विश्वप्रकाश शर्मा : राजनीतिमा नयाँ पुस्ताको आशा

0
962

२०२७ पुस ६ गते जन्मेका विश्वप्रकाश शर्मा यतिबेला नेपाली राजनीतिको सङ्कथनको केन्द्रमा छन् । २०४० सालमा धुलाबारी मावि झापाको नेपाल विद्यार्थी संघ इकाई सभापतिको रुपमा राजनीतिमा प्रवेश गरेका शर्मा २०४१ सालमा ९ कक्षामा पढ्दा प्रथम पटक प्रहरी गिरफ्तारीमा परेका थिए भने २०४७ सालमा नेविसंघ झापाको जिल्ला सभापति भएका थिए । २०४८ सालमा नेवि संघ केन्द्रीय सदस्य बनेर २०५३ सालमा नेवि संघ महामन्त्री बनेका थिए । २०५३ पुसमा नेवि संघ केन्द्रीय उपसभापति बनेका शर्माको उन्नतिको क्रम रोकिएन । २०५७ सालमा उनी नेविसंघको केन्द्रीय सभापति बने भने २०५७ सालमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेका थिए । २०७२ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित बनेका शर्मा २०७४ सालमा नेपाली कांग्रेस पार्टी प्रवक्ताको जिम्मेवारी पाएका थिए भने २०७६ सालमा नेकाको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख बने ।

सकारात्मक, लोक कल्याणकारी, तर्कयुक्त र वैज्ञानिक सोचका धनी शर्मा वाकपटु र वक्तृत्वकलामा सिपालु नेता मानिन्छन् । उनी नेपाली कांग्रेसका त्यस्ता नेपाली युवा राजनीतिज्ञ हुन् जोसँग टाउकोमा देश बनाउने चित्र छ भने हृदयमा नेपाली माटोको ममता छ । पछिल्लो पुस्ताका आशालाग्दा नेता शर्माको रगतमा मानवता सञ्चारित छ । एक प्रभावशाली युवा नेताको उज्ज्वल छबि बनाएका शर्मा कुनै ठूला नेताको कृपाले होइन, आफ्नै कार्यकुशलता र आम कांग्रेसी कार्यकर्ताको विश्वास, माया र भरोसाका कारण आजको उचाइमा पुगेका हुन् । उनी यतिबेला जिल्लाको राजनीतिबाट माथि उठेर केन्द्रीय राजनीतिलाई हस्तक्षेप गर्ने अवस्थामा पुगेका छन् ।

शर्माको लोकप्रियता र क्षमताका कारण उनीप्रतिको विश्वास र भरोसा निरन्तर बढ्दो छ । शर्माको संस्कार नेपाली राजनीतिक क्षेत्रमा अनुशरणीय छ । आफ्नै पार्टीमा मात्र होइन, विपक्षीसम्म उनको जीत र हारलाई सभ्यतापूर्वक र शालीनताका साथ स्वीकार्ने राजनीतिक संस्कार सदैव चर्चाको विषय बनेको छ । स्ववियु निर्वाचन होस् वा संसद् अथवा पार्टी राजनीतिमा पराजित हुँदा उनले देखाएको राजनीतिक संस्कार अझै पनि धेरैको स्मरणमा ताजै छ । उनले नेविसंघको नेतृत्वमा हुँदा देखाएको कौशलता पनि सम्झन लायक छ । २०५७ सालमा नेविसंघका केन्द्रीय सभापति बनेका उनी दुई वर्षे कार्यकालभन्दा एकदिन बढी पनि उक्त पदमा बसेनन् । महाधिवेशन गराएर शर्माले नयाँ नेतृत्वलाई नेविसंघ सुम्पिएका थिए । यो उनको लोकतान्त्रिक शैली हो । विद्यार्थी नेताका रूपमा मात्र होइन, पार्टी केन्द्रको प्रवक्ताको रुपमा पनि उनले आफ्नो क्षमता देखाइसकेका छन् । पार्टीलाई चलायमान बनाउन उनले गरेको मेहेनत अघिल्ला प्रवक्ताहरुको तुलनामा धेरै माथि छ ।

