अधिकार कुन चरीको नाम

६ आश्विन २०७८, बुधबार मा प्रकाशित
  •  
  • 652
  •  
  •  
  •  
  •  
    652
    Shares

नेपालको राजनीति गर्ने धुरन्धर क्रियाशील अथवा होल्डटाइमरहरु अन्त्यमा आएर पेशाको रुपमा पुगीसकेका हुँदा रहेछन्, नजानिँदो पाराले । पञ्चायतकालमा जनतालाई राजनीतिक चेत दिलाउन आफ्नो घरको सम्पूर्ण कामहरु त्यागेर घुमन्ते शैलीमा गाउँ पसे । कांग्रेसभन्दा कम्युनिष्ट विचारका अलिक बढी कार्यकर्ताहरु पञ्चायतकालको हरेक दिनमा शिक्षक भएर पढाउने, नभए कुन घरमा बसेको हो ? त्यस घरमा काम सघाउने र रातभर गाउँघरको कुनै सुरक्षित सेल्टरमा कार्यकर्ताहरुलाई प्रशिक्षण दिने गरे । यसरी घुमन्ते पाराले आफ्नो घरको पुरै व्यवहार त्यागी संगठन चलाउने व्यक्तिको अन्त्यमा अथवा अहिले आएर राजनीतिक पेशामा पुगेको थाह पाएनन्, जनताहरुले ।

हिजो दलहरु बन्देज हुँदाताका कतिपय खाली खुट्टा र पुरानो लुगाहरु फाटेका हातैले सिलाएर लगाउने ती घुमन्ते नेताहरुको अहिले अदेखा–अदेखा सदरमुकाम, राजधानी, शहर, बजारहरुमा सिमेन्टेड घरहरु ठडिए । र महान नेता पनि बने । भुक्केचप्पले या त खालीखुट्टाहरुमा महँगो जुत्ताहरु छिरे । फाटेका हातैले सिलाएर टालेका लुगाहरुको स्थानमा महँगो (बुलेटप्रुफ) पोशाकहरु पहिरिए अनि मरन्च्याँसे अनुहारहरु खाइलाग्दो र गजधम्म शरीर बनाए । हिँड्ने खुट्टाहरुमा परिवर्तन ल्याए र पजेरो प्राडोले । करोडौं सम्पत्तिहरु जोडाए । तराईहरुमा जग्गाहरु थपिए । बैंकमा करोडौं रकम बचत गराए र आलिशानले प्रफुल्ल भएर सुखद् जीवनको सयर गरे र गर्दैछन् । यस्तै देखेर राजनीतिलाई पेशाको रुपमा लिने सिकारु लाखौं नव युवाहरु पनि स्वप्नील यात्राहरुमा निस्कँदैछन्, जन्मँदैछन् र कुद्दैछन्, हाम्रै गाउँघर, शहरहरुमा । अब यो जमात कसले रोक्ने र देश विकासमा को लगाउने ? चुनौति आएको छ ।

विगतका सेल्टरहरुमा, कोठाहरुमा र गोष्ठीहरुमा सिकाएका दर्शन, सिद्धान्त र नीतिहरु बिर्से, आर्थिक आमूल परिवर्तनले । अनि उनीहरुले सिकाएका समर्थकहरुको सन्तान (नव युवा)हरुले पनि सिद्धान्तभन्दा पर रहेर नेताकै सिको गर्न यततत्र जन्मदैछन् र बढ्दैछन् झाँगिएर । सिद्धान्त, दर्शन र पार्टी नीतिबारे मतलवै छैन, बस सम्पत्ति भए पुग्छ । आफ्ना नेता शानसँग हिँडेकोसँग मानसिक तुलना गर्न थाले र त्यही नक्कल गर्दैछन् । के यो देश उन्नतिको फापसिद्ध राजनीति हो त ? अवश्य होइन । अझै, हक र अधिकारको त कुरै छैन । जमातमा हल्ला गरेर, हल्लाकै भरमा र हल्लैहल्लाले नेता बन्न दौडधुप गर्दैछन्, चाराना–आठाना आम्दानी समेत सिध्याएर । खर्च भयो, सक्यो । भविष्यको जोहो छैन, टेङ्का खलास् । समग्र घरको काम छोडेर कुद्दैछन्, समय खलास् । नेताको कुरा सुनेर उसका लागि कुद्दैछन्, बौद्धिकता खलास् । जहाँ सिद्धान्त, दर्शन र नीतिपट्टि पुरै खोक्रो छ– ‘बाहिर रिटिङ् फिटिङ्, भित्र जुम्रा मिटिङ्’ ।

