अनुहार ढाक्नेगरी फैलिएको मासुको दाताको सहयोगमा शल्यक्रिया

0
602

झापा,

अनुहार ढाक्नेगरी मासुको लुर्को फैलिएर गम्भीर स्वास्थ्य समस्या भोगिरहनुभएकी झापाको मेचीनगर–८ की ३५ वर्षीया विष्णुमाया मगरको दाताको सहयोगमा शल्यक्रिया भएको छ ।

काठमाडौँको सुषमा कोइराला अस्पतालमा उहाँको शल्यक्रिया गरेर अनुहार ढाक्ने गरी फैलिएको मासु फालिएको हो ।

विपन्न परिवारकी उहाँ अर्थाभावले वर्षौँदेखि अनुहारमा मासुको डल्लो बोकेर कष्ट व्यहोर्दै आउनुभएको समाचार राससमा प्रकाशित भएको थियो । उहाँको उपचारका लागि सुरुदेखि पहल गर्नुभएकी स्थानीयवासी निर्मला भण्डारीका अनुसार दाता उज्ज्वलविक्रम शाहको सहयोग र सामाजिक अभियानकर्मी नरेश मोहराको पहलमा उहाँलाई केही दिनअघि काठमाडौँको साँखुस्थित सुषमा कोइराला अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

पहिलो चरणको शल्यक्रिया सम्पन्न भएको र तीन महिनापछि अर्को चरणको शल्यक्रिया गर्नुपर्ने बताइएको भण्डारीले बताउनुभयो । पहिलो शल्यक्रियामा उहाँको अनुहार छोप्ने गरी फैलिएको मासुको लुर्को हटाइएको छ ।

चिकित्सकहरुले उपचार गर्न अरु ढिला भएको भए मासुको लुर्को च्यातिएर क्यान्सर फैलिने त्रास भएको बताउनुभएको थियो । उहाँको उपचारमा विभिन्न दाताले समेत सहयोग प्रदान गरेका थिए ।

उहाँको अनुहारमा मासु पलाउन थालेपछि रोजगारीका लागि काममा जानसमेत कठिनाइ भएको थियो । उहाँलाई अपाङ्गता प्रमाणपत्र दिलाउन पहल गर्दा नसकिएपछि भरणपोषणका लागि समेत दाता खोज्नुपर्ने अवस्था आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here