विचित्र नेपाली समाज

५ आश्विन २०७८, मंगलवार मा प्रकाशित
  •  
  • 872
  •  
  •  
  •  
  •  
    872
    Shares


भूमिका :
विभिन्न दृष्टिकोण र वादहरुको माध्यमबाट नेपाली समाजको वर्तमान चरित्र र अवस्थाको विश्लेषण गर्दा भिन्न–भिन्न देखिनु स्वभाविक नै हो । नेपाल कम्युनिष्ट पार्टीको राजनीतिक प्रतिवेदनमा नेपाली समाज दलाल पुँजीपतिको वर्चस्व कायम रहेको समाजको रुपमा चित्रण गरिएको छ भने विश्व कम्युनिष्टहरुको आत्मदर्शन माक्र्सवादमा आस्था राख्ने नेकपाले दलाल पुँजीवादी भनेको नेपाली समाज वरिष्ठ समाजशास्त्री डोरबहादुर बिष्टको दृष्टिकोणमा भाग्यवादी समाज भनेका छन् ।

कतिपय विदेशी समाजशास्त्रीको नजरमा नेपाली समाज टेकअप स्टेजकाको चरित्र बोकेको समाज भनेर ब्याख्या गरेको छन् । त्यस्तै वीपी कोइरालाको समाजवादले नेपाली समाजलाई सामन्ती चरित्र बोकेको र असमानता र आर्थिक शोषण व्यापक रहेको समाजको रुपमा चित्रण गरेको छ । राजनीतिक दर्शन र सामाजिक सिद्धान्तको जगमा गरिएका यस्ता चरित्र चित्रण आ–आफ्नो कोणबाट ठिक वा बेठिक हुन सक्छन् । तर, यस्ता दर्शन र सिद्धान्तबाट अलग भएर फरक ढङ्गको समकालीन समाजको विश्लेषण गर्ने कोशिस यस आलेख मार्फत गरिएको छ ।

नेपाली समाजको चित्रण :

वर्तमान नेपाली समाज दोधारे प्रवृत्ति र विरोधाभाषपूर्ण प्रकृतिको रहेको छ । यहाँ को कस्तो ? कुन समाजको चरित्र के ? कुन परिवारको संस्कार के ? ठम्याउनै मुस्किल भएको छ । व्यक्तिदेखि समग्र देशसम्म कसैको वास्तविक चरित्र छुट्याउन नसकिने अवस्था छ । अरुका अगाडि सबै इमान्दार हुन खोज्छन् । तर, इमानको लडाइँमा कोही सहभागी हुनेवाला छैनन् । सार्वजनिक स्थानमा भ्रष्टाचार र सदाचारका लामा–लामा भाषण गर्न पछि नपर्ने महाशय सानो अवसर पाउने बित्तिकै आफै भ्रष्टाचारमा लिप्त हुन पुग्दछन् । हात्तीको देखाउने दाँत र खाने दाँत अलग हुन्छ भने झैं नेपाली समकालीन समाजको व्यवहार दोधारे र दुई जिब्रे प्रवृत्तिको रहेको छ । पुरातन रुढीवादी व्यवहार छोडे जस्तो पनि गर्ने तर छोड्न नसक्ने, अनि नविनतम् आधुनिकता अपनाउन पनि खोज्ने, तर अपनाउन पनि नसक्ने किसिमको ढुलमुले र विरोधाभाषी समाज हो नेपाली समाज ।

भ्रष्टाचार मौलायो भनेर सार्वजनिक स्थानमा प्रवचन गर्दै हिँड्ने, तर मताधिकारको प्रयोग गर्दा भ्रष्टाचार प्रमाणित भइसकेको व्यक्तिलाई भोट हाली विजयी गराउने समाज हो नेपाली समाज । समकालीन नेपालीसम्म यतिसम्म पाखण्डी भइसकेको छ कि शिक्षा र स्वास्थ्य राज्यको दायित्व हो भन्दै निजीकरणको व्यापक विरोधमा भाषण गर्छ । तर, तिनै निजी विद्यालय र निजी अस्पतालको मालिक हुन दिनरात लागीपर्दछ । हरेक सरकारी कार्यालयको ढोकामा लेखिएको हुन्छ– म भ्रष्टाचार गर्दिन र भ्रष्टाचार हुन पनि दिन्न भनेर ठूला अक्षरले कोरिएको हुन्छ । तर, भित्र पस्दा घुस र कमिशन बिना ओल्लो टेबलको फाइलको पल्लो टेबलमा सर्दैन ।

