कचनकवलमा खुल्यो, अन्यमा तयारी

३० भाद्र २०७८, बुधबार मा प्रकाशित

पार्थ मण्डल,भद्रपुर ।

विगत पाँच महिनादेखि बन्द रहेको झापा जिल्लाका सामुदायिक तथा निजी विद्यालयहरू पुनः सञ्चालन ल्याउने तयारी गरिएको छ ।

कोरोना भाइरसको दोस्रो लहरसँगै वैशाखदेखि बन्द भएका विद्यालयहरू पुनः सञ्चालन ल्याउन जिल्लाका अधिकांश पालिका र त्यस मातहत रहेका शिक्षा, युवा तथा खेलकुद शाखाहरू अहिले भौतिक रुपमा प्रत्यक्ष शिक्षण सिकाइ क्रियाकलाप गराउने तयारीमा जुटेका हुन् ।

कुनै स्थानीय तहमा विद्यालय सञ्चालनमा आइसकेका छन्, भने कतै असोज १ गतेदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । सरकारको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट स्वीकृत ‘स्मार्ट–लकडाउनसम्बन्धी कार्यविधि, २०७८’ ले जोखिमको अवस्था विश्लेषणपछि भौतिक उपस्थितिमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सकिने आधार तयार गरिसकेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक कार्यविधि कार्यान्वयन योजना बनाइसकेको छ । मन्त्रालयको विद्यालय सञ्चालनसम्बन्धी कार्य ढाँचा, २०७७ को पालना गर्दै सम्बन्धित स्थानीय तहले चालू हप्तामा भएको परीक्षण, सङ्क्रमण र मृत्युदर, जनसङ्ख्या आदिको अलग–अलग मूल्याङ्कन गरेर आएको प्राप्ताङ्कलाई एकीकृतरुपमा जोडेर रेड, एम्बर, एल्लो, ग्रिन कलरले जोखिमको भ्यालुसहित स्तर निर्धारण गर्ने र सोही अनुसार विद्यालय खुलाउने भनिएको छ ।

रेड र एम्बर जोनमा वैकल्पिक माध्यमबाट पठनपाठन गर्नुपर्ने, एल्लो जोनमा एक तिहाइ विद्यार्थीलाई आलोपालोमा बोलाएर विद्यालय खोल्न पाउने र ग्रिन जोनमा पूर्ण भौतिक रुपमा विद्यालय खोल्न पाउने व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार जिल्लाका स्थानीय तहहरूले शिक्षा युवा तथा खेलकुद शाखा, शिक्षक, अभिभावक, सरोकारवाला निकायसँग छलफल गरेर विद्यालय खुलाउने निर्णय गरिरहेका छन् । दक्षिणी झापाको कचनकवलका सबै विद्यालय भदौ २२ गतेदेखि सञ्चालनमा आएको छ ।

कचनकवल एल्लो जोनमा रहेकोले विद्यार्थीलाई आलोपालोमा बोलाएर विद्यालय सञ्चालन गरिएको शिक्षा, युवा तथा खेलकुद शाखाका छवि बस्नेतले जानकारी दिए । भदौ २१ गते कचनकवल गाउँपालिकाका अध्यक्ष अञ्जार आलमको अध्यक्षतामा बसेको बैठकले शैक्षिक सरोकारवालाहरूसँग गरिएको छलफल पश्चात् विद्यालय खुलाउने निर्णय गरेको उनले बताए ।

विद्यार्थी सङ्ख्या कम रहेका विद्यालयहरूले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर पूर्ण रुपमा पठनपाठन सुचारु गरेको बताउँदै उनले भने– ‘विद्यार्थी सङ्ख्या धेरै रहेका विद्यालयले आलोपालो विद्यार्थी बोलाएर पठनपाठन थालेका छन् ।’ त्यस्तै हल्दिबारी गाउँपालिकामा असोज १ गतेदेखि सबै विद्यालय खुलाउने तयारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रवीण दाहालले जानकारी दिए ।
सरोकारवाला पक्षसँगको छलफल पश्चात् गत शुक्रबार गाउँ कार्यपालिका बैठकको निर्णय अनुसार विद्यालय खुलाउने निर्णय भएको उनले बताए । निर्णय गर्नु अघि हल्दिबारी ग्रिन जोनमा थियो, दुई जना सङ्क्रमितको मृत्यु पश्चात् हाल एल्लो जोनमा रहेको छ ।

