बढ्दो अपराध मनोवृत्ति

६ आश्विन २०७८, बुधबार मा प्रकाशित

जैनमार्गीहरू मुखमा कपडा लगाएर हिँड्छन् । सेतो रूमालले मुख छोपेर हिँड्नुको कारण कुनै जीवको हत्या नहोस् भन्ने हो । सेतो रङ्ग शान्तिको प्रतीक हो, त्यसैले जैनमार्गीहरूको पहिरन नै उनीहरूको पहिचान हो । उनीहरू आँखाले देख्न नसकिने अति सूक्ष्म जीवहरूको पनि बाँच्न पाउने अधिकार आफ्नो कारणले हरण नहोस् भनेर जहिल्यै सचेत हन्छन् । त्यसैगरी राजकुमार सिद्धार्थ पनि प्राणीमात्रको कल्याण चाहन्थे । बिहानीले दिउँसोको सङ्केत गर्छ भने जस्तै भयो उनको जीवनमा । उनले जब बुद्धत्व प्राप्त गरे उपदेशका माध्यमबाट हिंसा, हत्यारहीत समाज निर्माण गर्न प्रेरणा दिन थाले । चोर्नु, झुटो बोल्नु वा कसैलाई मन, वचन, कर्मले हानी पु¥याउनु पनि अपराध थियो बुद्धका नजरमा । भगवान बुद्धका तिनै वाणी र उपदेशकी एक अनुयायीले गीतको गायनबाटै अहिंसा नै ठूलो धर्म हो भन्दै ‘मेरो पाइलाले किरै नमरोस्’ भनेकी छन् । वैदिक सनातन धर्म समेतले पृथ्वीका सम्पूर्ण प्राणी ईश्वरका सन्तान हुन् भन्दै सहअस्तित्व स्वीकार गर्न निर्देश गरेको छ ।

बुद्ध जन्मिएकोले शान्तिभूमि, ऋषिमुनिदेखि देवताहरूसम्मले तपस्या गरेको भनेर तपोभूमि भन्दै आएको नेपालमा पछिल्लो काल हत्याका श्रृंखला निरन्तर उकालो लाग्दैछ । मानिसलाई न ऋषिमुनि न कुनै दर्शन, न शास्त्रीय मान्यता न त कुनै सनातनी परम्पराले अपराध मानसिकताबाट अलग गर्न सकेको छ । कुनै मुक प्राणीको समेत हत्याको कारण नबनिनु भन्ने मानवतावादको मर्म विपरीत हुन थालेका जघन्य हत्याका घटनाले नेपाली जातिको अस्तित्व र पहिचान मै सबाल खडा गर्न थालेको छ । अज्ञानताबस, भुलबस वा दुर्घटनाबाट प्राण जानु क्षम्य हुनसक्छ तर, करिब पाँच दशकअघि राजनीतिक परिवर्तनका नाममा शुरू भएको व्यक्ति हत्याको क्रम त्यसको तीन दशकपछि हजारौंको हत्यामा पुगेको थियो जो क्षम्य हुन सक्दैन । जनयुद्धका नाममा गरिएको सशस्त्र संघर्षमा जीवन गुमाउनेहरू, अङ्गभङ्ग भएका र परिवारका सदस्य गुमाएकाहरूको पीडा आज पनि यथावत छ । आखिर हिंसा, द्वन्द्व र हत्याको परिणाम सुखद् त नहुने नै रहेछ, इतिहासले त्यसै भन्छ ।

पछिल्लो कालमा यस्ता अपराधहरू घट्नुको साटो झन् बढ्दै गएको छ । दिनहुँ अपराध कर्मका समाचारहरूले सञ्चारमाध्यम भरिएका छन् । तर, गत भदौ २१ गते संखुवासभाको मादीमा भएको परिवार नै सखाप हुने गरीको हत्याको घटना मानव जातिमा कलङ्कको घटना हो । स्थानीय कार्की परिवारका छ जनाको सामुहिक हत्याका पछि न राजनीति जोडिएको छ न त धनसम्पत्ति । प्रहरीले सम्पूर्ण शक्ति प्रयोग गरेर अनुसन्धान गरेर भेटेको स्रोतबाट उक्त घटना नियोजित रहेको ठहर गरेको छ । पारिवारिक नाताभित्रकै र छिमेकीहरू नै हत्यामा संलग्न देखिनुले मानिसमा सहृदयता, हार्दिकता, मानवभाव, दया, माया, प्रेम, करूणा जस्ता गुण मरेको पुष्टि गरेको छ । सात वर्षीया अबोध बालिकादेखि ८४ वर्षीया बृद्धासम्मको हत्या हुनुका पछिको कारण अनुसन्धानको निष्कर्षले भोलि देखाउला । तर, यस्तो जघन्य अपराध मनोवृत्तिले हाम्रो उदार, सहिष्णु, प्रेमील र सद्भावयुक्त समाजलाई कता डो¥याउँदैछ भन्ने चिन्तालाई कम गर्न भने सक्दैन । ‘झुटो टिक्दैन’ भन्ने भनाइ प्रहरीको अनुसन्धानले फेरि प्रमाणित गरेको छ । तर, आम जनतामा असुरक्षित महशुस पनि गराएको छ । आखिर मानिस किन यति बिघ्न आपराधिक मानसिकताबाट ग्रस्त हुँदैछ, जिम्मेवार निकाय र सरकारले खोजी गर्नुपर्छ । कतै भौतिक सुखको चाहना, कुण्ठाग्रस्त मानसिकता, इष्र्या वा महत्वाकांक्षाको परिणाम त होइन ! कारण जे भए पनि यस्ता जघन्य अपराधमा संलग्न सबैले कठोर सजायबाट उन्मुक्ति पाउनु हुँदैन । हत्या जस्तो अपराध फेरि नदोहोरियोस् यसतर्फ सरकार पनि गम्भीर हुनुपर्छ र प्रहरीले पनि आफ्नो क्षमतालाई झन् परिमार्जन गर्दै शान्तिसुरक्षामा उत्पन्न चुनौतिको सामना गर्ने सामथ्र्य निर्माण गर्नुपर्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here