पत्रकार जोन रिडबाट के सिक्न सकिन्छ ?

४ आश्विन २०७८, सोमबार मा प्रकाशित
  •  
  • 520
  •  
  •  
  •  
  •  
    520
    Shares

‘संसारलाई हल्लाउने ती दश दिन’ पुस्तकका लेखक पत्रकार जोन रिड पत्रकारिता क्षेत्रको चम्किलो नाम हो । सन् १८८७ अक्टुबर २२ मा संयुक्त राज्य अमेरिकाको पश्चिम–उत्तरी राज्य ओरिगनमा जन्मेका जोन क्रान्तिकारी पत्रकार, कवि र समाजवादी राज्यव्यवस्थाका पक्षधर सामाजिक कार्यकर्ता थिए । अमेरिकी समाजको बेथिति, विकृति र विसंगति देखेर त्यसको विरुद्धमा र जनताको पक्षमा कलम चलाउने संकल्पकासाथ जब उनी पत्रकार बनेर अन्यायको विरोध गर्ने निर्णय गरे, तबदेखि उनलाई दुःखले श्रृंखलाबद्ध रुपमा पछ्याइरह्यो । उनी क्रान्तिकारी पत्रकार, लडाइँका लेखक र एक महान साहित्यकर्मी हुन् । संघर्ष र लडाइँको मैदानबाट समाचार पठाउने एक सफल सम्वाददाता रहेका रिड न्याय र समानताको पक्षमा दृढतापूर्वक उभिने संघर्षशील योद्धा पनि थिए ।

रुसी क्रान्तिकारी महिला नेतृ नादेझ्दा कोन्स्तान्तिनोभ्ना क्रुप्सकायाले पत्रकार जोन रिडको विशेषता बारेमा सटिक रुपमा भनेकी छन्– ‘उनी तटस्थ र उदासीन दर्शक जस्तो कहिल्यै बनेनन् ।’ पत्रकारलाई कसैको प्रशंसामा शब्दहरु खर्चिन सजिलो छ । तर, दुःख, पीडा, अन्याय, बेवास्ता र विभेदमा परेका मानिसका पक्षमा लेख्न त्यति सजिलो छैन । जब पीडित पक्षमा लेखिन्छ, तब पीडकको विपक्षमा लेख्नुपर्छ । जब राज्यले बेवास्ता गरेर विभेदमा पारी किनाराकृत गरिएका जनसमुदायका पक्षमा लेखिन्छ, तब राज्यसत्ताका विरुद्धमा लेख्नुपर्छ । सत्य, इमान र न्यायका पक्षमा उभिने सञ्चारकर्मीले पाइला–पाइलामा अजङ्गका चुनौतिको सामना गर्नुपर्छ र अनेकौं अभावसँग सिँगौरी खेल्नुपर्छ ।

आधुनिक सभ्यताको एक प्रमुख व्यवसायका रुपमा, सेवाका रुपमा र मानवजातिको सर्वोत्तम हितका लागि पत्रकारिता एक सशक्त क्षेत्रको रुपमा विकास भइरहेको छ । पत्रकारितामा समाचारहरुको एकत्रीकरण, लेखन, सम्पादन र सम्यक प्रस्तुतीकरण आदि सम्मिलित हुन्छ । आजको युगमा पत्रकारिता यस्तो माध्यम बनेको छ, जसले समाजको सकारात्मक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्छ । बदलिँदो समयका साथसाथै पत्रकारितामा बजारवाद वा कर्पोरेट पत्रकारिता हावी हुँदै गएको छ । मिसन पत्रकारिताका नाममा पार्टी पत्रकारिता पनि उत्तिकै प्रभावी छ । पत्रकारिताको प्रभावकारितालाई प्रभाव पार्ने अन्य तत्वहरु पनि देखा परेका छन् । पत्रकारहरु स्वतन्त्र हुनुपर्छ भन्ने आम बुझाइ छ । स्वतन्त्र पत्रकारिता भनेको के हो ? आजको युगमा स्वतन्त्र पत्रकारिता सम्भव छ ? आम रुपमा भन्ने हो भने स्वतन्त्र पत्रकारिता सम्भव छैन । पत्रकार सामाजिक हुन्छ । सत्य, इमान र जनताको पक्षधरता उसको धर्म हो । ऊ स्वतन्त्र रहनै सक्दैन ।

