिदानको पृष्ठभूमिमा भन्न सकिन्छ– समर्थक, शुभचिन्तक सर्वसाधारण जनताको ठूलो आशामाथि वञ्चरो प्रहार भएको छ ।

पार्टीका पेचकिलाहरु खुकुलो बनाएर पार्टीको शक्ति र प्रभावलाई दुरुपयोग गरी व्यक्तिगत लाभका लागि भजाउने प्रवृत्ति प्रभावी हुँदै गएको कारण जनतामा माओवादीप्रति निराशा जन्मेको हो । जनअपेक्षा विपरीत क्रियाकलापकै कारण जनसमर्थन ओइलाउन थालेको हो । पार्टीका नीति तथा कार्यक्रमहरु केन्द्रदेखि तल जाँदै गर्दा बाटैमा अलपत्र परेर लोप हुने तीतो परिस्थिति देखापर्नु माओवादी केन्द्रका लागि सामान्य विषय बनेको छ यतिबेला । जनयुद्धकालमा पार्टीका हरेक निर्णय ठीक भए पनि बेठीक भए पनि लागू हुन्थे, तर आज अवस्था त्यो रहेन । पार्टीका समर्थक शुभचिन्तकहरुमा घोर निराशा उत्पन्न भएको छ र पार्टीमा गुटबन्दी मौलाएको छ भनेर उभिन सक्ने कार्यकर्ता पार्टीभित्र कम हुँदै जानु माओवादीका लागि सबभन्दा दुःखद् स्थिति हो ।

जनयुद्ध र जनआन्दोलनमा बलिदान गर्नेहरुका परिवारहरु आज खुशी छन् ? युद्धमा घाइते भएकाहरु आजको अवस्थादेखि सन्तुष्ट छन् ? १५औं हजार शहीदको बलिदानको मूल्य खोइ ? उनीहरु कसका लागि र केका लागि शहादत प्राप्त गरेका थिए ? उनीहरुको सपनाको गरिमा के रह्यो अब ? जनतासँगका जीवन्त सम्पर्कका तारहरुलाई चुँडालेर पार्टी नेतृत्व नित्यनिरन्तर अभिमान गर्छ भने समाजमा भएका अन्याय र विभेदका घटनालाई नजरअन्दाज गर्छ भने खुल्ला मोर्चाबाट आएका पार्टीका नेता कार्यकर्ताहरु पनि तार चुँडालेर फुक्का हुन सक्छन् । कम्तीमा पनि धागो चुँडालेर विकल्पका सम्बन्धमा मन्थन गर्न सक्छन् ।

विवेकलाई बन्दकी नराखी पार्टीको आधार बनेर, समाजका विविध कोणबाट उठेका सुन्नै नसकिने र पचाउनै नसकिने आरोपहरुलाई पनि आँशुसँगै निलेर भए पनि पार्टीका लागि क्रियाशील हुने नेताकार्यकर्ताहरुले पार्टीका लागि थोरै भए पनि योगदान गरेका थिए । तर, तिनीहरु आज पार्टीको मूलधारबाट धेरै टाढा छन् । माओवादी नेतृत्वप्रति सबैभन्दा बढी आरोप छ– जनताका सपनामाथि किन बरफ खन्याइयो ? नेपाल आमाका सर्वोत्तम सन्तानहरु जसले आफ्नो रातो र तातो रगत मातृभूमिको मुक्ति र जनताको स्वतन्त्रताका लागि बगाएका थिए, आज उनीहरुको सपना फगत पानी बनाइएको छ ।

जनता बिनाको पार्टी हुँदैन । जनतासँग विच्छेदन गरेर पार्टी जीवन्त हुन सक्दैन, जसरी टुटेको तार भएको सारंगीबाट संगीत निकाल्न सकिन्न । तर, माओवादी केन्द्रले टुटेको सारंगीको तार जोडेपछि मात्र सुमधुर संगीत निकाल्न सकिन्छ भन्ने सच्चाइलाई आत्मसात गर्छ ? जनतासँग अन्तरघुलित हुने, जनतासँग जाने, जनताको आक्रोश सुन्ने, जनताको कठोर आलोचना सुन्ने र आफूलाई सच्याउँदै अघि बढ्ने योजनाका साथ जनसम्बन्ध सुदृढ गर्ने र जनतालाई झकझकाएर रक्त नलीहरु चुस्त बनाएर पार्टी र जनताबीचको सम्बन्धलाई नियमित बनाउन माओवादी नेतृत्व अघि सर्छ ? यसमा कम विश्वास गर्न सकिन्छ । आश र त्रास भएपछि कार्यकर्ता बोल्दैनन् । वायरिङका विच्छेद भएका तारहरु जोडेर घरमा करेण्ट प्रवाहित भए झैं जनताको सुख–दुःखको कुरा पार्टीले सुन्छ र जनताले पार्टीको संरक्षण गर्छन् भन्ने सच्चाइलाई बुझ्न आवश्यक छ ।

स्वार्थ र अहम्ले वशिभूत भएका नेताहरुले यो कुरा बुझ्न गाह्रो छ । इतिहासको कालखण्डमा माओवादी आन्दोलनको अति विशिष्ट योगदान रहेको कुरालाई कसैले छोपेर छोप्न सक्दैन, तर त्यसकै भजन गाएर र त्यसकै महिमामण्डित गरेर अब मुलुक अघि बढ्दैन । निरंकुश राजतन्त्रको अन्त्यको प्रमुख आधार माओवादीको जनमुक्ति सेना र जनताको परिवर्तन प्रतिको उत्कट चाहना नै हो । जनताको आँशु, पसिना र रगतबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र त्यसको संस्थागत विकास आजको मूल कार्यभार हो । एउटा हातले ताली बज्दैन, एकातिरबाट निरन्तर तार टुटाउने र अर्को पक्षले जोड्ने गरेर समस्याको समाधान हुँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here