सङ्क्रमण घट्यो, निको हुने बढे, अस्पतालका शय्या खाली हुँदै

0
641

शरद् शर्मा/काठमाडौँ,

पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गएको पाइएको छ । पछिल्लो पटक मुलुकभरि नै सङ्क्रमण घटेको पाइएको चिकित्सकले जनाएका छन् । गएको २० दिन यताको तथ्याङ्क हेर्दा नेपालमा कोरोना भाइरसको सङ्क्रमण करिब २५ प्रतिशतले घटेको देखिएको छ । साथै निको हुने दरमा पनि करिब यही अनुपात देखिन्छ ।

सरकारले जोमिखममा रहेका व्यक्तिलाई खोप लगाउने कामलाई प्राथमिकतामा राखेर खोप लगाएको र यसबाट रोग प्रतिरोधात्मक क्षमता बढ्न गई सङ्क्रमण घटेको चिकित्सकको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप दिने काम सरकारको पहिलो प्राथमिकता रहेको भन्दै यसका लागि आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । त्यसैले धेरै नागरिकले खोप पाएका र जोखिममा रहेका सङ्क्रमित पनि निको भएपछि उनीहरुमा पनि एन्टिबडीसमेत बनिसकेकाले सङ्क्रमण हुने व्यक्तिको सङ्ख्या घट्दै गएको पाइएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले पछिल्लो हप्ता सङ्क्रमण दरमा कमी आएको जानकारी दिनुभयो । उहाँका अनुसार पहिले परीक्षण गराएकामध्ये २२ प्रतिशत सङ्क्रमण हुने गरेको पाइएको भए पनि अहिले त्यसमा कमी आएको छ । उहाँका अनुसार अहिले पीसीआर परीक्षण गरेकामध्ये १३ देखि १५ प्रतिशतमा मात्र सङ्क्रमण देखिएको छ ।

सङ्क्रमित हुनेको सङ्ख्यामा कमी आएपछि अस्पतालमा भर्ना हुने बिरामी पनि विगत १० दिनदेखि कमी हुँदै आएको अस्पतालले जनाएका छन् । सङ्क्रमणको दोस्रो लहर आएसँगै साउनमा सङ्क्रमण बढेकामा अहिले आएर भने कमी देखिएको हो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा अनुपराज बाँस्तोलाले पहिलेभन्दा सङ्क्रमित भएर उपचार गराउन आउने विरामीको सङ्ख्यामा कमी आएको बताउनुहुन्छ । उहाँका अनुसार शुक्रराजमा सघन उपचार कक्षमा १३ जना, १५ जना एचडियु, तीन जना आकस्मिक कक्ष र तीन जना क्याविनमा रहेका छन । शुक्रराजमा अक्सिजन चाहिने मात्र बिरामीलाई भर्ना गरिन्छ ।

उहाँले धेरैले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको र रोग प्रतिरोधात्मक क्षमता पनि बढेकाले सङ्क्रमण घटेको बताउनुहुन्छ । “पहिले दैनिक २५ देखि ३० जना बिरामी आकस्मिक कक्षमा आउने गर्दथे”, उहाँले भन्नुभयो, “तर अहिले त्यो सङ्ख्या घटेर दैनिक बढीमा १० जना बिरामी उपचार गर्न आएका छन् ।” उहाँले समुदाय नै सङ्क्रमण भएको र ती निको भएका व्यक्तिमा एन्टिबडी बनेकाले पनि सङ्क्रमणले आक्रमण नगरेको बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार साउन १ गते १४ हजार १८२ जनाको परीक्षण गर्दा दुई हजार ९३६ मा सङ्क्रमण देखिएकामा हिजो ९मङ्गलबार० भदौ २२ गते पछिल्लो २४ घण्टामा १५ हजार ३४ जनामा परीक्षण गर्दा एक हजार ६७७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गत असार २२ गतेदेखि सबै प्रकारका व्यवसाय खुला र जोरबिजोर हटाउँदै सबै सवारी साधन सञ्चालन गर्ने गरी निषेधाज्ञालाई खुकुलो बनाएसँगै सङ्क्रमण बढेको थियो ।

यस्तै बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालका डा प्रविन नेपालले पनि पहिलेको तुलनामा सङ्क्रमित भएर आउने बिरामीको सङ्ख्यामा कमी आएको बताउनुहुन्छ । उहाँका अनुसार एक महिनाअघि दैनिक २० जना बिरामी आउने गरेकामा अहिले दैनिक पाँच/छ जना बिरामी आउने गरेका छन् । उहाँले विगत १० दिनदेखि बिरामीको सङ्ख्यामा कमीसमेत आएको जानकारी दिनुभयो ।

अस्पतालमा अहिले ७० जना बिरामी रहेका छन् । तीमध्ये १३ जना सघन उपचार कक्ष ९आइसियु० र आठ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । नेपालमा गरिएको सर्वेक्षणमा ६८।६ प्रतिशत मानिसमा रोग प्रतिरोधात्मक क्षमता ९एन्टिबडी० बनेको पाइएको छ । यस्तै एक मात्रा खोप लगाएका व्यक्तिहरुमा ८० प्रतिशतमा र पूर्णमात्रा खोप लगाएकामा ९० प्रतिशतमा एन्टिबडी बनेको मन्त्रालयले जनाएको छ । नेपालमा ५० वर्षभन्दा माथिका प्राय सबैले खोप लगाइसकेका छन् ।

