उद्योगी र व्यवसायीहरुको हक हितमा सदैव लागि पर्ने प्रतिबद्धता

२६ भाद्र २०७८, शनिबार मा प्रकाशित
  •  
  • 824
  •  
  •  
  •  
  •  
    824
    Shares

छविराज ढकाल/ पथरीशनिश्चरे,

पथरी उद्योग वाणिज्य संघको १८ औं चुनावी साधारण सभा शनिवार सम्पन्न भएको छ । प्रमुख अतिथि समेत रहनुभएका पथरिशनिश्चरे नगरपालिकाका प्रमुख दिलिप कुमार राईले नगर क्षेत्रभित्रका सम्पुर्ण उद्योगी, व्यवसायी तथा व्यापारीहरुको हक र हितका निम्ति सदैव लागि पर्ने बताउनु भएको हो ।

उहाँले आगामी दिनहरुमा समेत नगरपालिकाको तर्फबाट सक्दो सहयोग रहने वचन दिनुहुदै वर्तमान कार्यसमितिले गरेको कार्य प्रगतिको समेत उच्च साह्रना व्यक्त गर्नुभयो । सोहि अवसरमा विशिष्ट अतिथिको रुपमा नगरकी उप प्रमुख यमुना विष्ट वास्तोलाले नगरभित्रका समग्र उद्योग , व्यवसायी तथा व्यापारीहरूको साझा संस्थाको आसन्न निर्वाचनका लागि वाणिज्य संघको माथिल्लो पदमा महिलाहरुको उम्मेदवारी घोषणा नभएको भन्दै आपत्ति जनाउनुभएको थियो ।

उपप्रमुख वास्तोलाले वाणिज्य संघको नेतृत्व सम्हाल्ने तहमा महिलाहरुको उम्मेदवारी कम भएको भन्दै शासन र भाषण गर्ने तहमा महिलाहरुले नेतृत्वदायी अवसर नपाएसम्म व्यावसायिक महिलाहरूको आर्थिक जीवनस्तर माथि उठ्न नसक्ने औल्याउनु भएको थियो ।

यसैगरी , संघकाे प्रदेश नं-१ का अध्यक्ष टिका ढकालले आफ्नो प्रदेशका सम्पूर्ण उद्योगी व्यवसायीको हितमा सधैं काम गरीरहने बताउनुभयो ।वरिष्ठ उपाध्यक्ष विजय डांगीले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा उर्लाबारी उवा संघका प्रितम खड्गीले राम्रा ,असल र इमान्दार उद्योग व्यवसायी तथा व्यापारी उम्मेदवारहरूलाई वाणिज्य संघको आगामी कार्यकालका लागि निर्वाचित गर्न शुभकामना दिनुभएको थियो ।

संघको आगामी कार्यकालका लागि भदौ -२८ गते निर्वाचन मिति तय भएको छ । निर्वाचनमा १ हजार ७ सय २० जनाले मतदान गर्ने निर्वाचन समितिले जनाएको छ ।
संघको आसन्न निर्वाचनका लागि एमाले निकट संस्थापन प्यानल एक्लै र अन्य ४ दल सम्मिलित साझा प्यानल गरि दुई समूह संघको विभिन्न पदमा उम्मेदवारी दिएका छन् । संघको निर्वाचन संयोजक अर्जुन कुमार बुढाथोकीले दुवै प्यानलका उम्मेदवारहरूको नामावली हिजो शुक्रबार सम्ममा प्रकाशन पनि गरिसक्नुभएको छ ।

प्रमुख अतिथि नगर प्रमुख दिलिप कुमार राईले पानसमा बत्ती बालेर संघको साधारण सभा समुद्घाटन गर्नुभएको कार्यक्रममा संविधान सभाका पूर्व सभासद चण्डी प्रसाद राई , उवा संघ प्रदेश नं १ का अध्यक्ष टिका ढकाल , ईटहरी उवा संघ अध्यक्ष भीम पौडेल ,उर्लाबारी उवाका अध्यक्ष प्रितम खड्की ,दमक उवा संघका अध्यक्ष गोकूल क्षेष्ठ, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख कृष्ण खड्का, एमाले नगर कमिटीका अध्यक्ष मोहन तुम्वापो , नेपाली काँग्रेसका नगर अध्यक्ष टेक बहादुर थापा, माओवादीका नगर अध्यक्ष चेत दहाल,एकीकृत समाजवादीका अध्यक्ष तुलसीराम ढकाल , संघका सल्लाहकार तथा निर्वाचन संयोजक अर्जुन बुढाथोकी, लगायतको उपस्थिति रहेको थियो ।

संघका अध्यक्ष दीपक बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहसचिव अशोक राईले संचालन गर्नु भएको थियो । संघको पूर्व पदाधिकारी समेत रहेकाे भन्दै उक्त अवसरमा नगर प्रमुख दिलिप कुमार राईलाई सम्मान पत्रद्वारा सम्मान प्रदान गरेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here