उनले अघिल्लो पुस्ताले निकै संघर्ष गरेर, रगत दिएर र जेलमा जीवन दिएर निर्माण गरेको यो संविधान र व्यवस्था ल्याइएकाले अबको संघर्ष आर्थिक क्रान्तिको लागि हुनुपर्ने उनको धारणा छ । त्यसैले राजनीतिकभन्दा पनि राजनीतिमा परिवर्तन आवश्यक रहेको उनको ठम्याई छ । उनी भन्छन्– ‘राजनीतिमा परिवर्तन भएपछि देशका सबै परिवर्तनका ढोका खुल्छन् ।’ वीपीको आदर्शलाई पछ्याउँदै उनी राजनीतिलाई सेवासँग गाँस्नुपर्ने मान्यता राख्छन् । तर, राजनीति सेवामुखी नहुँदा, राजनीति गर्नेहरू असहिष्णु बन्दा, राजनीतिक दुश्मनी कायम राख्दा र राजनीतिलाई गाउँमुखी नबनाउँदा आजको अविश्वासको अवस्था आएको उनको भनाइ छ ।

विश्वप्रकाश शर्माले १४औं महाधिवेशनका लागि प्रतिकात्मक रुपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । उनले नेपाली कांग्रेसका संस्थापक नेता एवम् नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाले अगभग ८ वर्षभन्दा बढी एकान्त जेल जीवन बिताएको सुन्दरीजलमा उम्मेदवारीको घाष्णा गरेका छन् भने गृहजिल्ला झापाको बिर्तामोड पुगेर उनले राजनीतिमा परिवर्तनका लागि २४ बुँदामा विचार सार्वजनिक गरेका छन् । उनले राजनीतिको छविमा पुनर्ताजगीको आकांक्षा राखेका छन् । राजनीतिलाई राजनीतिभित्रकाले र राजनीतिबाहिरकाले बुझ्ने र विश्लेषण गर्ने दृष्टिकोणमा सामञ्जस्यता खोज्न जरुरी छ । राजनीति बाहिर रहेकाको नजरबाट राजनीति र राजनीतिकर्मीको छविलाई नियाल्ने अनि सकारात्मक धारणालाई अभिवृद्धि गर्ने तथा नकारात्मक बुझाइका तथ्य जो छन्, तिनलाई अन्त्य गर्न आत्मालोचित हुने रूपान्तरणको सूत्र खोजी गर्न आवश्यक रहेको बताउँदै उनी भन्छन्– सबै बढौँ, सँगै बढौँ निश्चित गरिएको राजनीतिक बाटोमा ।

त्यस्तै उनी संविधान बनाउनेले संविधानप्रति इमान राख्नुपर्ने बताउँछन् । उनको विचारमा ऐतिहासिक आन्दोलन र संविधानसभाको वैधानिक प्रक्रिया मार्फत देशले आजको उपलब्धि हासिल गरेको हो । भिन्न दर्शन, भिन्न दल र भिन्न नेतृत्वको आपसका थुप्रै फरक मत थाँती राखेर विमतिबीच सहमतिको दस्तावेजको रूपमा आजको संविधान निर्माण गरिएको हो । यसप्रति साझा स्वामित्व र जिम्मेवार चरित्र तथा प्रवृत्तिको खोजी गर्न आवश्यक छ । संविधानप्रति विमति लोकतान्त्रिक हक तर संविधानसभाको वैधानिकता कदर साझा कर्तव्य रहेकोमा उनी जोड दिन्छन् । उनको विचारमा आजको अस्तव्यस्तताका लागि राजनीतिक व्यवस्था नभएर अव्यवस्था जिम्मेवार रहेको भनाइ छ । व्यवस्थाभित्रको अव्यवस्था अन्त्य गरेर यसप्रति जनताको आशालाई विश्वासमा बदल्नुपर्छ भन्ने उनको सोच छ ।

