हतारले जोखिम नल्याओस्

0
714

कोरोनाले थप क्षति नगरोस् भनेर स्वास्थ्यविद्हरूले खबरदारी गरिरहेका छन् । आज पनि यसको कहरले विश्व आक्रान्त छ । अझै धेरै देशहरूमा आवागमन सुचारू भएको छैन । सीमा नाका बन्द छन्, खोपको मात्रा पूरा गरेकाहरूलाई मात्रै आवागमनको अनुमति दिइएको छ । नेपालमै अहिलेसम्ममा साठी लाखभन्दा बढीले खोपको पूर्ण मात्रा लगाएका छन् । खोपको पहिलो मात्रा लगाउनेहरूको संख्या अझै धेरै छ र खोप कार्यक्रमलाई तीव्र पनि बनाइएको छ । स्वास्थ्य मन्त्रालय र जनस्वास्थ्यका विज्ञहरूले अहिले पनि भाइरसको तेस्रो लहर आउन सक्ने र त्यसले बालबालिका प्रभावित हुन सक्ने भन्दै उच्च साबधानी अपनाउन सचेत गराइरहेका छन् । तर, यहीबेला कतिपय पालिकाहरूले शिक्षण संस्था खोल्ने निर्णय गरेका छन् । स्थानीय सरकारको हतारको यो निर्णय घातक हुनसक्ने चिन्ताले अभिभावक अन्यौलग्रस्त बनेका छन् ।

यही समय झापाको दमकस्थित एक अस्पतालमा एघार महिने एक शिशुको दुःखद् निधन भयो । गत शुक्रबारको उक्त घटनापछि आक्रोशित आफन्तले अस्पतालमा तोडफोड गरे । शिशुको निधनको कारण कोरोना सङ्क्रमण भनिएको छ । अस्वस्थ शिशुलाई एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ देखिँदा पनि घर पठाएको र घर पुग्नासाथ थप जटिलता आएको परिवारले जनाएको छ । यो एउटा प्रतिनिधि घटना हो कि बालबालिकामा पनि सङ्क्रमण देखिन थालेको छ । उनीहरूमा रोगसँग लड्ने क्षमता कम हुने प्राकृतिक कारणले पनि यो समूह थप जोखिममा छ । त्यसमाथि सत्र वर्ष मुनिका बालबालिका र किशोर–किशोरीका लागि खोपको सुनिश्चितता भएकै छैन । यस्तो सङ्कटपूर्ण र सम्भावित जोखिमको आकलन गरेरै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र चिकित्सकहरूले विद्यालय लगायतका भीडभाड हुने प्रतिष्ठानहरू तत्काल सुचारू नगर्न सचेत गराएको पनि हो । तर, विपद व्यवस्थापनको जिम्मा पाएकाहरूले दवाव झेल्न नसक्दा सबै निर्णयको अधिकार स्थानीय तहलाई दियो । जसका कारण बालबालिका जोखिममा पर्ने देखिएको छ ।

राजधानीका विद्यालयहरूलाई अन्य जिल्लासँग तुलना गर्न सकिँदैन । अझ ग्रामीण क्षेत्रका विद्यालयको अवस्था र भौतिक पूर्वाधारमा झन् ठूलो खाडल छ । अधिकांश विद्यालयले स्वास्थ्य सुरक्षाको मापदण्ड लागू गर्नै सक्दैनन्, न त स–साना बालबालिकामा त्यस सम्बन्धी चेतना नै हुन्छ । यस्तो परिस्थितिमा उपत्यकाकै अभिभाबकले छोराछोरी विद्यालय पठाउन अस्वीकार गरेका छन् । तर, झापाका केही स्थानीय सरकारले भने आफ्ना क्षेत्रका विद्यालय खुलाउन निर्देशन दिएका छन् । सरकारद्वारा जारी विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा र मापदण्ड पूरा गरेर भौतिक उपस्थितिमा शिक्षण संस्था खुला गर्ने निर्णय परिवारका लागि घातक नबनोस् कम्तीमा अभिभावकले गम्भीर बन्नुपर्छ । प्रदेश १ मा अहिले पनि कोरोना सङ्क्रमण दर उच्च छ, त्यसमा पनि झापा अघि छ । मृत्युदर कम छ तर, अन्त्य भएको छैन । सरुवा रोग विशेषज्ञ डाक्टर सागर राजभण्डारीले सङ्क्रमण दर बढ्दै गएको भन्दै अहिले नै विद्यालय खोल्नु उपयुक्त नहुने बताएका छन् । त्यसैगरी राष्ट्रिय अभिभाबक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले पनि सङ्क्रमण नटरेको जनाउककदै स्थानीय सरकारलाई हतारको निर्णय नगर्न सचेत गराएका छन् । फेरि नेपालीको महान पर्व दशैँ र तिहार पनि आँगनमै आइसकेको अवस्थामा विद्यालय खोल्नुको कुनै अर्थ छैन । आफ्नो बशमा नभएको विपदालाई चुनौति दिनुभन्दा परिस्थितिको गाम्भीर्य महशुस गर्नु बुद्धिमानी हुन्छ । यसतर्फ जिम्मेवार निकायको ध्यान जाओस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here