भलाई…

९ आश्विन २०७८, शनिबार मा प्रकाशित

‘ओइ कता हिँडिस हौ लठुवा ?’ माइला बा हतारमा जङ्गलतर्फ जाँदै गरेको देवेन्द्रलाई हेर्दै भन्छन् ।
‘घाँस काट्न जङ्गल हिँडेको बा ।’

‘यसरी कति दिन घाँस दाउरा गर्छस् अब केही कमाउनतर्फ ध्यान दे ।’ बा बिडी खादै धुँवा छाडेर प्रश्न गर्छन् ।
‘आ… बा म सबै काम गरिरहेको छु । मलाई केही चिन्ता छैन भने तपाईं बेकार के चिन्ता गर्नुहुन्छ ?’ हतारमा देवेन्द्र हातमा लिएको हसियाले छेउको बोटबिरुवामा जोरले हान्दै त्यहाँबाट अगाडि लम्किन्छ ।
जङ्गलमा घाँस काट्दा बेग्लै मजा आउँछ देवेन्द्रलाई । ऊ बेला–बेला सिकार गर्न पनि रुचाउँछ । जङ्गलमा आउने जो कोहीसँग ऊ मिलेर सिकार गरांै भनि खरायो, बट्टाई, दुम्सी जङ्गली कुखुरा आदि समाउन ऊ जाल निर्माण गर्छ ।

जङ्गलमा एक्लै बेला–बेला जङ्गली जनावरको दुरुस्त आवाज निकाल्न ऊ सिपालु छ । सारा गाउँलेलाई बेला–बेला बाघ वा चितुवा, जङ्गली बँदेल आएको जस्तै गरी ऊ झुक्याउन माहिर हुन्छ । गाउँलेहरु भने उसको बाल प्रवृत्तिले आजित भएका छन् ।
साझमा एक भारी घाँस बनाएर ऊ घर फिर्दै गर्दा अलिकमाथि डाँडाबाट फेरि आवाज गुञ्जिन्छ । ‘देवेन्द्र त राम्ररी पढ्न पनि सकिनस् न केही काम गर्छस् । यस्तो लाठे भै सकिस अलिकति नि लाज लाउँदैन तलाई ?’

देवेन्द्र पुलुक्क माथि फर्केर हेर्दा माइली आमा घाँस काट्दै आवाज दिएकी रहिछन् ।
देवेन्द्र रिसले आगो बन्छ । ऊ कृतिम भाव निकाली आफूले ल्याएको घाँसको भारी थ्याच्च भुइँमा फ्याल्दछ । ऊ जङ्गिएर माइली आमातर्फ कराउँछ ‘ए बुढी तिम्रो के खाइदेको छु र यसो भन्छौ ।’
ज्वालामुखी झंै देखिएको देवेन्द्र हेरी माइली आमा डराउँछिन र त्यहाँबाट घरतर्फ दौडिन्छिन् ।

ऊ माइली आमाको बर्षौंदेखि सोधिने प्रश्नसँग आजित भएको पाउँछ । ‘देवेन्द्र त बुढो भइसकिस अब त काम गर ।’ माइली आमा उसको घर राम्रो बनाउन पटक–पटक देवेन्द्रलाई शुद्ध मनले सम्झाउँथिन् । तर, देवेन्द्र भने भित्रभित्रै आफूलाई खोक्रो पाए झैं सम्झन्थ्यो । ऊ मानसिकरुपमा विक्षिप्त बनेको आभाष गर्न सकिन्थ्यो ।
(केही दिनपछि)

‘देवेन्द्र तलाई बिहे गर्न मन छैन क्या हो ?’ भाइ तर्फ हेर्दै दाजु (माइला बा को छोरो) प्रश्न गर्छन् । ऊ थप भन्छ– ‘यस्ता अगतिलालाई कसले छोरी दिन्छ ? अलिक मेहनत गर काम गर पैसा कमा ।’
‘दाइ तपाईं त मलाई साथ दिनु । मेरो भाग्यले होला म केही गर्न सकेको छैन ।’