असोज १ गतदेखि कसरी विद्यालय सञ्चालन गर्ने भनी शिक्षा समिति, शिक्षक र सरोकारवालासँग पुनः छलफल गरिने उनको भनाइ छ । विद्यालय खुलाउँदा सरकारले तोकेको मापदण्डको पूर्ण रुपमा पालना गरिने उनले बताए ।

बिर्तामोड नगरपालिकाले असोज ४ गतेदेखि आंशिक रुपमा विद्यालय खुलाउने निर्णय गरेको छ । बिर्तामोड पनि एल्लो जोनमा रहेको छ । बिर्तामोड नगरपालिकाका मेयर धु्रवकुमार शिवाकोटीको अध्यक्षतामा आइतबार बसेको नगर शिक्षा समितिको बैठकले सबै विद्यालयहरूलाई सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड, विद्यार्थी सिकाइ सहजीकरण कार्य ढाँचा २०७७ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको निर्देशिका पूर्ण रुपमा पालना गरी विद्यालयहरूले भौतिक रुपमा प्रत्यक्ष पठनपाठन गराउने निर्णय गरिएको शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले जानकारी दिए ।

उनका अनुसार विद्यालय सञ्चालनका लागि सम्बन्धित विद्यालयको व्यवस्थापन समितिले कक्षा कोठामा कसरी विद्यार्थीलाई राखेर सञ्चालन गर्ने भनी निर्णयसहितको कार्य योजना शिक्षा शाखामा पेश गर्नुपर्ने हुन्छ । त्यसपछि मात्र विद्यालय सञ्चालनको अनुमति दिने उनको भनाइ छ ।

नगरपालिका एल्लो जोनमा रहेको हाल आंशिक रुपमा प्रत्यक्ष पठनपाठन सुचारु गर्दै लैजाने बताउँदै उनले भने, ‘विस्तार सहज हुँदै गएपछि मात्र पूर्ण रुपमा विद्यालय सञ्चालन गर्ने अनुमति दिने छौं ।’

त्यसैगरी भद्रपुर असोजको पहिलो साताभित्र विद्यालय खुलाउने तयारीमा जुटेको नगर शिक्षा शाखाका कर्मचारी योगेन्द्र पौडेलले जानकारी दिए । विद्यालय खुलाउने विषयमा नगरपालिकाले शिक्षा शाखा, शिक्षक र सरोकारवाला निकायसँग छलफल थालिसकेको बताउँदै उनले भने– ‘नगर कुन जोनमा पर्छ, त्यसको लागि स्वास्थ्य कार्यालयसँग हामीले माग गरेका छौं ।’ कुन जोनमा पर्छ, त्यही जोन अनुसार स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर विद्यालयमा पठनपाठन सहज बनाउने उनले बताए । भद्रपुर पनि एल्लो जोनमा रहेको तथ्याङ्कले देखाउँछ ।

त्यस्तै मेचीनगर नगरपालिका पनि नगर भित्रका विद्यालय खुलाउने तयारीमा रहेको जनाइएको छ । मेचीनगरका संस्थागत विद्यालय सञ्चालकहरूले विद्यालय सञ्चालन गर्ने वातावरण तयार गरिदिन अनुरोध गर्दै आइतबार नगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन् । एनप्याब्सन मेचीनगरका अध्यक्ष भगीरथ राई र प्याब्सन मेचीनगर अध्यक्ष डम्बर रुचालद्वारा हस्ताक्षरित सो ज्ञापनपत्र मेचीनगरका मेयर विमल आचार्य तथा उपमेयर मीना पोखरेल (उप्रेती) बुझाइएको छ ।

अभिभावकहरूबाट समेत विद्यालय सञ्चालनमा दबाब आउन थालेको भन्दै विद्यालय बन्द हुँदा विद्यालयमा आश्रित सयौँ श्रमजीवी शिक्षकहरूको रोजगारी सङ्कटमा पर्न गएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । यता ज्ञापनपत्र बुझ्दै मेयर आचार्यले विद्यालय सञ्चालन गर्ने वातावरण बनाउन आफू तत्पर रहेको बताएका छन् । त्यसका लागि जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालय सञ्चालन गर्न दिने अनुमति लिने उनको भनाइ छ ।

यता अर्जुनधारा नगरपालिका, कनकाई नगरपालिका, शिवसताक्षी नगरपालिका, दमक नगरपालिका, गौरादह नगरपालिका, गौरीगञ्ज गाउँपालिका, कमल गाउँपालिका, झापा गाउँपालिका, बुद्धशान्ति गाउँपालिका, बाह्रदशी गाउँपालिकाले पनि विद्यालय खुलाउन सरोकारवाला निकायसँग छलफल थालेको जनाइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here