नेपाली राजनीतिमा अब्बल स्पेस पाएको ‘समाजवाद’

२४ भाद्र २०७८, बिहीबार मा प्रकाशित

पछिल्लो समय राजनीतिक वृत्तमा सबैभन्दा बढी बहस भइरहेको विषयहो, समाजवाद । धेरैजसो पार्टीहरुले आफ्नो नामको पुच्छरमा समाजवादको फुर्को जोड्ने गरेका छन् । कसैले समाजवाद अनुच्छेदभित्र राखेका छन्, कसैले कोष्टकभित्र त कसैले समाजवादको नारालाई पार्टीको मूल सम्पत्तीको रुपमा ब्याख्या गर्दै आएका छन् ।

विभिन्न व्यवस्था मध्ये समाजवादलाई आदर्श व्यवस्था मान्ने गरिन्छ । कम्युनिस्ट तथा वामपन्थी मात्रै होइन, दक्षिणपन्थी तथा प्रतिक्रियावादी भनिएका शक्तिले पनि समाजवादको वकालत गरिरहेकै छन् । संसारमा अधिकांश देशले यो व्यवस्थाका मूल्य र मान्यतालाई केही हदसम्म भए पनि पक्रने प्रयास गरेका छन् । तर, नेपालको राजनीतिक सन्दर्भमा समाजवाद के हो ? यसका विशेषता के–के हुन् ? समाजवाद भएमा के फाइदा हुन्छ ? समाजवादका अवगुण के–के हुन् ? भन्ने बारे आमनागरिकको चासोको विषय अर्थात् बहसको विषय बनेको छ ।

हुन त नेपालको संविधानमा नै देश ‘समाजवाद उन्मुख’भनेर उल्लेख गरिएको छ । केही दलहरुले मुलुक समाजवादको दिशामा अघि बढेको दाबी गरिरहेका छन् भने केही क्रान्तिकारी दलहरुले मुलुकको व्यवस्था ‘दलाल पुँजीवादी’को पक्ष पोषक भएको र यसबाट समाजवाद असम्भव भएको तर्क गरिरहेका छन् । यस प्रकारको बहस भइरहँदा समाजवाद भनेको के हो ? भन्नेबारे बुझ्न आवश्यक छ ।

के हो समाजवाद ?

समाजवाद भनेको एउटा यस्तो व्यवस्था हो, जहाँ देशको सम्पूर्ण स्वामित्व सरकारमा निहीत हुन्छ । देशमा भएका सम्पूर्ण स्रोतसाधनमा सबै नागरिकको समान पहुँच हुन्छ । अर्थात् समाजवादमा राज्यको सम्पूर्ण सम्पत्तिको समान वितरण हुन्छ । ठूलो–सानो, धनी–गरीब भन्ने हुँदैन भनिन्छ । केही दार्शनिकहरुले समाजवादलाई यसरी पनि ब्याख्या गरेको पाइन्छ– ‘समाजवाद एउटा यस्तो आर्थिक व्यवस्था हो जहाँ देशको सम्पूर्ण अर्थतन्त्रको स्वामित्व पूर्णतया सरकारमा निहित हुन्छ जसलाई सामाजिक स्वामित्व पनि भनिन्छ । यस्तो आर्थिक राजनीतिक व्यवस्था अंगिकार गर्ने राष्ट्रलाई समाजवादी राष्ट्र भनिन्छ ।’

समाजवाद यही हो भन्ने कुरामा भने यत्तिको स्पष्टता र मतैक्यता छैन । कम्युनिस्ट र प्रजातान्त्रिक समाजवादी बीच आ–आफ्नै खाले समाजवाद नै ‘वास्तविक समाजवाद’ हो भन्ने गरेर उहिल्यैदेखि विवाद हुने गरेका उदाहरण धेरै छन् । यो सिद्धान्त १९औं शताब्दीको १८३० बाट १८६० सम्म बहुत आदर्शका रूपमा बहस र ब्याख्या गरिँदै आयो । समाजवादी सिद्धान्त जन्मेपछि साम्यवादी सिद्धान्त आएको पाइन्छ । मुलुकमा जति पनि विकसित भनिएका देशहरू छन्, केही न केही थोरै–थोरै रूपमा तिनले समाजवादको अभ्यास र प्रयोग गरेको देखिन्छ ।

समाजवादका सकारात्मक पक्ष

कसैले समाजवाद निरंकुश हुन्छ भनेका छन् त कसैले जनबादको पूर्ण अभ्यास भनेका छन् । तर्कमा जे गरिए पनि दार्शनिकहरुले ब्याख्या गर्दै आएको समाजवादका सकारात्मक पक्षले नै पल्ला खिचेको छ । भेदभावरहित राजनीतिक तथा आर्थिक प्रणाली, समानता र न्यायपूर्ण प्रणाली, सहभागितामूलक र सहकारिताको भावना, गरिबीको अन्त्य, उत्पादनका साधनहरुको समान वितरण, एकले सबैको लागि र सबैले एकको लागि काम गर्ने, व्यक्तिगत महत्वकांक्षाको निषेध, प्राकृतिक स्रोतसाधनको समुचित उपयोग, राष्ट्रिय पँुजीको विकास, राज्यबाट आधारभूत कुराको सुनिश्चितता जस्ता विषय समाजवादका सकारात्मक पक्ष हुन् ।