हुन त, केही बौद्धिक युवाहरुले पुरानै दस्ता, सिद्धान्त, दर्शन र नीतिहरु लिएर हरेक बहस गर्छन् जनताका लागि । समयले धेरै भिजेर खिया लागेको थाहै छैन, सत्ता हकाइमा । खिया लाग्दा सान लगाउनुपर्छ भन्ने पनि हेक्का छैन, नयाँ पुस्ताहरुले । तथापि फलोवर बन्छन् । फलोवर पनि कुनै सांसद, नेता, मन्त्री या त कुनै धनाढ्यको अनुहार र चालढाललाई सिको गर्छन् । यस्तो नक्कल या सिको सिद्धान्त पनि होइन । आर्थिक रुपान्तरणको नीति पनि होइन । भएको झिरिमिटीहरु खर्च गरेर अनुत्पादनमा स्वाहा गर्छन् । रोजगार र आम्दानी छैन । हाटहुट ढाँटढुँट पाराले जीवन थेग्दैन– राजनीतिमा । जीवन थेग्नु भविष्यको इन्सान हो– समुदायमा । यही भविष्य बनाउने नीतिबारे दलहरु पुरै अन्यौल छन्,–अहिलेसम्म । अन्यौल रहेका दलहरुको उपल्लो चालढाल देखेर नक्कले, हाटहुटे, ढाँटढुँटे वा सिको राजनीतिक फलोवरबाट देश बन्छ त ? बन्दैन । आफ्नो हक र अधिकार प्राप्त हुन्छ त ? हुँदैन ।

नेपाली कांग्रेसले प्रजातन्त्रको पुनर्वहालीदेखि गणतन्त्रसम्म धेरैपटक देशको सत्ता सम्हाले । खै त, लोकतान्त्रिक समाजवादको नीतिहरु जनताले पाएको ? ‘आकाशको फल आँखा तरी मर’ उखान सावित । कम्युनिष्टहरुले पनि प्रजातन्त्र पुनर्वहालीदेखि गणतन्त्रसम्म धेरैपटक देशको सत्ता चलाए । खै त, गरीब जनताको जनजिविकाका लागि जनताको बहुदलीय जनवाद र वैज्ञानिक समाजवादको नीति अनुसार जनताले पाएको ? ‘मनको लड्डु घ्यूसँग खा’ मात्तै भो । यस्तो उखाने सावितीका दलहरुबाट जनताको हक र अधिकारहरु देखिएन र अब कहिले छैन । यत्रो सत्ता चलाएर पनि जनताको हक र अधिकारका लागि कुनै काम गर्न नसक्ने दलहरुले जनताका लागि के–के गरे भन्ने कुरा वर्तमान एकपुस्ता पुग्दै गरेका र नाघ्दै गरेका युवाहरुले अध्ययन गरेका छैनन् । अध्ययन गर्नैपर्छ चेतनाका हिसाबले । सिको गरेर हिँड्नु हरेक व्यवहारमा खर्चिलो पारा हुन् । जसमा लाखौं युवाहरु हिँडिरहेछन् । यस्तो खर्चिलो कार्यमा नव युवाहरुलाई छेक्नु पर्दछ । र, सही मार्गमा लगाउनु पर्दछ । चुनौति पनि छ ।