नेपालमा दैनिक एक लाख जनाले खोप लगाइरहेका छन् । नेपालमा अहिलेसम्म ५६ लाख तीन हजार ७५७ जनाले पहिलो मात्रा र ५० लाख १२ हजार ८२१ जनाले पूर्ण मात्राको खोप लगाइ सकेका छन् । नेपालले कोभ्याक्स सुविधा, अनुदान र खरिद गरेर अहिलेसम्म एक करोड ३३ लाख खोप ल्याइसकेको छ । कोरोना भाइरसको सङ्क्रमण रोक्ने उपायहरुमध्ये भरपर्दो उपाय खोप देखिएकाले नेपाल सरकारले यसमा प्राथमिकता दिएर खोप भित्र्याएको छ ।

सरुवारोग विशेषज्ञ डा सागर राजभण्डारी खोप लगाएका र जनस्वास्थ्यका मापदण्ड लागू गरेकाले सङ्क्रमण कम भएको बताउनुभयो ।

उहाँले हरेक दिन सभा, सम्मेलन जस्ता गतिविधिले फेरि सङ्क्रमण बढ्नसक्ने खतरा रहेको भन्दै यसका लागि सबैले ध्यान दिनुपर्ने सुझाव पनि दिनुभयो ।

मन्त्रालयका अनुसार त्रिवि शिक्षण अस्पतालमा अहिले साधारण शय्यामा ५८ जना, आइसियुमा २९, भेन्टिलेटरमा २९ र हाइडिपेन्डेन्सी ९एचडियु०मा ११ जना बिरामी उपचारत छन् । यस्तै वीरेन्द्र अस्पताल छाउनीमा चार जना साधारण शय्यामा, १९ जना एचडियु, १० जना आइसियु र तीन जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालमा ९वीर अस्पताल० मा ८५ सङ्क्रमित बिरामीले उपचार गराइरहेका छन् । तीमध्ये ३३ जना आइसियु, २९ जना भेन्टिलेटर र छ जना एचडियुमा उपचारत रहेको वीर अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

उहाँले सङ्क्रमण दर नबढेको बताउनुभयो । “अहिले सङ्क्रमण दर स्थिर अवस्थामा रहेको छ”, उहाँले भन्नुभयो, “प्रायः सबैले खोप लगाइसको र जनस्वास्थ्यका मापदण्ड लागू गरेको हुनाले सङ्क्रमण बढेको छैन ।”

गत फागुन र चैतमा पनि सङ्क्रमण बढेको थिएन । वैशाखमा सङ्क्रमणको दोस्रो लहर आएपछि सङ्क्रमण बढेको थियो । नेपालमा शुरुदेखि अहिलेसम्मको सङ्क्रमणदर भने १९।३ प्रतिशत रहेको छ ।

सरकारले असोजसम्म कूल जनसङ्ख्याको ३३ प्रतिशत र चैतसम्म सबै नेपालीलाई खोप लगाइसक्ने जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले दुई दिनअघि दिनुभएको जानकारीअनुसार सरकारले १८ वर्षमुनिका बालबालिकाका लागि ४० लाख मात्रा मोडर्ना र ६० लाख मात्रा फाइजर खोप ल्याउने अन्तिम तयारी गरेको छ ।

यही भदौ २१ गते १५ हजार ९७९ जनामा कारोना भाइरसको परीक्षण गर्दा एक हजार ८९७ जनामा सङ्क्रमण देखिएको हो । यस्तै भदौ २० गते एक हजार ८९ जना, भदौ १९ गते एक हजार २६८ जना, भदौ १८ गते एक हजार ७५६ जना, भदौ १७ गते दुई हजार चार जनामा सङ्क्रमण देखिएको छ ।

यस्तै भदौ १६ गते दुई हजार ५२ जना, भदौ १५ गते एक हजार ६६४ जना, भदौ १४ गते दुई हजार २९५ जनामा भदौ १३ गते एक हजार ३८८ जना र भदौ १२ गते एक हजार ८५७ मा सङ्क्रमण देखिएको थियो ।

निको हुने दर पनि बढ्यो

सङ्क्रमणबाट निको हुने दर पनि दैनिक बढिरहेको छ । मन्त्रालयका अनुसार अहिले निको हुने दर ९४।७ प्रतिशत पुगेको छ । हिजो दुई हजार ७२ जना निको भएका थिए । भदौ १५ गतेदेखि निको हुने दर लगातार बढेको हो ।

यस्तै निको हुने दरमा भदौ २१ गते ९४।६ प्रतिशत, भदौ २० गते र भदौ १९ गते ९४।५ प्रतिशत, भदौ १८ गते ९४।३ प्रतिशत भदौ १७ गते ९४।२ प्रतिशत, भदौ १६ गते ९४।१ प्रतिशत, भदौ १५ गते ९३।९ प्रतिशत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here