कुशेऔंशी र बुवाको मुख हेर्ने दिन

२२ भाद्र २०७८, मंगलवार मा प्रकाशित

आज भाद्र कृष्णपक्षको अमावश्या तिथि, आजको दिनलाई कुशे औंशी भनेर भनिन्छ । यसैगरी आजको दिनलाई पितृऔंशी पर्वको रुपमा पनि मानिन्छ । आजको दिनमा सन्तानहरुले आफ्ना पिताको मुख हेर्दछन् । वैदिक परम्परामा पिता, माता, गुरु र अतिथिलाई जीवित देवता मानिएको छ । संसारको सृष्टिक्रममा पनि आमाले सन्तानलाई जन्मदिने लालनपालन गरेर हुर्काउने र पिताले शिक्षा दिक्षा दिएर योग्ग बनाउने हुँदा सन्तानले पनि आफ्ना जन्मदाता मातापिताको आदरसत्कार सेवासुश्रुषा विशेष पर्वको रुपमा मान्नुनै पर्ने हुन्छ । जीवित छउञ्जेल सेवा, सत्कार नगर्ने सन्तानले तीनको श्राद्ध गर्नु कुनै अर्थ रहँदैन । जीवित माता पिताको सेवा गरेमा मात्र मातृपितृ ऋण तिर्न सकिन्छ ।

यसैकारण पितृऔशीमा पिताको मुख हेर्ने चलन चलेको छ । आजको दिनमा मिठा–मिठा खाद्यपरिकार र मिष्ठान्न एवम् उपहारहरु पितालाई अर्पण गर्ने गरिन्छ । टाढा–टाढा रहेका सन्तानहरु आफ्ना पितालाई भेट्न आजको दिनमा आउने गर्दछन् । आफ्ना बुबा नहुने सन्तानहरु पितृ स्मरणमा आज बिहानै पवित्र नदीनालामा गएर स्नान गरी पिताको नाममा श्राद्ध गरी पिण्ड दान गर्दछन् । विरिञ्चिना सहोत्पन्नः परमेष्ठी निसर्गतः। नुद सर्वाणि पापानि दर्भ स्वस्तिकरो भव ।। उपरोक्त श्लोक कुश काट्ने मन्त्र हो । कुनै पनि पूजा, विवाह, व्रतवन्ध, आशौच, सुतक आदिमा कुशको प्रयोग गरिएको सर्वविदितै छ । धार्मिक क्षेत्रलाई कुशको प्रयोग गरिएको सर्वविदितै छ । धार्मिक क्षेत्रमा सुनको सट्टा कुशको प्रयोग गरिन्छ । धार्मिक कार्यमा सुनलाई आवश्यक मानिन्छ सुनपानी चलाइन्छ । तर, सुनको अभावमा कुश पानीबाट पवित्र पार्ने चलन रहेको छ । धार्मिक अनुष्ठानमा सुनको बदलामा कुशको आंैठी तथा कुशासनको प्रयोग गरिन्छ ।

कुशको उत्पत्ति बारेमा एउटा आख्यान रहेको छ । महाभारतको भीषण युद्ध समाप्त भइसकेको थियो । युद्धभूमिमा जताततै रगतको आहाल टाटोले भरिएको थियो । वीर गति प्राप्त गरेका सैन्यहरुका अङ्गहरु छिन्नभिन्न भएका जताततै छरिएका थिए । माता गान्धारी आफ्ना छोराहरुको मृत्युको कारण श्रीकृष्ण नै भएको ठहर गरी बलिन्द्रधारा आँशु बगाउँदै श्रीकृष्णलाई जसरी कुरु बंशको नाश भयो त्यसरी नै यदुवंशको पनि नाश होस्, यदुवंशी कृष्णलाई शीला, वृक्ष, बुटा र घाँस हुनु परोस् भन्दै श्राप दिइन् । माता गान्धारीको त्यही श्रापको प्रभावले कृष्णले शालीग्राम, पिलल, तुलसी र कुशको पूजा हँुदै आएको हो भन्ने मानिन्छ । दर्भो य औषधीस्तं ते बध्तनामि आयुषे अर्थात् कुश भनेको तत्काल लाभ गर्ने महाअ‍ौषधि हो । नास्य केशान् प्रवन्ति नोरसि तडमाध्नते । यस्मा अछिन्नवर्णेन दर्भेन शम्र्म यच्छति अर्थात् कुश लगाउनाले ब्यक्तिको कपाल झर्दैन र उसलाई हृदयघात हँुदैन । दर्भेण देवजातेन दिविष्टम्भेन अर्थात् कुश दैवी शक्तिले युक्त भएकोले यसले मानव जातिलाई बाहिरी आवरणबाट सुरक्षा दिन्छ ।