वर्तमान सचेत युवाहरुले आफ्नो भविष्यका लागि हक र अधिकार खोज्न, माग्न, लड्न र भिड्न सकेनन् र चुक्यो भने बाजेले लडेको प्रजातन्त्र र जनवादले भविष्य उज्ज्वलतिर लानसक्ने देखिएन– नेपालमा । अधिकार र हकको कुरामा नेताहरु मात्र सुरक्षित भए । जनता र लाखौं युवाहरु भएनन् । देश नेतामुखी अथवा नेतातन्त्रतिर धकेलिए, लोकतन्त्र र गणतन्त्रको नाउँमा । यसको सिको गरिरहेछन् युवाहरु पनि । किनकि योजनाको उपभोक्तामा बसेर कागज मिलाई आफ्नो दुनो सोझ्याउँदैमा नेता बनिँदैन । भ्रष्टचार हुन् । भ्रष्टचार, जनताको पसिनाका कर आफ्नो हुँदो मिलाएर खानु हो । र, यो आफ्नो भविष्यको हकअधिकार पनि होइन । बुझ्ने, जान्ने र बोल्न सक्ने युवाहरुले हकअधिकारका लागि आफ्ना दलहरुमा प्रस्ताव राख्नैपर्छ, अब । नत्र सुन्दर भविष्यहरु र देश बनाउने जनशक्तिहरु अन्त्य हुन्छन् । तीन दशक अघिदेखि नै युवाहरुको भविष्यबारे अन्यौलग्रस्त मात्र होइन केही माखो समेत मारेका छैनन् र लाखौं युवाहरु वेरोजगारी बनाएका छन् । कुरा राख्दा सुनुवाई हुन सकेन भने त्यहाँ बसीरहन पनि उचित हुँदैन । बस्नु भनेको उनीहरुको दलाहा प्रवृत्तिको स्वीकारोक्ति हो, अवचेतनाले । बन्धनमुक्त हुनैपर्छ । पहिले–पहिले प्रजातन्त्र अथवा लोकतन्त्र भएपछि जनताको सबै हक र अधिकार प्राप्त हुन्छ भन्ने ठूलो आशा थियो । त्यो पनि भएन । जनवादी सरकारले पनि हकअधिकार दिन्छ होला भन्ने जनतामा अत्यधिक आशा थियो । त्यहाँबाट पनि भएन । र, आशाका दियोहरु सबै निभ्दै–निभ्दै गए ।

