
मोहन सिंह
हिमाल नै हिमालले श्रृङ्गारिएको नेपाल ३ करोड नेपालीको बगैचा नेपाल, सुन्दर शान्त नेपाल,सबै नेपालीको धड्कनका रूपमा रहेको छ। वर्तमान समयमा नेपाललाई विश्वको खेल खेल्ने मैदानको रूपमा परिवर्तन गर्ने प्रयास भइरहेको नेपाली जनतालार्इ भान हुदैछ। विकासका नाममा राजनीतिक हस्तक्षेप अनि मित्रताको नाममा स्वतन्त्रता हनन अनि सुझावको नाममा निर्देशन दिने कार्य भइरहेको छ।
राजनीतिक समस्याहरु हरेक देशमा सामान्य हुन्छन् तर एक देशको आन्तरिक मामिलामा अन्य देशको हस्तक्षेपलाई धेरैजसो सकारात्मक मानिदैन। नेपालको सन्दर्भमा,पछिल्लो समयमा चीनले नेपालको राजनीतिक र सरकारका गतिबिधिलाई प्रभावित गर्नका लागि कोशिश गरिरहेको छ।
चिनियाँ सरकारको हस्तक्षेप पहिले तुलनात्मक रूपमा कम थियो किनकि उनीहरुले लुकेर हस्तक्षेप गर्ने प्रयास गर्थे तर अब उनीहरु यो तथ्यलाई लुकाउने प्रयास पनि गर्न चाहदैनन् । यो कार्य अक्टोबर २०१९मा चिनियाँ राष्ट्रपति सी जिन पिङ्गको नेपाल भ्रमणबाट शुरू भएको हो । त्यसपश्चात नेपालले बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) मा रुचि बढायो जुन चीन सरकारद्वारा अवलम्बन गरिएको एक वैश्विक विकास रणनीति हो । जुन एशिया ,अफ्रिका र यूरोप, मध्य पूर्व, र अमेरिकालाई भूमि र समुद्री सञ्जालमार्फत जोड्ने पूर्वाधार विकास सम्बन्धी योजना हो । यसले चीनलाई नेपाली सरोकारवालाहरु र नेताहरुसंग कुराकानी गर्न थप आधार दिएको छ। राष्ट्रपति सी जिन पिङ्ग सत्तामा आएपछि र नेपाललाई बीआरआई स्वीकार गर्न लगाएदेखि नै नेपालमा चीनको प्रभाव बढ्दो क्रममा छ।
अक्टोबर २०१९ मा चिनियाँ राष्ट्रपति सी जिन पिङ्गको नेपाल भ्रमणपछि देशको राजनीतिक मामिलाहरुमा र सरकारी एजेन्डामा चीनले आफ्नो निर्देशन र स्वार्थ थुपार्ने कार्य गर्दै आएको छ।
डिसेम्बर २०२० मा तत्कालीन सत्तारुढ पार्टी एनसीपी दुई गुटमा विभाजित भएपछि, तुरुन्तै चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का प्रतिनिधिहरुको टोलीले नेपालमा चार दिन बिताएका थिए । नेपालका तत्कालीन सत्तारुढ राजनीतिक दल कम्युनिष्ट पार्टी (एनसीपी) दुई गुटहरु बीच मध्यस्थताको भूमिका खेलेका थिए। । यसले अन्तर्राष्ट्रिय क्षेत्रका कुटनितिज्ञको ध्यानाकर्षण गरायो किनकि यो एउटा सामान्य दृश्य थिएन। यसले प्रमाणित गर्छ कि चीन सरकार औपचारिक रूपमा आमन्त्रित नभएपनि उनीहरु आफैं एक प्रतिनिधिमण्डल पठाएर देशको राजनीतिक मामिलाहरुलाई नियन्त्रण गर्न सक्छ भन्ने संकेत गरेको स्पष्ट हुन्छ ।
चीनले धेरै सम्झौताहरुमा नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने भन्दै आएपनि त्यहाँ थुप्रै उदाहरणहरु छन् जहाँ सीपीसीले पार्टी र सरकार चलाउन नेपाली नेताहरुलाई पाठ सिकाउने भर्चुअल कार्यशालाहरु आयोजना गर्दै आएको छ। चिनियाँ सरकारको हस्तक्षेप रहेको राजनीतिक गतिविधिमा प्रायः सन्तुलित परिणाम आएको देखिदैन । उदाहरणको लागि नेकपाको दुई गुटको मध्यस्थतामा चीनले हस्तक्षेप गर्दा चीन सरकारले आफ्ना प्रतिनिधिको यात्रालाई सद्भावना यात्राको नाम दियो तर उनीहरुको प्रयत्न एनसीपीलाई एकजुट गर्ने थियो तर यसको परिणामस्वरुप अधिक दबाब र निर्देशले गर्दा सत्तारुढ एनसीपीभित्र बिभाजन भयो।

हालसालै चीनले नेपाल र यसको आन्तरिक राजनीतिक मामिलामा दृढतापूर्वक आफ्नो स्थान स्थापित गर्न खोजिरहेको छ र लगातार धेरै तरीकाले आफ्नो संलग्नता बढाउँदै आएको छ। विगतमा पूर्वाधारको विकासमा मात्र चीनको संलग्नता देख्न सकिन्थ्यो तर अन्य क्षेत्रहरुमा धेरै ठूलो हस्तक्षेप थिएन । पछिल्लो समयमा चीनले नेपाली राजनीतिमा भूमिका खोज्दै छ । चीनको डरलाग्दो इतिहासले धेरैलाई नेपाली राजनीतिमा हस्तक्षेप गर्दा यसको पछाडिको मनसायको बारेमा सोच्न बाध्य गरेको छ।
कतिलाई लाग्छ कि यो कुनै बाधा बिना बीआरआईको निर्माण गर्नको लागि हो साथै चीन केवल यति चाहन्छ कि कुनै राजनीतिक संकट बीआरआईको विकासको बाधक नबनोस्। बहु आयामी कनेक्टिविटी नेटवर्क र अन्य बीआरआई परियोजनाहरु पूरा गरी आफ्नो व्यापारलाई बिश्वभरि फैलाउन चाहन्छ।
नेपालमा चीनको संलग्नता नयाँ होइन तर यो गतिले समय अघि बढ्दै जाँदा शंकाको मार्ग बनिरहेको छ । यद्यपि नेपाललाई विभिन्न विकासका योजनाहरुको लागि चीनको आर्थिक सहयोगको आवश्यकता छ, यसको नकारात्मक पक्षहरुलाई कम गर्नको लागि उपायहरु अपनाउनु पर्छ। साथै, चीनसंग सम्बन्ध कायम राख्दा, नेपालले आफ्नो अन्य कूटनीतिक सम्बन्धहरुलाई भुल्नु हुदैन। निसन्देह हालका वर्षहरुमा नेपालमा चिनियाँ प्रभाव बढेको केही घटनाक्रमले चित्रित गर्दछ।


























