नाम मात्रैका सीसी क्यामेरा : जडित छ, प्रयोग छैनन्

0
547

पार्थ मण्डल,
झापा।

आपराधिक गतिविधि निगरानी गर्ने उद्देश्यले झापाका मुख्य शहर, राजमार्ग र सीमा क्षेत्रका बजारमा लाखौँ खर्चिएर जडान गरिएको सीसी क्यामेरा बिग्रिएर प्रयोगविहीन बनेका छन् ।

प्रविधिमैत्री शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले स्थानीयवासी, स्थानीय, प्रदेश र संघीय सरकारको सहयोगमा जिल्लाका अधिकांश स्थानीय तहमा २ सय ४७ स्थानमा सीसी क्यामेरा जडान गरिएको छ । जडान गरिएका सीसी क्यामेरामध्ये ९५ वटा चट्याङ, अनियमित विद्युत् आपूर्ति र मर्मत सम्भारको अभावले प्रयोगविहीन अवस्थामा छन् । कतिपय स्थानीय तहमा लामो समयदेखि सीसी क्यामेरा बिग्रिएर प्रयोगविहीन हुँदा प्रहरीलाई शान्ति सुरक्षा कायम गर्न चुनौति थपिएको छ ।

विशेष गरी भद्रपुर र काँकरभिट्टा सीमा नाका र बजार आसपास क्षेत्रमा जडान गरिएका सीसी क्यामेरा लामो समयदेखि प्रयोगविहीन अवस्थामा छन् । चोरी, तस्करी, लुटपाट, दुर्घटना र अन्य आपराधिक क्रियाकलाप जस्ता घटना न्यूनीकरण तथा रोकथामका लागि भद्रपुर नगर क्षेत्रमा ३६ स्थानमा सीसी क्यामेरा जडान गरिएको छ । वडा प्रहरी कार्यालय भद्रपुरले हिरासतसहित २७ स्थानमा र जिल्ला प्रहरी कार्यालय झापाले चार वटा हिरासतसहित ८ स्थानमा सीसी क्यामेरा जडान गरेको प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले जानकारी दिए । वडा प्रहरी कार्यालयको कन्ट्रोल कक्षले हेर्ने २७ मध्ये २३ वटा र जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल कक्षको हेर्ने ८ मध्ये २ वटा सीसी क्यामेरा बिग्रिएका छन् । मेची पुल, वडा प्रहरी कार्यालयको गेट, भन्सार र हिरासतमा लगाइएको सीसी क्यामेरा मात्र चालू अवस्थामा छन् ।

सगरमाथा चोक, हस्पिटल चोक, संगमचोक, भानुचोक, झापाचोक, बसपार्क, भद्रपुर बजार, जनताचोक, कनाचोक, ५ नम्बर वडा कार्यालयमा जडान गरिएका सीसी क्यामेरा बिग्रिएको वडा प्रहरी कार्यालयका इन्स्पेक्टर दलकुमार राईले जानकारी दिए । सीसी क्यामेरा बिगिँ्रदा नजिकिँदै आएको चाड पर्व लक्षित सुरक्षा योजना कायम गर्न प्रहरीलाई चुनौति थपिएको इन्स्पेक्टर राईले बताए । सीसी क्यामेरा बिग्रिएकोले त्यसको मर्मत सम्भारका लागि भद्रपुर नगरपालिकालाई लिखित रुपमा पत्राचार गरिसकेको बताउँदै उनले भने– ‘नगरपालिकाले क्यामेरा मर्मत सम्भारका लागि ५ लाख बजेट छुट्याएको जानकारी प्राप्त भएको छ ।’