हकअधिकारबारे प्रतिनिधिमूलक तर्क थोरै राखौं । हामी अंग्रेजी भाषालाई योग्यताको भाषा बनाउन चाहन्छौं । विद्यालय, कार्यालय, हरेक व्यापारहरुमा र बोलचालमा अंग्रेजी बोल्न चाहान्छौं । के अंग्रेजी हाम्रो भाषा हो त ? होइन । यो त बेलायती (अंग्रेज)हरुले बोल्ने उनीहरुको मातृभाषा हो । के अंग्रेजी भाषा बोल्दा र लेख्दा हामी बेलायती अथवा अंग्रेज हुन्छौं त ? हुँदैनौं । आखिर अन्त्यमा नेपाली नै हौं । नेपालीमा पनि कुनै याक्थुङ्बा, खसआर्य, मैथिली कि नेवार, तामाङ कि त मगर, राई, गुरुङ भाषाका आदि–आदि । तर, अंग्रेजीलाई योग्यताको भाषा बनाए– नेपालमा । यो भाषिक अधिकार थिएन तर बनाए । अंग्रेजको भाषिक उपनिवेश थियो र भयो । अंग्रेजले भाषिक उपनिवेश विश्वभरि चलाए झैं नेताहरुले पनि भ्रष्ट उपनिवेश कार्यकर्ताहरुमा छिराए र भयो । भ्रष्ट उपनिवेश अधिकार होइन, भ्रष्टाचार हो । तर, नेपालभित्रका बहुल–राष्ट्रिय भाषा र लिपिहरुलाई संवैधानिकता पाउनु र योग्यताको भाषा बन्नु नै भाषिक हकअधिकार हुनु हो, तर दिएका छैनन् । यो नेतातन्त्रले लाद्दै ल्याएको दुःखद् परिवेश पनि हो ।
अधिकारहरुबाट विमुख रहेर सधैँ सत्ता चलाउने दलहरुले एकपुस्ता पुग्दै गरेका लाखौं युवाहरुको भविष्य निर्माण गर्न कुनै दूरगामी योजना छैन । न युवा वेरोजगारका लागि ग्यारेन्टीका साथ रोजगार दिन सक्ने योजना नै छ । युवाहरु हावाहुण्डरीको रुपमा दलहरुले नेताहरुको झोले, नारा–जुलुसे हो–हल्ला, क्षणकालका लागि मनोरञ्जन, केही क्षणका लागि पकेट खर्चभन्दा अन्य छैन । के यी कुराहरु अधिकार हुन् त ? युवाहरुको भविष्य हुन् त ? अवश्य होइनन् । भविष्य कसरी बनाउने भन्ने ति दलहरुसँग न नीति नै छ न त योजना नै । यस्तो लाखौं युवाहरुको भविष्य अन्धकार बनाउने दलका सांसद, नेता र धनाढ्यहरुको स्वप्निल चक्करमा पर्दै जानु, देश बनाउने सुखद् पक्ष होइन । देशको उन्नतिको अलावा अद्योगति र ‘गति न मति’ तिर धकेलिँदै जानु हो । तसर्थ, वर्तमान दलहरुको खिलाफ ‘छन् गेडा सबै मेरा’ भन्ने सार्थक उक्तिमा छन्, पुँजीवादी शैली । प्रशस्त आम्दानी हुने धनी धनाढ्यले सक्दो खर्च गर्ने अनि गरीब नसक्नेले चुनावभरि भक्कु धनीको खाइदिने र मत दिने चलन बसेको छ । कालान्तरमा गएर कुनै चौधरी ग्रुप, गोल्छा आदि व्यवसायीहरु ल्याएर चुनावमा सहभागी गराउन बाध्यताको समय माग्दै गइरहेका छन् । सम्पत्तिले राजनीति गर्दैछन् । भएको सम्पत्ति रित्याएर जीवन रित्तो पार्दैछन् । अचानक चुनाव जितेमा त्यही सम्पत्ति फर्काउन भ्रष्टाचार गर्छन् । वर्तमान युवाहरुले यही सिक्दैछन् । राजनीति गर्दा र चुनावमा लड्दा भएको थोरै पैतृक सम्पत्ति पनि सिध्याउँदैछन् । महँगो चुनाव गराएर जनताको जीवनस्तर र युवाहरुको भविष्यप्रति तुषारापात मात्र होइन, अन्धकारतिर धकेल्दै लैजाँदै छन् ।

प्रष्टै भनुम्, लाखौंलाख घर खर्च गरी लिएको शिक्षालाई वर्तमानसम्मका सरकारहरुले अयोग्य बनाउँदै ल्याउनु, असामयिक रुपमा शिक्षा दानतिर धकेल्न लगाउनु, हरेक रोजगारहरुको ढोकाहरु बन्द गर्दै लैजानु, योग्यता र क्षमताको आधारले रोजगार दिने व्यवस्था गर्न नसक्नु तर ती लाखौं वेरोजगार युवाहरु चुनावमा आवश्यक हुनु र प्रयोग गर्नु भनेको विचार, मत र घतमा पटक्कै नमिल्ने अदेखा हुकुमी शासकहरु हुन् । यस्ता लाखौं युवाहरुको भविष्यका लागि कामै गर्न नसक्ने दलहरुमा बस्नु भनेको भविष्य सकिनु र सिध्याउनु हो । तसर्थ, यिनीहरुको साथ त्याग्नु नै वेश हुन्छ । एक आवधिक चुनाव भनेको पाँच वर्ष हुन्छ । पाँच वर्षपछि हुनु भनेको आयुमा पाँच वर्ष घट्नु हो र कमाई गर्नु पनि पाँच वर्ष स्थिर रहनु हो । अझै दश वर्ष, पन्ध्र बर्षसम्म पछि धकेल्नु भनेको त्यतिनै हरेक कार्यमा पछाडि धकेलिँदै जानु हो । यसरी भविष्यको समय बर्वाद गराउने दलहरुलाई युवाहरुले माया गर्नु भनेको जीवनभर असामयिक वेरोजगारमा रहिरहनु हो । मानौं अहिले गाउँ, शहर र बजारहरुमा वेरोजगार युवाहरु प्रशस्तै रहे जस्तै ।