समाजमा घटेका अन्याय, अत्याचार र व्यभिचारको खिलाफमा उसले लेख्नैपर्ने हुन्छ, बोल्नैपर्ने हुन्छ । साँगुरो अर्थमा भन्ने हो भने स्वतन्त्र पत्रकारिता सम्भव छ । कर्पोरेट मिडिया हाउस, राजनीतिक दल र व्यापारिक घरानाबाट अलग समाज पक्षधर भएर पत्रकारिता गर्न सम्भव छ । यस अर्थमा स्वतन्त्र पत्रकारिता हुनसक्छ । तर यो काम चुनौतिविहीन निश्चय नै छैन । पत्रकारिताका नाममा पार्टीकारिता गर्नु चाहिँ राम्रो मानिन्न । मिसन पत्रकारिताको धर्म भनेको प्रत्यक्ष वा परोक्ष जे भए पनि राजनीतिसँग जोडिएको हुन्छ । स्वतन्त्र पत्रकारका रुपमा आफ्नो रचनात्मक क्षमताका आधारमा समाज र मुलुकका हितमा पत्रकारिता हुनसक्छ । देश दुनियाँमा घटेका अन्याय, दमन र अत्याचारका दुर्दान्त घटनाबाट अलग रहेर स्वतन्त्र पत्रकारिता सम्भव छैन । अमेरिकी पत्रकार जोन रिडले वर्ग पक्षधरताको उदाहरण प्रस्तुत गरेका छन् आफ्नो पत्रकारिता मार्फत् । अबोल जनावरजस्तो वा बोलीविहीन मानिस जस्तो पत्रकार समाजमा घटेका घटनामा चुपचाप रहन सक्दैन भन्ने कुरा जोन रिडले सिद्ध गरेका छन् । सामाजिक र सचेत प्राणीको रुपमा मानिस सधैँ समाजमा घटेका घटनासँग प्रत्यक्ष वा परोक्षरुपमा जोडिएको हुन्छ । राज्यलाई हरेक नागरिकले कर तिरिरहेको हुन्छ र राज्यका हरेक गतिविधिका बारेमा टिप्पणी गर्ने र त्यसमा समर्थक वा विरोधीका रुपमा सरिक हुने उसमा अधिकार हुन्छ ।

जोन रिड स्वतन्त्र पत्रकार भए पनि समाजभन्दा अलग थिएनन् । संघर्ष र लडाइँको आगोबाट समाचार पठाउने एक सफल सम्वाददाता पनि हुन् उनी । हार्दिकता र सरलताका धनी जोन रिड युगबोध भएका पत्रकार थिए । उनी प्रति सदैव प्रशासनको बक्रदृष्टि थियो । उनमा अति नै मानवीय संवेदना थियो र यसैका कारण उनी उत्पीडित र शोषितको सेवाका लागि तयार हुन्थे । उनले जहाँ–जहाँ न्यायका लागि संघर्ष गरे, त्यहाँका सरकारले उनलाई जेलमा कोचेर अति नै दुःख दियो । तर, सुन घोटिएर चम्के झंै उनको प्रतिभा चम्किँदै गयो । उनले लोकप्रियताको आकाश चुमे, प्रसिद्धिको सगरमाथा टेके । उनको क्षमता बुझेकै कारण उनलाई सरकारहरूले सहजरुपमा कहिल्यै काम गर्न दिएनन् । कवि, पत्रकार र राजनीतिक योद्धाको रुपमा उनी एक अमर कथा बनेका छन् संसारका अग्रगामी सोचका पत्रकारका लागि । समाजका घटेका सामान्य घटनाका विषयवस्तुलाई समाचारका रुपमा प्रस्तुत गर्नु सामान्य कुरा हो, तर राज्यका बेथितिका विरुद्ध वैकल्पिक कित्ताबाट कलम चलाउनु लोकतन्त्र नभएको मुलुकमा त्यति सजिलो हुँदैन ।