यता नगर क्षेत्रमा चोरीका घटना बढेको भन्दै केही स्थानीयले भद्रपुर नगरपालिकालाई ज्ञापन–पत्र बुझाएका छन् । नरेश कुटवाल, गौरी राजवंशी, विकास ठाकुर, जीवन बोहरा र कृष्ण प्रधानले नगर क्षेत्रभित्र बिग्रिएका सीसी क्यामेरा तत्काल मर्मत सम्भार गरी दिन भन्दै नगरपालिकालाई पत्र बुझाएका हुन् । त्यस्तै प्रहरी कार्यालय झापाले हेर्दै आएको चन्द्रगढी बजार र टे«ड युनियन चोकको सीसी क्यामेरा मात्र चालू अवस्थामा छ । लेखनाथ चोक, वीरेन्द्र स्कुल अगाडिको सीसी क्यामेरा बिग्रिएको पनि लामो समय भइसकेको छ ।

त्यसैगरी पूर्वी नाका काँकरभिट्टा नाका जोडिएको मेचीनगरमा ८२ स्थानमा सीसी क्यामेरा जडान गरिएको छ । प्रदेश सरकारले ११ वटा र स्थानीयवासी, नगरपालिकाले ७२ वटा सीसी क्यामेरा नगरका विभिन्न स्थानमा जडान गरेको छ । त्यसमध्ये १६ स्थानको सीसी क्यामेरा लामो समयदेखि प्रयोगविहीन अवस्थामा छन् । बुद्धशान्ति गाउँपालिकामा जडान गरिएका ६ वटा सीसी क्यामेरामध्ये ५ वटा बिग्रिएका छन् ।

बिर्तामोड नगरपालिकामा ७६ स्थानमा जडान गरिएकामध्ये ५ स्थानका सीसी क्यामेरा बिग्रिएका छन् । त्यसैगरी अर्जुनधारामा जडान गरिएका २७ मध्ये ५ वटा, कनकाईमा जडान गरिएको ११मध्ये ५ वटा, शिवसताक्षीमा जडान गरिएको १५ मध्ये ३ वटा, कमल गाउँपालिकामा जडान गरिएको ७ वटामध्ये एउटा सीसी क्यामेरा बिग्रिएको अवस्थामा छ । दमक नगरपालिकामा जडान गरिएको २२ मध्ये ९ वटा र गौरीगञ्ज गाउँपालिकामा जडान गरिएको २१ मध्ये १९ वटा सीसी क्यामेरा बिग्रिएको अवस्थामा छन् । गौरादह नगरपालिकामा जडान गरिएको २१ वटा नै चालू अवस्थामा रहेको डीएसपी थापाले बताए । जिल्लाको कचनकवल, बाह्रदशी, झापा र हल्दिबारी गाउँपालिकामा हालसम्म सीसी क्यामेरा जडान नगरिएको उनले बताए ।

स्थानीय सरकार, स्थानीयवासीले १७५ वटा र प्रदेश, सङ्घीय सरकारले ७२ गरी २४७ वटा सीसी क्यामेरा जिल्लाभरि जडान गरेको छ । त्यसमध्ये ९५ स्थानका सीसी क्यामेरा प्रयोगविहीन बनेको उनको भनाइ छ । जिल्लामा जडित सीसी क्यामेराले प्रहरी कारबाहीका लागि महत्वपूर्ण भूमिका खेलेको बताउँदै उनले भने– ‘प्रयोगविहीन सीसी क्यामेराहरू पालिकासँग समन्वय गरी पुनः मर्मत सम्भार गरी सञ्चालनमा ल्याउने पहल भइरहेको छ ।’

विशेष गरी भीडभाड हुने मुख्य शहर, राजमार्ग र सीमा नाकाहरूमा सीसी क्यामेरा जडान गरिएको छ । ‘सीसी क्यामेरालाई जिल्लाभरि विस्तार गर्दै लैजाने प्रहरी सङ्गठनको नीति रहे पनि मर्मत सम्भारका लागि छुट्टै बजेट नहुनु र स्थानीय सरकारले पनि वार्षिक रुपमा बजेट नछुट्याउँदा यसलाई प्रयोगमा ल्याउन चुनौति देखिएको छ’– उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here