जो अधिकार चाहिन्छ भन्नेहरु ‘छैनन् गेडा सबै टेडा’ भने झैं छन् । उनीहरुले सम्पत्ति खर्च गर्दैनन् । कुनै चौधरी ग्रुप, गोल्छा बोलाउँदैनन् । किनकि राजनीतिलाई पेशा बनाउन चाहँदैनन् । समाजसेवाको रुपमा काम गर्छन् । अन्धकार जनता र लाखौं युवाहरुको भविष्य बनाउने चेतना फैलाउँछन् । तर, जनता र युवाहरु उनीहरु पक्षमा छैनन् र त ‘छैनन् गेडा सबै टेडा’ भने जस्तै । देशका लाखौं युवाहरुको रोजगार ग्यारेन्टी छैन, अहिलेसम्म । व्यावसायीकरण भएका छैनन्, यो समयसम्म । शैक्षिक सुविधाहरुबाट विमुख छन्, तीन दशकदेखि । घरमा आम्दानी छैन, गरिबीतिर । यसबारे सत्ता (प्रधानमन्त्री) चलाउने दलका सरकारले केही गर्नै सकेन । देखिएकै छ । लाखौं युवाहरुलाई अल्मलाउने र सुन्दर भविष्यलाई गुमराहमा राखेर वेराजगारीतिर लैजादै छन् । युवा जनशक्तिलाई टाइमपास गरेर देशलाई भ्रष्टमुखी र नेतातन्त्रमा फसाउँदै लगेका छन् । के ती लाखौं युवाहरुलाई रोजगार चाहिँदैन ? सेवासुविधाहरु चाहिँदैन ? युवाहरुको हरेक घरमा आम्दानी चाहिँदैन ? चाहिँदैनन् भन्ने नेतातन्त्रवादीहरु अहिलेसम्मै छन्, हाम्रो अनुहार वरिपरि । युवाहरुको भविष्यसँग जोडाएर हकहित र अधिकारका लागि बहसै गरेका छैनन् । र युवा वेरोजगारहरुको समस्या ह्वात्तै बढाएर चुनावहरुमा प्रयोग गर्छन् । र, वेरोजगार युवाहरु बाध्य भएर विदेश जान्छन् । विदेश गएका युवाहरुको रगत पसिनाका श्रमलाई रेमिट्यान्समा ल्याएर नेताहरुले भरणपोषण गर्छन्, अदेखा जीवनचक्रमा ।

राजनीतिलाई पेशा र व्यवसाय बनाउने नेताहरु नै देशका उन्नति र प्रगतिका बाधक सावित छन् । राजनीतिलाई समाजको सेवाको रुपमा नहेरेर ‘गरीखाने भाँडो’ बनाएपछि वर्तमानसम्म नेपाललाई ‘गति न मति’ बनाए । नभए ओली, देउवा, दाहाल, खनाल, नेपाल, भट्टराई आदि पूर्व प्रधानमन्त्रीहरुको राजनीतिक शैसवकालदेखि अहिलेसम्मको सम्पत्ति अनुसन्धान युवाहरुले गर्नुपर्छ र अरुहरुको पनि । समाजसेवाभन्दा पर गएर राजनीतिलाई पेशा बनाएका नेताहरुको आर्थिक स्थिति कति फरक छ ? उनीहरुको जनजिविकामा । आर्थिक फरकता आयो भने राजनीतिलाई पेशा बनाएर नै भ्रष्टआय हुन सक्छ । तसर्थ, पेशागत राजनीति भ्रष्टाचार हो । अन्य मुलुकहरुमा राजनीतिलाई समाजसेवा मान्छन् । तर, नेपालमा पेशाको रुपमा । जनतालाई अधिकारभन्दा नेतालाई राजनीतिक अधिकार दिएर नेताकै आमूल आर्थिक परिवर्तन गराएर जनताको कर, राजश्व र रेमिट्यान्स चुस्ने स्थान बनाएका छन् । राजनीतिलाई पेशा बनाउने वर्तमानसम्मका ‘मै ठूला’ भन्ने दलहरुको साथ जनता र लाखौं युवाहरुले नत्यागुञ्जेलसम्म समाजसेवाको विरुद्ध राजनीतिक पेशाबाट भ्रष्टाचार गर्ने बाटो बनाएका छन् । यसका नमूनाहरु सबैको गाउँ, शहर वा टोलहरुका गाउँले नेतादेखि लिएर माथिल्लो तहका नेतासम्म हरेक योजनाका बजेटहरुमा प्रमाणित गरिदिएकै छन् । तसर्थ, भ्रष्टाचार र नेतातन्त्रको विरुद्धमा लाखौं युवाहरु जुर्मुराउ नै पर्छ ।

