शान्तिसुरक्षामा चुनौति

४ आश्विन २०७८, सोमबार मा प्रकाशित
  •  
  • 602
  •  
  •  
  •  
  •  
    602
    Shares

कोभिड महामारीकै बीच हाम्रा चाडपर्वहरू पनि शुरू भएका छन् । संक्रमणको दर केही कम हुँदै गएको तथ्याङ्क सार्वजनिक भइरहेकाले सरकारले निषेधाज्ञा पनि हटाएको छ । यद्यपि स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै जीवन सामान्य ढङ्गले सञ्चालन गर्न स्वास्थ्य मन्त्रालय र जनस्वास्थ्य विज्ञहरूले सुझाव पनि दिएका छन् । वर्षाका कारण गएको बाढीपहिरो, कटान, डुबान लगायतका पीडा कम हुन थालेका छन् । नागपञ्चमीबाट प्रारम्भ भएका चाडबाडहरू कति त सम्पन्न नै भइसके भने नेपालीले मनाउने सबैभन्दा ठूलो चाड दशैंले प्रत्येकको घरको ढोका ढक्ढक्याउन थालेको छ । अब दुई दिनपछि पितृ पक्ष शुरू हुँदैछ । पूर्वीय संस्कृतिमा पितृहरूप्रति सम्मान प्रकट गरेपछि मात्र ठूला चाड मनाउने परम्परा छ । त्यस हिसाबले अनुपम संस्कृतिको रूपमा गणना गरिन्छ पूर्वीय संस्कृतिलाई ।

यहीबेला चोरी, लुटपाट, अपहरण, कालोबजारी, चन्दा आतङ्क जस्ता अपराधका घटना बढ्ने गरेका छन् । यसलाई नियन्त्रण गर्न नेपाल प्रहरीले विशेष सुरक्षा योजना बनाउने गर्छ । त्यसकै निरन्तरतास्वरूप प्रहरी प्रधान कार्यालयले चाडपर्व केन्द्रित सुरक्षा योजना लागू गर्न देशभरका जिल्ला प्रहरी कार्यालयहरूलाई निर्देशन दिएको छ । केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले दशैं, तिहार, छठ, इद लगायतका चाड भयरहीत मनाउन विशेष सुरक्षा योजना बनाएर लागू गर्न निर्देशन दिइएको बताएका छन् । पछिल्लो समय शान्ति सुरक्षाको प्रत्याभूतिका लागि प्रविधि पनि जोड्न थालिएको छ । आधुनिक र प्रविधिमैत्री उपाय तथा उपकरणको प्रयोगले सामाजिक अपराधहरू तुलनात्मकरूपमा केही कम पनि हुन थालेका छन् । नेपाल प्रहरी अपराध सुरक्षा अनुसन्धानको क्षेत्रमा विश्वमै प्रतिष्ठा आर्जन गरेको संयन्त्र पनि हो । अझ प्रविधिको प्रयोगले अनुसन्धानलाई सबल बनाएको छ । निर्मला पन्तको हत्या जस्ता केही अपराधका घटना भने अपबादका रूपमा छन् जसले नेपाल प्रहरीको कुशलतामा सवाल उभ्याइ रहेको छ ।

सामाजिक अपराधसहित सडक दुर्घटना र चोरी तस्करीका घटना न्यून गर्ने उद्देश्यले अहिले सीसी क्यामेरा जडान गर्न थालिएको छ । देशका धेरै शहरी क्षेत्रहरूमा जडान गरिएका क्यामेराका कारण यस्ता गतिविधिलाई नियन्त्रण गर्न र घटेका घटनाहरूको अनुसन्धान गर्न प्रहरीलाई सहज भएको छ । झापाका पालिका क्षेत्रहरू अहिले प्रविधिमैत्री बनाइएका छन् । आपराधिक गतिविधिलाई निगरानी र नियन्त्रण गर्न भन्दै स्थानीयबासी र तीनै तहका सरकारको सहयोगमा झन्डै अढाइसयवटा सीसी क्यामेरा जडान गरिएको छ । तर, चट्याङ लागेर, विद्युत् अनियमित भएर र मर्मतसम्भार नगरिएर पन्चानब्बे वटा क्यामेरा त्यत्तिकै छन् । राजमार्ग लक्षित क्यामेराले सवारीको गति र दुर्घटनालाई निगरानी गर्दै न्यूनीकरणमा सहयोग गरेको थियो भने सीमा क्षेत्रका क्यामेराले तस्करी निगरानी र नियन्त्रणमा प्रहरीलाई सघाएको छ । तर, तिनको नियमित निगरानी, मर्मतसम्भार नहुँदा शान्तिसुरक्षा कायम राख्न प्रहरीलाई चुनौति थपिएको छ । एकातिर चाडलाई भयरहीत बनाउनुपर्ने दायित्व अर्कातिर आर्जित प्रतिष्ठाको रक्षा गर्नु पर्ने चुनौति ,एकातिर शान्ति, अमनचयन र सुरक्षाको प्रतिवद्धता र अर्कातिर जनताको सेवाको जिम्मेवारीका बीच प्रहरीलाई स्थानीय सरकारको सहयोग आवश्यक हुन्छ । बिग्रिएका क्यामेरा मर्मत गरेर प्रहरीलाई निगरानी गर्न, सजग, सतर्क र तैनाथ रहन सम्बद्ध निकायको समन्वय पनि चाहिन्छ । यसतर्फ सबै सरकारको ध्यान जाओस् र योगदान पनि होस् । अनि मात्र जनताको चाड मात्र होइन सम्पूर्ण जीवन सुरक्षित हुन सक्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here