नबढून् दुव्र्यसनी

२८ भाद्र २०७८, सोमबार मा प्रकाशित

युवाशक्तिमा लागूऔषधको दुव्र्यसन बढ्दै गएको प्रहरी तथ्याङ्कले देखाएको छ । औषधिकै रूपमा प्रयोग हुने वस्तुहरूको दुरूपयोग हुँदा त्यही वस्तु लागूपदार्थ भनिएको हो । त्यस्ता कतिपय वस्तुलाई चिकित्सकहरूले बिरामीको उपचारमा प्रयोग गर्छन्, तर पछिल्लो समय युवाहरू साथीभाइको लहै–लहैमा लागेर, उत्सुकता मेटाउन वा रमाइलो गर्ने नाममा यसको जालमा फस्दै गएका छन् । बदलिँदो पारिवारिक ढाँचा, एकाकी व्यवहार र भौतिकताका पछि दौडिने मानसिकताले नयाँ पुस्ता लागूऔषधको सेवनमा डुब्दै गएको छ । जसलाई सजिलै त्यहाँबाट निकाल्न सहज छैन । लागूऔषधको अनधिकृत व्यापार, आयात र प्रयोगमा अनुगमन र नियन्त्रण गर्न नेपाल प्रहरीमा बेग्लै इकाई गठन गरिएको छ । लागूऔषध नियन्त्रण ब्यूरो नामक प्रहरी इकाईले सम्भावित आयात बिन्दुको पहिचान गरी तत्क्षेत्रमा निगरानी बढाएको पनि छ । तर, लागूऔषधको कारोबार कम हुनुको साटो बर्षेनि बढ्दै गइरहेको छ ।

झापादेखि पश्चिमको बाँके जिल्लाको नेपालगञ्जसम्मका प्रमुख नाकाहरूमा लागूपदार्थको कारोबार अत्यधिक हुने गरेको प्रहरी कै भनाइ छ । त्यसमा पनि काँकरभिट्टा, विराटनगर, पर्साको वीरगञ्ज र बाँकेको नेपालगञ्ज नाका आसपास भारतबाट लागूपदार्थ ल्याएर बेचबिखन गर्ने प्रवृत्ति बढेको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ । लागूपदार्थको ओसारपसार र बेचबिखन नियन्त्रण गर्ने मूल दायित्व भएको ब्यूरोले दिनहुँ यस्ता कारोबारीलाई पक्राउ गरेको सूचना सार्वजनिक गरिरहेको छ । तर, कारोबारी र सेवनकर्ताको संख्या भने निरन्तर उकालो लागिरहेको छ । प्रहरीकै तथ्याङ्क अनुसार झापाकै प्रहरी हिरासतमा एकसयजना थुनुवामध्ये सत्तरी जना लागूपदार्थ मुद्दामा पक्राउ परेका हुन् । त्यस्तै मोरङमा थुनामा रहेका मध्ये बीस प्रतिशतभन्दा बढी लागूपदार्थ मुद्दाका छन् । उता पर्सामा पनि प्रहरी हिरासतमा रहेकाहरूमा पचास प्रतिशत थुनुवा लागूपदार्थ मुद्दाकै छन् । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोका अनुसार भारतबाट खैरो हेरोइन र औषधिजन्य लागूपदार्थको कारोबार नेपालका सीमावर्ती बजारमा धेरै हुने गरेको छ । यस्ता वस्तु भारतीय बजारबाट ल्याएर बेचबिखन गर्ने परिपाटी बढेको पक्राउ पर्ने तथ्याङ्कले पनि पुष्टि गरेको छ । सीमावर्ती जिल्लाका दुबैतर्फका अधिकारीहरूका नियमित बैठकमा उठ्ने मुख्य विषय लागूपदार्थ नै हुने गरेको छ । तर, नियन्त्रणमा भने भारतीय पक्ष त्यति गम्भीर नदेखिएको नेपाली अधिकारीहरूले आरोप लगाएका छन् ।

युवाशक्तिलाई लागूपदार्थको छुट्न नसक्ने लत लगाएर शारीरिक र मानसिकरूपले कमजोर बनाएर कसैले कुत्सित अभीष्ट पूरा गर्न सक्लान् । कसैको पैसा कमाउने कारोबार पनि हुनसक्छ यसको व्यापार वा ओसारपसार । तर, खराब कामको नतिजा पनि खर्ब नै आउँछ भन्ने बिर्सिने हो भने उनीहरूकै सन्तान पनि त्यही जालमा फस्न सक्छन् भन्नेतर्फ सचेत हुनै पर्छ । खुल्ला सीमाको फाइदा उठाउँदै भारतबाट भित्र्याइने लागूपदार्थमा ट्याब्लेट र सुईको माध्यमबाट लगाइने लागूऔषध पनि हुन थालेका छन् । त्यस्तै नेपालबाट गाँजा र अफिम भारततर्फ लगिन् गरेको बरामद भएको वस्तु र पक्राउ परेका कारोबारीको संख्याले देखाउँछ । देशको भविष्य युवाको हातमा छ । तर, त्यही युवालाई उचित रेखदेख, निर्देशन र नियन्त्रण हुन नसक्दा र लागूपदार्थ नियन्त्रणका लागि आवश्यक अधिकार नदिइँदा यो हल नहुने समस्या बन्दै गएको छ । यसले एकातिर देशको भविष्य अनिश्चित हुन्छ भने अर्कातर्फ परिवार र समाजलाई छिन्नभिन्न बनाउँछ । त्यसैले लागूपदार्थ ओसारपसार, सेवन र अवैध कारोबार नियन्त्रण गर्न विशेष व्यवस्था गरिनु पर्छ । त्यसमा काम गरिरहेको ब्युरोलाई उपचार, पुनस्र्थापनाको जिम्मेवारी पनि दिनुपर्छ । त्योसँगै जनचेतना अभिबृद्धि र पक्राउ परेकाहरूलाई कानूनी दायरामा ल्याएर दण्डित गर्न सक्ने कानून निर्माण गर्न पनि आवश्यक छ । अन्यथा मन्दबिष झैं फैलिरहेको लागूऔषधको कारोबारले नेपाली समाजको संरचना ध्वस्त पार्नेछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here