अब, निर्धक्क मान्नुस् । राजनीतिलाई पेशा बनाएर हिँड्ने दलहरुलाई ‘छन् गेडा सबै मेरा’ देखियो भने पुस्तौंसम्म हामी पछि पर्ने नै छौं, विगत तीन दशकदेखि नै । यसका लागि लाखौं युवाहरुले मध्यमार्गी धारमात्र होइन, जसले आफ्नो हकहित र अधिकारका लागि बहुलर्राष्ट्रिय आवाज बनाएर सुन्दर भविष्यका लागि उठाउँदै आउँछन् । यस विषयमा नयाँ चासोका साथ बहसले हेर्नुपर्छ । फेरि यो मानेमा विश्वास नगर्नुस् कि अहिलेसम्म सत्ता (प्रधानमन्त्री) चलाउने दलहरुले पनि लाखौं युवाहरुको भविष्यका लागि व्यवस्थापन गर्ने नीतिहरु लेखेर आउन सक्छन्, अवश्य । तीन दशक अघिदेखि दलको नामबाट सत्ता (प्रधानमन्त्री) चलाउँदा लाखौं युवाहरुको भविष्यका लागि काम नगर्नेले छलकपटमा ल्याएको भन्ने दरिलो विश्वास युवाहरुले ठान्नै पर्छ । नभए फेरि नराम्ररी झुक्किएका हुन्छौं । तसर्थ, लाखौं युवाहरुको हकहित र अधिकारसँगै बहुलराष्ट्रवाद पक्षका दलहरुलाई सघाउनु र जनमत तयार गर्दै जानुपर्छ । जसले गरीब र युवाहरुको हकअधिकारहरु स्पष्टरुपमा बोलेर, लेखेर र घोषणापत्रमा उल्लेख गरेर तल्लो तहदेखि माथिल्लो तहसम्म एकै आवाज छ भने उनीहरु नै हुन्– जनता, युवा र गरीबहरुको सेवक । जुन ‘छैनन् गेडा सबै टेडा’ भन्ने उखानलाई कठिन चुनौति जनताले दिने समय आउँछ ।

ख्याल रहोस्, अधिकारका लागि दल परिवर्तन गर्दा केही आपत पर्दैन । अहिलेसम्म अधिकारका लागि केही नगर्नेले तीनको दल त्याग्दैमा केही पनि गर्न सक्दैनन् । उनीहरुको मत घट्छ । तसर्थ, हकहित र अधिकारका लागि लड्ने दलहरुलाई छनौट गरी लाखौं युवाहरु र गरीब जनताको सुन्दर भविष्यका लागि सकुञ्जेल लड्नुपर्छ, मत बढाएर । होहल्ला, हावा र लहै–लहैमा अनि बाजे–बुवाको दल भन्दै मानसिक अपाङ्ग नभई युगानुकूल परिवर्तनका बाहक बनेर निर्विकल्प जनता र राष्ट्रसेवक वा बहुल–राष्ट्रिय विचारका दलहरुमा समाहित हुनु नै वर्तमान युवाहरुको भविष्य सुन्दर मोडमा पुग्न सक्छ । र, पुग्नुपर्छ भन्ने पनि अधिकार हो । हक–अधिकारका लागि बहुल–राष्ट्रियवादतिर युवाहरु धकेलिनै पर्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here