तस्करीको नयाँ शैली : डिजेल तस्करी गर्न ट्रकमा छुट्टै ट्यांकी जडान

1
307

झापा,

कोरोना महामारीको बेला झापास्थित नेपाल–भारत सीमा नाकाबाट पेट्रोलियम पदार्थको तस्करी नयाँ शैलीबाट हुने गरेको पाइएको छ। भारतबाट नेपाल आउने मालवाहक सवारीसाधनले छुट्टै टयांकी जडान गरी नेपालबाट पेट्रोलियम पदार्थ भारत लैजाने गरेको घटना सार्वजनिक भएको हो।

काँकडभिट्टा नाकाबाट सोमबार बिहान ९ बजे नेपाली वस्तु ढुवानीका लागि भारतीय नम्बर प्लेटको डब्लुबी ७४ डी २४४१ नम्बरको खाली मिनी ट्रक नेपाल प्रवेश गरेको थियो। त्यसपछि उक्त मिनी ट्रक सोझै धुलाबारीतर्फ लाग्यो। ट्रकले छुट्टै डिजेलको टयांकी जडान गरेको कसैले सुइँको समेत पाएन।

धुलाबारीबाट सामान लोड नगरी त्यतिकै फर्किएका उक्त ट्रकका चालक पश्चिम बंगाल दार्जिलिङ जिल्ला नक्सालबारीको रथ खोलाका ३० वर्षीय विकास दास र सह–चालक सोही ठाउँका ३४ वर्षीय सुजल साहाले मेचीनगर नगरपालिका–६ स्थित पूर्वाञ्चल पेट्रोल पम्पबाट ट्रकमा ५५० लिटर डिजेल हाले।

डिजेल ट्रकमा रहेको डिजेल टयांकीमा नहाली छुट्टै जडान गरिएको टयांकीमा हाल्न लगाए। डिजेल हालेर पुनः काँकडभिट्टा नाकाबाट भारत जान लागेको ट्रकलाई विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले सोमबार दिउँसो २ बजे मेची पुल नजिकै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

डिएसपी थापाले भने‚ ‘नियन्त्रणमा लिएर ट्रकलाई चेकजाँच गर्दा ट्रकमा एउटा छुट्टै टयांकी जडान गरिएको र उक्त टयांकीमा ५५० लिटर डिजेल बरामद गरियो।’ यता ट्रकसहित चालक र सहचालकलाई सात लाख रुपैयाँ मूल्यांकन तोकेर सोमबार नै मेची भन्सार कार्यालय बुझाइसकेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी सुनिल दाहालले जानकारी दिए।

‘काँकडभिट्टा सीमा नाका पेट्रोलियम पदार्थको यस्तो धन्दा भइरहेको थाहा थिएन,’ डिएसपी दाहालले भने‚ ‘गाडी नियन्त्रणमा लिएपछि घटना बाहिरियो, अब भारतबाट आउने सबै सवारीसाधनमाथि प्रहरीले उच्च निगरानी बढाउनेछ।’

पश्चिम बंगालमा डिजेलको मूल्य भारतीय ९१ रुपैयाँ ७१ पैसा अर्थात् नेपाली १४६ रुपैयाँ ७३ पैसा पर्छ। झापामा डिजेलको मूल्य १११ रुपैयाँ ५० पैसा पर्छ। पश्चिम बंगालभन्दा झापामा डिजेलको मूल्य ३५ रुपैयाँ ३१ पैसा सस्तो छ। ट्रक चालकले ५५० लिटर डिजेल भारत लगे बापत १९ हजार ३७९ रुपैयाँ कमाउँथे।

1 COMMENT

  1. यसमा नेपाल कै ब्यापार फस्टाउने हो बिक्री बड्छ
    (हिजो अस्ति सम्म लाइन मिलि राकै थ्यो होला)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here