‘भाग्यमा विश्वास होइन मेहनत गर । परिश्रम गरे फल पाइन्छ त अल्छी छस् मुर्दार ।’
‘कसलाई अल्छी भन्या दाइ ? बोली सुधार गर ।’ देबेन्द्र एकासी जङ्गिन्छ ।
दाजु झन् दन्किएको आगोमा घिउ थप्छन्– ‘देवेन्द्र अब लायकको बन यस्तो नालायक नबन है ।’
देवेन्द्र त्यही रिसको झोकमा दाइको कठालो समात्न खोज्छ । वातावरण तातिन्छ । एकछिन उनीहरु बीच घम्साघम्सी हुन्छ ।

माइला बा र आमा आएर छुट्याउन खोज्छन् । निकै बल गरेपछि बल्ल उनीहरुको युद्ध रोक्छन् । माइला बा देवेन्द्रतर्फ हेर्दै भन्छन्– ‘यो गोठालोलाई जति उपदेश दिए पनि गोठकै बास गर्ने प¥यो । बुद्धिमा धमिरा लागेछ यसका । केही नभन है छोरा ।’

देवेन्द्र कि आमा आएर उसलाई घर लैजान्छिन् । आमा आफ्नो छोरालाई घरमा लागि सम्झाउँछिन् । ‘बाबु विदेश जान पनि त तेरो बुद्धिले भ्याउँदैन । त सँग पैसा पनि छैन आखिर कति दिन यसरी बस्छस् ?’ आमा थप भन्छिन्– ‘हेर आज तेरा माइला बा को कति राम्रो घर परिवार छ । अनि हामी चाहिँ सधैँ दुःखमा बस्ने ?’
‘आमा म सुख दिन्छु तपाईलाई नरुनु । यो आँशुको बदला म लिएर छाड्छु ।’ अलिक शान्त हुँदै देवेन्द्र आमालाई आशावादी बनाउँछ । ‘हेर त पनि काम गर । यी अरुलाई भन्ने मौका न दे । उनीहरुले हितमा भनेका हुन् तर त बुझ्दैनस् । केही काम गर बाबु ।’

‘आ… अब तपाईं पनि यस्तो कुरा नगर्नुस् ।’ झर्किदै देवेन्द्र उठेर गाईको गोठतर्फ लाग्छ । ऊ निकैबेर हराउँछ । आमा यताउति खोज्छिन्, तर अह् ऊ भेटिँदैन । दुई–तीन घण्टापछि ऊ फर्किएर आउँछ ।
उसको हातमा एउटा चिरपट देख्छिन् आमाले । चिरपटमा रगत दलिएको हुन्छ । देवेन्द्र देवेन्द्र रहेन अब ऊ त कठोर हृदय भएको राक्षस झंै भयो । आमा डराएर माइलाबा को घरतर्फ दौडिन्छिन् । देवेन्द्रको यो अवस्था देख्दा ऊ मानसिकरुपमा कति ग्रसित छ भन्ने प्रष्ट हुन सकिन्छ ।

देवेन्द्र बिस्तारै आफ्ना शरीरको दाग मेटाउन लाग्छ । अगेनामा चिरपट हालेर आज त्यही दाउराले पाकेको खाना खान तयार हुन्छ ।

‘लु अब भन मलाई कसैले नालायक, बेकामे, आदि इत्यादि । आजबाट कसैले मलाई केही भन्ने छैन ।’ जोड जोड्ले हाँस्दै देवेन्द्र नुहाउन र कपडा धुन थाल्छ ।

चिरपट बेस्सरी बल्छ । लाग्छ यो देवेन्द्रको युद्धको जित हो र मानवताको हार ।

भलाई गर्ने जमाना छैन अहिले । यहाँ त राम्रो सोच्दा यस्तै हुने चलन छ । गाउँ, समाजमा धेरै उदाहरण छन् । देवेन्द्र एउटा पात्र मात्र हो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here