उनी दलगत आग्रहभन्दा माथि उठेर साझा राष्ट्रिय दृष्टि निर्माण गर्नुपर्ने विषयमा जोड दिन्छन् । उनको विचारमा परराष्ट्र नीति सबैको साझा दृष्टिको प्रश्न हुनुपर्छ । देशको सम्मान, स्वाभिमान र समृद्धिसँग सोझै सरोकार राख्ने परराष्ट्र नीति व्यक्तिका बुझाइ या दल विशेषको आग्रहभन्दा माथि देशको हुनुपर्छ, बनाइनुपर्छ । उनको विचारमा नीतिगत सुनिश्चितता देशको समृद्धिका लागि अनिवार्य आवश्यकता हो । संसदीय निर्वाचनको अभियान खर्चिलो र कामचलाउ पारदर्शी मात्र भएको यथार्थलाई आत्मचिन्तन गर्दै मितव्ययी नीति र विधिको निर्माणले राजनीतिमा बढ्दो विकृतिलाई नियन्त्रण गर्न सघाउ पु¥याउँछ । सहिष्णुता र सुसंस्कृत राजनीतिको मूलमन्त्र हो । उनी भन्छन्– ‘सहिष्णुताको प्रश्न व्यक्तिको लोकतान्त्रिक चरित्र परीक्षण गर्ने एक विधि हो ।’

राजनीतिक नेतृत्व जिम्मेवार हुनुपर्नेमा जोड दिने शर्मा प्रश्नलाई प्रोत्साहित गर्ने र जवाफमा जिम्मेवार बन्ने सूत्रलाई आत्मसात गर्छन् । उनले पार्टीभित्रको प्रतिस्पर्धा होस् या बाहिरकासँग, लोकतान्त्रिक प्रक्रिया अंगिकार गर्नुपर्नेमा उनको जोड छ । उनको सोचमा सुशासन, पारदर्शिता र सदाचार परिवर्तित राजनीतिको मूल संस्कार हुनुपर्छ । उनी राजनीतिप्रति नागरिक वितृष्णाको एक मुख्य कारण सर्वत्र व्याप्त भ्रष्टाचार भएको मान्छन् । उनी विचारमा अब शासकीय प्रणालीको होइन, शासन संस्कार पद्धतिको बहस हुनुपर्नेमा जोड दिन्छन् । राजनीति, राजनीतिज्ञ या राज्यप्रति सञ्चारमाध्यम या कहीँबाट पनि उठ्ने सकारात्मक या नकारात्मक कस्तै प्रश्नलाई पनि प्रथमतः प्रश्नकर्ताको लोकतान्त्रिक अधिकारका रूपमा लिइनुपर्छ भन्ने उनको धारणा छ । लोकतन्त्र र राष्ट्रको लागि लामो समय संघर्षमा सहभागी अग्रज र आदर्श राजनीतिक व्यक्तित्वहरूको सामाजिक सम्मान र कदर गर्ने संस्कृतिले राजनीतिप्रति नागरिक आकर्षण बढाउन बल पु¥याउँछ । शर्माको विचारमा राजनीतिमा संलग्न नरहेका, तर विषयगत सुयोग्यता राख्ने कुशल कालीगढी मस्तिष्क भएकाहरूलाई सँगै लिएर अगाडि बढ्दा राजनीतिप्रति आकर्षण बढ्छ र राष्ट्र निर्माणप्रति विश्वास अभिवृद्धि हुन्छ ।

हरेक तहको राजनीतिक नेतृत्व र सदस्यलाई आर्थिक रूपले आत्मनिर्भर बन्ने प्रेरणा र बनाउने अभियानले राजनीतिक व्यक्तिलाई स्वावलम्बी बनाउँछ भने समग्र राजनीतिलाई स्वच्छ र सदाचारयुक्त मैदान बनाउन योगदान पु¥याउँछ भन्ने उनको धारणा छ । देशमा केही पनि भएको छैन भन्दा पनि देशमा केही भएको छ, धेरै गर्न बाँकी छ भन्ने भावना जनजनको मनमा दृढ ढंगले विकसित गर्न जरुरी छ । महत्वपूर्ण राजनीतिक परिवर्तनहरूले देशलाई उज्यालो भविष्यतर्फ अग्रसर हुन मार्गप्रशस्त गरिसकेको छ भने अस्थिरता र हिंसात्मक द्वन्द्वको बीच पनि देखिने गरी आर्थिक र भौतिक प्रगतिका केही कार्य देशमा भएका छन् । संसारमा जतिसुकै सुन्दर राजनीतिक प्रणाली किन नहोस्, जनताको हित र देशको प्रगति प्रणाली मात्रैमा होइन, त्यसका सञ्चालकको प्रवृत्तिमा बढी निर्भर हुन्छ ।