देशभरका सोझासाझा जनतालाई बुर्जुवा शिक्षा नपढ्नु भनेर आन्दोलनमा लगाएका टाठाबाठाहरुले आफ्ना छोराछोरी युरोप, अमेरिकाका विश्वविद्यालयमा पढाएका स्वार्थी चरित्र बोकेको समाज हो । जनयुद्धमा खर्च नगरी तडकभडक बिनाको क्रान्तिकारी विवाह गर्नुपर्छ भन्दै सामुहिक विवाह गराउने, तर आफ्ना सन्तानको पाँचतारेमा होटेलमा धुमधामसँग विवाह गर्ने चरित्र बाकेको समाज हो । अरुका अघि स्वदेशको माटो र देशप्रेमको गाथा गाउँदै हिँड्ने र घरभित्र पुग्नासाथ अमेरिकन दूतावासको वेभसाइट खोलेर इ.डि.भी. भर्ने समाज हो । दुँनियाका छोराछोरीलाई मातृभाषा पढाउन उत्प्रेरित गर्ने, वैदेशिक रोजगारीमा खाडी मुलुक गएर दुई–चार पैसा कमाउन हुन्न नत्र देशको विकास हुन्न भन्दै वेरोजगार राख्ने अनि आफ्ना छोराछोरी चाहिँ एसएलसी सक्ने बित्तिकै युरोप, अष्ट्रेलिया र अमेरिका पठाउने पाखण्डी समाज हो ।

स्वदेशमा भइञ्जेल परिश्रम भनेको भुत्लोभाङ्ग नगर्ने, डुकुलन्ठक भएर हिँड्ने अनि विदेशको भिसा लाग्ने बित्तिकै संसार नै जिते जस्तो फुँइ लाउँदै पासपोर्ट चेपेर विदेश भासिने र त्यहाँ पुगेर नेपालमा बसेकाहरुले देश सखाप पारे, म त्यहाँ भएको भए हाम्रो समाज यस्तो हुन दिन्न थिँए भनेर सामाजिक सञ्जालमा बुर्कुसी मार्ने दोधारे चरित्र बोकेको समाज हो– नेपाली समाज ।

शिक्षामा व्यापक राजनीतिकरण भयो भनेर घण्टौं चिया पसलमा गफ छाट्ने, तर आफू शिक्षक भएर अमूक राजनीतिक दलको झोले बन्ने, म त निष्पक्ष र तटस्थ पत्रकार हो भनेर आवाज उठाउने, तर अमूक राजनीतिक दलको भातृ संगठनको सदस्यता गोजीमा बोक्ने, समाजिक हिंसा, महिला हिंसा, कुरीति, अन्धविश्वास जरैदेखि उखेलेर फाल्ने भन्दै प्रवचन दिने तर आफैं आफूले लगाएको कट्टु श्रीमतीलाई धुन लगाउने, बोक्साबोक्सीको आरोप लगाउने, जातीय विभेद गर्ने दोहोरो चरित्र बोकेको समाज हो– नेपाली समाज ।

मेरो त एउटी छोरी अष्ट्रेलिया, एउटा छोरा अमेरिका गएको छ, तिम्रो छोराछोरी त नेपालमा बसेर बिग्रिने भए मन्दै छिमेकीलाई लान्ञ्छना लगाउने तर आफू बिरामी पर्दा तातोपानी तताउन र अस्पताल लैजानका लागि त्यही छिमेकीको छोराछोरी बोलाउनु पर्दा पनि लाज नमान्ने समाज हो– नेपाली समाज ।

फिनल्याण्डमा ३४ वर्षीय युवा सान्ना मरिन्ना प्रधानमन्त्री हुँदा सामाजिक सञ्जाल भरिने गरी बधाई दिँदै नेपालमा कहिले यस्तो अवस्था आउला भनेर चिन्ता प्रकट गर्ने तर आफ्ना पार्टीका ७० वर्ष पुगेका नेतालाई प्रश्न गर्न नसक्ने समाज हो– नेपाली समाज ।

