पानी पिउन समेत नसक्ने गोपी स्याउ खान थाले…

५ आश्विन २०७८, मंगलवार मा प्रकाशित

बिर्तामोड । 

जीवन र मरणको दोसाँधमा रहेका झापाका अर्जुनधाराका गोपी बस्नेतको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।

पानी पिउन समेत नसक्ने अवस्थामा रहेका उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको पूर्ण–टुङ्ग बिर्तासिटी अस्पतालले जानकारी गराएको छ । पूर्वाञ्चल दैनिकले अर्जुनधारा–६ लक्ष्मीपुरका २८ वर्षीय गोपीको स्वास्थ्य अवस्थाको विषयमा समाचार प्रकाशन गरेलगत्तै अस्पतालले उनको सम्पूर्ण स्वास्थ्य उपचारको जिम्मा लिएर उपचार शुरु गरेको थियो ।

आर्थिक अभावका कारण उपचार नपाएर गोपीका शरीरका विभिन्न भाग कुहिन थालेको अवस्थाको विषयमा पूर्वाञ्चल दैनिकले समाचार प्रकाशन गरेसंगै अस्पतालका अध्यक्ष गोपालकुमार बस्नेतले उनको उपचार निःशुल्क गर्ने घोषणा गरेलगत्तै उनको उपचार शुरु भएको थियो । आठ दिनअघिबाट उपचार शुरु गरिएका उनको स्वास्थ्यमा सुधार भएको उनका बुवा बलबहादुर बस्नेतले बताए ।

पूर्वाञ्चलकर्मी मंगलबार अस्पताल पुग्दा बलबहाुदरले भने– ‘छोराको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ ।’ छोरा छिट्टै निको हुनेमा आफू आशावादी रहेको जानकारी समेत गराए । अस्पतालका जनसम्पर्क अधिकारी बमबहादुर बस्नेत र प्रशासन प्रमुख विनोद बस्नेतले छोराको उपचारमा उल्लेख्य सहयोग गरेको भन्दै उनले खुशी समेत व्यक्त गरे ।

अस्पतालका अध्यक्ष बस्नेतले गोपीको सम्पूर्ण उपचारपछि उनलाई अस्पतालले नै रोजगारीको समेत व्यवस्था गरिदिने बचन दिएका छन् । गोपीले नियमित रुपमा टिभीको औषधि सेवान गर्न शुरु गरेको र उनको शारिरीक अवस्था कमजोर भएकाले चिकित्सकको नियमित निगरानीमा उपचार भइरहेको बताइएको छ ।

उनको फिजियोथेरापी पनि भइरहेको बताइएको छ । पानी समेत पिउन नसक्ने अवस्थामा रहेका गोपीले स्याउ खान थालेका छन् । उनको उपचारका साथै बुबाको खाना, बस्न लगायत सबै निःशुल्क गरिएको अस्पताल स्रोतले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here