उनका विचार यति सुन्दर भए पनि झापामा उनको प्रशंसा मात्र छैन । उनका कटु आलोचक पनि छन् । यस्तो लाग्छ– उनी सामाजिक सञ्जालको ट्रोलमा परेर सिद्धिने पो हुन् कि ? झापामा उनलाई गुट र उपगुटको गोलचक्करमा रमाएको भनेर आलोचना गरिँदैछ । सार्वजनिक खपत र पद प्राप्तिको व्यक्तिगत फाइदाका लागि काम गरेको उनीमाथि कांग्रेसी कै आरोप छ । दिनको घाम जत्तिकै सत्य के हो भने नेपाली कांग्रेसभित्र गुट–उपगुट छन् । तर, जुनसुकै बहानामा पनि चेतनाको घाम झुल्कने झापाली माटोबाट उठेको राष्ट्रिय प्रतिभालाई केन्द्रीय राजनीतिको शीर्षासनमा पु¥याउन गुटउपगुटबाट मुक्त भएर साथसहयोग गर्नु झापालीका लागि आवश्यक छ, तर सन्देह यसमा छ कि कतै शर्माका सम्बन्धमा झापाली वीचमै मतैक्यता नहोला कि ? यसै कारणले कष्टसाध्य जन्म लिएको एक प्रतिभाको विपक्षमा झापाली आवाज मुखरित हुने त होइन ? बुझ्नुपर्ने कुरा के हो भने विश्वप्रकाश शर्मासँग आफ्नो मिहिनेत र सार्वजनिक साखबाहेक अर्को कुनै वंश–विरासत छैन, भुइँबाट उठेको र भुइँमान्छेसँगै रमाउने प्रेम, स्नेह र विवेकको संगमका रुपमा शर्माले पार्टी प्रवक्ताको पदबाट अवकाश हुने गरी कांग्रेस राजनीतिमा आएको होइन बताएका छन् ।

शर्मा भन्छन्– को, के बन्ने ? प्रश्न यो मात्रै होइन, वीपी संस्कारको जगमा बदल्नुछ, देश र कांग्रेस । उनले नारा दिए–हिजो राजनीतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन ! नेपाली कांग्रेसको घटिरहेको साख जोगाउन र राष्ट्र र राष्ट्रियताको संरक्षणका लागि उनले आफ्नो उम्मेदवारी अति आवश्यक रहेको बताएका छन् । असल राजनीति र नेतृत्वको परिभाषा दिँदै उनी भन्छन्– देशको मुहार बदल्नु छ त राजनीतिको मुहार बदलिनु पर्छ । प्रभावशाली युवा पुस्ताका नेता शर्मा सानै उमेरदेखि राजनीतिमा चाख राख्थे र उनी राजनीति साथसाथै टेलिभिजनमा कार्यक्रम प्रस्तोता बनेका छन् । असल गीतकार, संगीतकार र गायक समेत रहेका बहुमुखी प्रतिभाका धनी शर्मा झापालीका लागि गौरव हुन् ।

वास्तवमा राजनीतिको मुहार बदल्ने अभियानले तागत प्राप्त गर्छ । भविष्य बोकेको जाँगरिलो युवाहरुको सार्थक हस्तक्षेपले नेपाली कांग्रेस थप समृद्ध हुन्छ । यही सार्थक बदलावका लागि शर्माको उम्मेदवारी परेको छ । आशा गर्न सकिन्छ– विश्वप्रकाशले आफ्ना कार्यकर्ताका आलोचनालाई सुन्नेछन् र झापाली लगायत आम महाधिवेशन प्रतिनिधिहरुले पनि उनलाई विजय र सफलताको भरोसा दिनेछन् । नवीन कांग्रेसका लागि नवीन सोच र अग्रगामी दृष्टिकोणसहितको नवीन पुस्ताको नेतृत्व आजको खाँचो हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here