मानवअधिकार र सामाजिक न्यायको पक्षमा माइतीघर मण्डलामा दिनभर उफ्रने, तर कुख्यात अपराधीको पक्षमा खुलेआम वकालत गर्न अलिकति पनि नहिच्किचाउने समाज हो– नेपाली समाज ।

सबै समस्याको जड संस्कारविहीन राजनीति र असक्षम नेतृत्व हो र यसलाई नसुधारी देश विकास हुँदैन भन्दै गर्जने, तर पार्टीले ढुङ्गाको मूर्ति जस्तो व्यक्ति चुनावमा उठाए पनि त्यसैको समर्थनमा मतदान गर्ने बाहुल्य भएको समाज हो । पुँजीवादी दलाल प्रवृत्तिको सकेसम्म विरोध गर्ने तर आफैं पुँजीपति बन्न चाहने विरोधाभाषी चरित्र भएका मानिसहरु बसोबास भएको समाज हो ।

मुखुण्डो ओढेकाभित्र र बाहिर दुई चरित्र बोकेका दोधारे र विरोधाभाषी अवस्थामा गुज्रिरहेको नेपाली समाजमा नेतादेखि क्रेतासम्म, हाकिमदेखि पिउनसम्म, व्यापारीदेखि आम सर्वसाधारणसम्म, कृषक, उपभोक्ता, शिक्षक, विद्यार्थी, पत्रकार, प्राध्यापक, डाक्टर, इञ्जिनियर, विभिन्न पेशाकर्मी, आम नागरिक समग्र समाज नै यही विरोधाभाषी चरित्रबाट गुज्रिरहेको छ । न त यो भाग्यवादी समाज हो न त पुँजीवादी, समकालीन नेपाली समाज आफंैमा गुजुल्टिएको दोधारे र विरोधाभाषी चरित्रसहित विचित्रताभित्र रुमल्लिएको समाज हो ।

आफ्नो घर अगाडिको बाटोमा परेको खाल्डोमा बाइक फसेपछि सरकार र नेतालाई गाली गर्दै बाइक ठेलेर निकाल्ने तर कुरा र उपदेश चाहिँ विश्वका सबै देश र समाजमा घटेका राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक घटनाहरुमा उत्कृष्टै दिने समाज हो– नेपाली समाज । आज एमसीसी र अन्य राजनीतिक घटनाक्रमको बारेमा सबै जाने बुझेसरी ब्याख्या र विश्लेषण गर्दै नेतलो देश सक्न लागे भन्ने हाम्रो समाजका बुज्रुकहरु भोलि चुनावमा तिनै नेताको पछि गुणगान गाउँदै झण्डा बोकेर कुद्ने समाजका हामी कस्तो सामाजिक स्थिति सिर्जना गर्दैछौं अचम्म र उदेक लाग्दो किसिमको छ ।

गरीब, निमुखा, पिछडिएका, निम्न वर्गको नाममा राजनीति गर्ने भनौंदाहरु आज आफैं सम्पन्न र धनाढ्य भएर करौडौंको सम्पत्तिमा जीवन व्यतित गरिरहँदा पनि तिनैको जय जयकार गर्दै हिँड्ने बानी परेका नेपाली समाजको विद्यत वर्ग पनि स्वार्थ केन्द्रित र आत्माकेन्द्रित भएको अवस्था छ ।

तसर्थ, जबसम्म हामी मूर्तिको अगाडि उभिँदैमा कोही धर्मात्मी हुँदैन भन्ने कुरा बिर्सन्छौं, तबसम्म हाम्रो जीवन यसरी अघि बढ्नेछ । हाम्रा सन्तती पनि यस्तै अवस्थाबाट पिसिने छौं । नेपाली समाजमा रहेका तीन वर्गहरु मध्ये उच्च वर्गको मुठ्ठीमा सत्ता र शक्ति रहनेछ भने माध्यम वर्ग उच्च वर्ग हुने कोशिसमा जीवनको सामथ्र्य खर्च गर्दै बस्नेछ भने निम्न वर्ग दुईछाक टार्ने समस्यामा जे पनि गर्ने अवस्थामा रहने छ । यसबाट मुक्ति प्राप्त गर्न नेपाली समाजमा फेरि एउटा ठूलो वैचारिक क्रान्तिको आवश्यकता छ । फेरि अध्ययनको फराकिलो क्षेत्रको आवश्यकता छ । फेरि एउटा विशाल र दयालु हृदयको खाँचो छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here