उनका ‘सानगर’ (कविता संग्रह), ‘संसार हल्लाउने ती दश दिनहरु’, ‘पाटरसन हडतालका नायक’, ‘द्वन्द्वग्रस्त मेक्सिको’, ‘पूर्वी युरोपको युद्ध’, ‘अमेरिका’ (कविता संग्रह) लगायतका कृतिहरु प्रकाशित गरेका थिए । उनी साहित्यकारभन्दा बढी पत्रकार थिए । क्रान्तिप्रतिको नैष्ठिक अध्येता भएकाले नै उनी प्रसिद्धीको यो उचाइमा पुग्न सकेका थिए । उनकोे व्यक्तित्व यति निख्खर थियो कि स्वयम् भ्लादिमिर इल्यिच लेनिनले उनको वर्ग पक्षधरता, क्षमता, कामप्रतिको लगाव, तथ्यपरकता, गतिशिलताको प्रशंसा गरेका थिए । उनका कालजयी रचनाले नै उनलाई अमर तुल्याएका छन् । उनले सदैव वर्गीय उत्पीडन विरोधी मानवतावादी चिन्तनको पक्षपोषण गरे । त्यो अजम्मरी सपना उनका युगीन चेत बोकेका लेखनीमा अभिव्यक्त भएका छन् । गरीब दुःखी मेहनतकश जनताको पक्षमा किन उनले वकालत गरे भन्ने प्रश्नमा उनले भनेका थिए– ‘मैले गरिबीको कुरुपता हेरिरहन सकिन, राम्रा र चिल्ला कारमा हुँइकिने धनीहरुको शानशौकत र वेरोजगार हुने र काम पाउँदा पनि भोकले मर्नुपर्ने निर्दयी दरिद्रहरु बीचको असमानतालाई ठीक भन्न सकिन, यो मैले कुनै किताब वा धर्मशास्त्र पढेर जानेको होइन, मजदुरले रगतपसिना बगाएर कमाएको सम्पत्ति किन धनी मानिस जो काम गर्दैन उसकोमा जान्छ र काम गर्ने किन पीडामा मर्नुपर्छ भन्ने प्रश्न मेरो मनमा सधैँ आयो ।’

जब उनले पत्रकार बन्ने अठोट गरे, उनी यसका लागि कलकारखाना भएको र मानवको घना बस्ती भएको न्यूयोर्क शहरमा पुगे । उनले उनको जीवनका लागि अति नै महत्वपूर्ण मानिसहरुसँग त्यहाँ भेटे, जसले उनको पत्रकारिताप्रतिको मोहलाई मलजल गर्दै अझै परिपक्व र परिष्कृत बनाउन सहयोग गरे । उनले त्यहाँ पत्रकारिताको सीप र ज्ञान दुबै हासिल गरे । पाण्डुलिपि अध्ययन गर्ने, भाषा सम्पादन गर्ने र समाचार रचना गर्ने काम मुख्यतः उनले त्यहीँबाट सिके । हार्बड विश्वविद्यालयबाट सन् १९१० मा स्नातक गरेका रिडलाई मजदुरका पक्षमा लेखेको, मजदुर हडतालको समर्थन गरेको र सरकारविरुद्धमा सार्वजनिकरुपमा भाषण गरेको अभियोगमा पटक–पटक गिरफ्तार गरियो । उनले युद्ध संवाददाताको रुपमा पनि काम गरेका थिए ।