उत्पादनको साधनमाथि सामुहिक स्वामित्व तथा त्यही अनुरूप वितरण हुनु नै समाजवादको सार हो । यस प्रकारको स्वामित्व तथा वितरण प्रणालीका कारण नै श्रमजीवी वर्गले समाजवादी व्यवस्थामा आफूलाई काम गर्ने औजार जस्तो ठान्दैनन् । यो व्यवस्थामा अपनत्वको अनुभूति गरेकै कारण उनीहरूको सिर्जना गुणात्मकरूपमा नै वृद्धि हुँदै गइरहेको हुन्छ । चीनमा नयाँ जनवादी क्रान्ति पश्चात आर्थिक र राजनीतिक रूपमा गुणात्मक फड्को मार्नुको मूल कारण पनि यही हो । जहाँ समाजवादको पूर्ण अभ्यास गरिँदै आएको छ ।

समाजवादको व्याख्या आ–आफ्नै

समाजवादलाई समयसापेक्ष र आफू अनुकूल व्याख्या गरिँदै आएको पाइन्छ । लेखक तथा दार्शनिकहरुले पनि समाजवादको व्याख्या आ–आफ्ना तरिकाले गरेका छन् । यहाँ केही दार्शनिक र नेपालको सन्दर्भमा नेता तथा विश्लेषकहरुका समाजवाद सम्बन्धी विचारका अंशलाई प्रस्तुत गरिएको छ ।

कार्लमाक्र्स–कार्ल माक्र्सले मानव समाजका समस्यालाई इतिहासका माध्यमबाट समाधान गर्ने प्रयास गरे । उनले इतिहासको भौतिकवादी व्याख्या, दार्शनिक आधार र वर्ग संघर्षको सिद्धान्त मूल्यको सिद्धान्तका आधारमा समाजवादको व्याख्या गरे । इतिहासका विभिन्न कालखण्डमा कार्ल माक्र्सको समाजवादी मान्यता हरेक प्रकारले प्रमाणित हुँदै आएकाले पनि यसलाई वैज्ञानिक भन्ने गरिन्छ । र, यो मान्यता वैज्ञानिक भएकोले वामपन्थी तथा कम्युनिस्ट शक्ति समाजवादी व्यवस्था निर्माणको दिशामा निरन्तर रूपमा लागिरहेका छन् ।

लेनिन ‘इतिहासले के देखाउँदछ भने भिन्ना–भिन्नै बेलामा मानिसहरु भिन्नाभिन्नै विचार तथा इच्छाहरुबाट अभिप्रेरित रहेका थिए । त्यसको कारण के हो भने भिन्नाभिन्नै बेलामा मानिसहरु आफ्नो खाँचोको पूर्ति गर्न भिन्ना–भिन्नै ढङ्गबाट प्रकृतिसित लडेका थिए र तद्अनुसार, उनीहरुका आर्थिक सम्बन्धहरुले भिन्ना–भिन्नै रुपहरु लिएका थिए । कुनै बेला मानिसहरु प्रकृतिसित सामुहिक रुपले, आदिम साम्यवादका आधारमा लडेका थिए । त्यसताका उनीहरुको सम्पत्ति साम्यवादी सम्पत्ति थियो । यस्तो एक बेला आयो, जब मेरो र तेरोको भेदले उत्पादनको प्रक्रियामा प्रवेश ग¥यो । त्यसबेला सम्पत्तिले पनि निजी, व्यक्तिवादी चरित्र धारण ग¥यो र त्यसबेला मानिसहरुको चेतना निजी सप्पत्तिको भावबाट ओतप्रोत रह्यो । अनि यस्तो समय आयो, जब उत्पादनले फेरि सामाजिक चरित्र धारण गर्दैछ र त्यसैले सम्पत्तिले पनि चाँडै नै सामाजिक चरित्र धारण गर्नेछ र त्यहीकारणले गर्दा मानिसहरुको चेतना बिस्तारै समाजवादबाट अभिप्रेरित हुँदैछ (स्टालिन, सर्वहारा समाजवाद) ।’

वीपी कोइराला– नेपालका सन्दर्भमा २००६ सालमा कम्युनिस्ट पार्टीको स्थापनाकालदेखि नै समाजवादलाई राजनीतिको विषयवस्तु बनाउँदै आएको पाइन्छ । २०१५ सालमा वीपीले जमिन जोत्नेको हुनुपर्ने तथा शिक्षा, स्वास्थ्य र रोजगारमा सबैको पहँच हुनुपर्ने लगायतका मान्यता साथ समाजवादको परिभाषा गरेको र त्यही अनुरूपको व्यवस्था हुनुपर्ने बताएका थिए । सोही अनुसार नेपाली कांग्रेसले आफूलाई समाजवादी भन्दै आएको छ ।