अग्निस्सूय्र्यचन्द्रमा भूमिरापो, द्यौरन्तरिक्षं प्रदिशोदिशश्च ।
आर्तवा ऋतुभिः संविदाना अनेन मा त्रिवृताः पारयंतु ।।

अर्थात् घाम, पानी, आगो, हावा, चन्द्र, पृथ्वी द्यौ, अन्तरिक्ष दिशा विदिशा एवम् ऋतुहरुबाट उत्पन्न हुने जाडोगर्मीबाट सुरक्षित हुन शीर हातगोडालाई सुरक्षा गर्नु । मृत शरीरलाई पनि कुशको ओछ्याउने माथि राख्नु भनेर कतिपय शास्त्रमा उल्लेख गरेको पाईन्छ ।

त्यस्तै मरणासन्न व्यक्तिलाई खाली जमीनमा राख्दा पृथ्वीको आकर्षणले व्यक्तिको प्राण गुह््यमार्गबाट निस्कने हुनाले कुशमाथि राख्नु जरुरी छ । कुशले आध्यात्मिक क्षेत्रलाई मात्र नभएर वैज्ञानिक क्षेत्रमा पनि महत्वपूर्ण स्थान ओगटेको पाईन्छ । अर्थव वेदमा पनि कुशलाई सुनको रुपमा स्थान दिइएको पाईन्छ । जसरी सुन आफ्नो दिव्यताको कारणले कीट विनाशक हो ,त्यसरी नै कुश पनि दिव्यतायुक्त भएको हुनाले संक्रामक कीटाणुहरु विनाशक हो । सुन अति महँगो भएको हुनाले जोसुकैले यसको उपयोग गर्न नसकेको कारणले पनि कुशको महत्व बढ्दै गएको हो । शल्यचिकित्सा सम्बन्धी प्राचीन विद्या भैषज्यकल्पनामा कुशबाट औषधि बनाउने विधिको बारेमा जानकारी दिएको छ ।

औषधि बनाउनका लागि कुशको जरा प्रयोगमा ल्याइन्छ भने कुशको काँडाबाट ‘तृणपञ्चमूल क्वाथ’ बनाइन्छ । तेलबाट मालिस र यौनजन्य रोगमा उपयोग गरिने कुशाद्य तेल निर्माण गरिन्छ । निघन्टुमा क्षयरोग, नाईटो र छाला सम्बन्धी रोगमा कुश अत्यन्त लाभदायक हुने कुराको पुष्टि गरेको छ । बच्चालाई जन्म दिएकी सुत्केरीको दूध कम आएमा कुशको प्रयोग राम्रो हुने कुरा उल्लेख छ । कुशको अध्ययन र प्रयोगका लागि यत्रो विधि प्रयोग गरिनुमा हाम्रो प्राचिन परम्परा ब्यवस्थित एवम् वैज्ञानिक र मानवकल्याणको भावनाले प्रेरित छ । यसरी हाम्रो धर्म परम्परासँग यस्ता अनेकौ वनस्पतिहरुले सम्बन्ध जोडेका छन् । कुशे औशीमा कुशको महत्व बुझी यसलाई शुभत्वको प्रतिक मानि आज किन ढोका माथि नसिउरीने त !

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here