उनी रुसको बोल्सेभिक क्रान्तिका प्रत्यक्षदर्शी थिए । उनका नाममा दर्जनौं क्लबहरु बनेका छन्, दर्जनौं चलचित्रहरु बनेका छन् र अमेरिका मात्र होइन संसाभरि नै उनलाई श्रद्धाका साथ आज पनि स्मरण गरिन्छ । अदम्य साहस, प्रष्ट विचार, क्रान्तिप्रतिको समर्पण र असीमित ऊर्जा भएका रिड जब अमेरिकाले पहिलो विश्वयुद्धको घोषणा ग¥यो, उनी युद्धको विरुद्धमा र शान्तिको पक्षमा उभिए । युद्धविरोधी उनको नीतिको कारण उनको पत्रिका पनि सरकारी दबाबमा प¥यो । युद्ध कति मानवताविरोधी र क्रुर हुन्छ भन्ने देखाउँदै उनले लेखेका थिए– ‘मलाई थाह छ युद्ध के हो । मैले सामान्य अवस्थामा रहेका फौजीलाई देखेको छु, मानिसहरु बौलाएको देखेको छु, अस्पतालका बेडमा मृत्यु कुरेर बसेको देखेको छु, तर युद्ध भनेको त्यति मात्र हुँदैन । युद्ध भनेको त जाति बौलाएको हो, सत्य बोल्नेलाई क्रसमा झुण्डाइन्छ, कलाकारलाई टुक्रा–टुक्रा पारेर काटिन्छ, सुधारका बाटा बन्द हुन्छन् । धेरै वर्षका लागि देश ज्यादै खराब अवस्थामा जानेछ मानिसलाई बस्नका लागि ।’

उनले युद्धपछि मानिसहरु कम सहनशील हुने छन्, कम मित्रवत हुनेछन् र युद्धपिपासुहरु सामान्य मानिसको रगत नसिद्धिञ्जेलसम्म लडाइँ जारी राख्नेछन् भनेर घोषणा गरेका थिए । उनले भनेको कुरा नेपालमा पनि दश वर्षे जनयुद्धपछि अनुभूत भएको हो । मानिस मर्नु, मारिनु र अन्यायमा पारिनु स्वाभाविक जस्तो हुन्छ युद्धका बेला र युद्धपछि । अन्याय भएको छ भने पनि अन्यायमा पर्नेको पक्षमा मानिस बोल्दैन । क्याल्कुलेटरमा घाटानाफाको हिसाब हुन्छ, अन्यायको पक्षमा बोल्दा फाइदा हुन्छ कि घाटा ? जीवनको महत्वको कुनै अंकगणित छैन ।

जोन रिड परिवर्तनका पक्षधरका लागि एक बिम्ब हुन् । उनी पत्रकारिता जगतका स्वच्छन्द क्रान्तिकारीकारुपमा मानिन्छन् । वास्तवमा उनी साम्यवाद समर्थकका लागि अन्तर्राष्टिूय क्रान्तिका प्रतीकका रुपमा मानिन्छन् । प्रत्यक्षदर्शीको रुपमा उपस्थित भएर रुसमा भएको समाजवादी क्रान्तिमा आधारित रहेर लेखिएको ‘संसारलाई हल्लाउने ती दश दिन’ पुस्तक विश्व प्रसिद्ध बन्यो । उनले सोभियत नेता लेनिनसँग पटक–पटक भेटे । लेनिनलाई उनले– ‘संसारलाई हल्लाउने ती दश दिन’ पुस्तक दिए । लेनिनले सो पुस्तकको खुला हृदयले प्रशंसा गरे । उक्त पुस्तकले रुसी समाजवादी क्रान्तिलाई विश्व समक्ष प्रचार गर्न मात्र सहयोग गरेन, बरु संसारभरि नै समाजवादी क्रान्तिको ध्वजा फहराउन ठूलो योगदान ग¥यो ।

टाइफसका कारण १९२०, अक्टोबर १७ मा मस्कोमा उनको निधन भएको थियो र क्रेमलिनको नेक्रोपोलिसमा एक नायकको सम्मानसहित उनको अन्तिम संस्कार सम्पन्न गरिएको थियो । उनले छोटो जीवन एक क्रान्तिकारी लेखकको रुपमा र परिवर्तनका पक्षधरका लागि एक नायकको रुपमा बिताए । एकजना व्यक्तिले पनि स्वतन्त्र पत्रकारका रुपमा धेरै काम गर्न सक्छ भन्ने अनुशरणीय व्यक्तित्वका रुपमा उनलाई लिन सकिन्छ । उनको जीवनबाट पत्रकारहरु समाजका सबै घटना, गतिविधि र परिवर्तनप्रति निष्पृह द्रष्टा हुन सक्दैनन् । तर उनीहरु वास्तविक अर्थमा सामाजिक गतिविधिमा सक्रिय कर्ता हुनुपर्छ भन्ने कुरा सिक्न सकिन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here