राम कार्की– विश्लेषक तथा नेता रामकार्कीले विचारक चे ग्वेभाराको भनाइलाई कोड गर्दै भनेका छन्– ‘म भनेको पुँजीवाद र हामी भनेको समाजवाद हो ।’ समाजवाद भनेको ठोस परिस्थितिको ठोस विश्लेषण हो । समाजवादको अर्को नाम ऐतिहासिक भौतिकवाद हो । म पँुजीवाद, हामी समाजवाद । एकदम स्पष्ट छ । म सबैलाई उछिनेर त्यहाँ पुग्छु पुँजीवाद, हामी सँगै त्यहाँ पुग्नेछौं समाजवाद ।

घनश्याम भूषाल– विश्लेषक तथा नेता घनश्याम भुषालले परिस्थिति बिग्रेको चिन्ता गर्दै भनेका छन्– हामी सबैले रोजेको समाजवाद नै हो । समाजवादमा नटेकी साम्यवादमा पुग्न सकिन्न । ‘संविधानमा त समाजवाद लेखिएको छ । तर, हाम्रा शासक, कम्युनिष्ट नेता, मन्त्री, प्रधानमन्त्रीले या सबैले भनौं गरेका क्रियाकिलापले हामी डेगैपिच्छे समाजवादको विपरीत दिशामा जाँदैछौं ।’

प्रदीप नेपाल– नेता तथा विश्लेषक प्रदीप नेपाल लेख्नुहुन्छ– समाजवाद अर्को सस्तो शब्द भएको छ नेपालमा । नेपालमा अहिल्यै समाजवाद सम्भव छ ? छैन । मित्रराष्ट्रहरूले ५० प्रतिशत बजेट धानिदिएको (ऋण वा सहयोगको नाउँमा)मुलुकमा समाजवाद आउँदैन । नेताहरूको सामन्ती चिन्तन भएको मुलुकमा समाजवाद आउँदै आउँदैन । जनताको उच्च चेतना र सम्पन्नता, सुखी नेपाली समृद्ध नेपाल जस्ता वाक्यहरू समेत नभएको मुलुकमा बलियो पुँजीवाद त आउँदैन भने कहाँबाट आउँछ समाजवादरु ? समृद्ध नेता र गरीब नेपाली रहेसम्म नेपालमा कहिल्यै समाजवाद आउँदैन । यतिबेला समाजवाद हाम्रो सपना मात्र हो ।

निष्कर्ष

केही विचारहरुलाई अध्ययन गर्दा फेरि पनि म बाट हामी हुन सक्ने कि नसक्ने प्रश्न खड्किएको छ । जुनसुकै पार्टीमा रहेको भए पनि, आन्दोलनबाट आएको भए पनि सामाजिक न्याय, जातीय विभेद र समानताको विषय, पर्यावरणको रक्षाको सवालमा, राष्ट्रिय अर्थतन्त्र निर्माणदेखि आत्मनिर्भरका सवालमा हामीले आवाज उठाउनुपर्छ । आवाज उठाउन प्रेरित गर्नुपर्छ । यी अहिलेका २१औं शताब्दीका समाजवादका एजेन्डाहरु हुन् । परिवर्तनका एजेण्डाहरु हुन् । यी यावत एजेण्डालाई हल गर्न सामुहिक प्रयत्नबाट मात्रै सम्भव छ ।

नेपालको सामाजिक तथा राजनीतिक क्षेत्रमा एउटा समस्या के छ भने सानो कुरामा आँखा नै नलाग्ने । एकैपटक ठूलो भागमा मात्र आँखा लाग्ने । ‘क्रान्तिकारी’हुन नयाँ जनवाद, समाजवाद र साम्यवादको गफ चुट्नैपर्ने । अनि, त्यसभन्दा कसैले सानो कुरा गर्यो भने त्यसलाई यथास्थितिवादीको बिल्ला भिराइहाल्ने । त्यस प्रकारको ‘अति क्रान्तिकारी’ सोचले नै नेपालको कम्युनिस्ट आन्दोलनलाई नकारात्मक असर पार्दै आइरहेको छ । अब यथास्थितिवादीको बिल्ला भिराइएकाहरु र ‘अति क्रान्तिकारी’को कार्ड बोकेकाहरुबीचको मिलनविन्दु समाजवादलाई बनाएर आमूल समृद्धिका लागि आधार तयार पार्दै अघि बढ्नु नै अहिलेको नेपाली राजनीतिक वृत्तको गाईडलाईन हुन सक्छ । यो समग्र राजनीतिक अन्यौललाई निकास दिने कडीको एउटा दिर्घकालीन राजनीतिक मार्गचित्र पनि बन्न सक्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here