दाजुको हत्या गरेको आरोपमा रतनलाल पक्राउ

0
801

झापा,

दाजुलाई मार्तल प्रहार गरी हत्या गरेको आरोपमा कचनकवल गाउँपालिका-३ का ३७ वर्षीय रतनलाल राजवंशी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाका अनुसार रतनलाललाई आइतबार राति मेचीनगर नगरपालिका-१५ ज्यामिरगढीमा आफन्तको घरबाट पक्राउ गरेको हो।

घरायसी विवादको क्रममा रतनलालले आफ्नै दाजु ५० वर्षीय भाद्रु राजवंशीलाई शनिवार राति कुटपिटपछि मार्तल प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ। भाद्रु पेसाले अटो चालक थियो। उनी बिर्तामोड नगरपालिका-४ स्थित लिटल फ्लावर्स स्कुल छेउमा डेरा गरी बस्दै आएका थिए। उनको त्यही डेरामा हत्या भएको थियो।

मृतकका छोरा १५ वर्षीय देवनारायणले काकाले बुबाको हत्या गरेको प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी टोली दिनभर रतनलालको खोजी कार्यमा जुटेको थियो। ‘शनिवार मध्य राति दाजुभाइबीच सामान्य विवाद भएको रहेछ,’ डिएसपी थापाले भने, ‘सोही क्रममा रतनलालले मार्तल प्रहरी गरी दाइको हत्या गरेको स्वीकार गरिसकेको छ।’

मार्तलसहित पक्राउ परेका रतनलाललाई इलाका प्रहरी कार्यालय अनारमनिमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। आजै झापा जिल्ला अदालतबाट कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गराई कारबाही प्रक्रिया अघि बढाउने जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here