खोेपले जगाएको आशा

१३ आश्विन २०७८, बुधबार मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्त भएकै दिन आफ्नो पहिलो प्राथमिकता ‘खोप’ रहेको घोषणा गरेका थिए । त्यसयता जारी खोप कार्यक्रमले पाएको निरन्तरताले यो घोषणाले आकार पाउने आशा पलाएको छ । असोज मसान्तसम्ममा तेत्तीस प्रतिशतमा खोप पु¥याउने प्रधानमन्त्री देउवाको घोषणा पूरा गर्न अब पाँच प्रतिशतमात्र बाँकी छ । गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएकै दिन घोषणा गरे अनुरूप खोप अभियान दिनहुँ चलिरहेको छ। सरकारी तथ्याङ्क अनुसार अहिलेसम्ममा लक्षित समूहको कूलसंख्याको तीस प्रतिशतले खोपको पहिलो मात्रा लगाइसकेका छन् । प्रधानमन्त्रीको घोषणा अनुरूप तीब्रता दिइएको अभियान अपेक्षित ढङ्गले अघि बढिरहेको परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले बताएका छन् । कोरोनाभाइरसले विश्वकै जीवनमा असर पु¥याएको छ। ठूला तथा विकसित देशहरू नै यसको प्रभावबाट मुक्त हुन सकेका छैनन् । रूप परिवर्तन गर्दै सङ्क्रमण विस्तार गर्ने यसको असर आज पनि कम भइसकेको छैन । यो महामारीबाट जोगाउने एउटा मात्रै प्रभावकारी उपाय भनेको खोप नै हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कम्तीमा साठी प्रतिशतलाई खोप लगाए रोग नियन्त्रण गर्न सकिने जनाएको छ । यही उद्देश्यका लागि सरकारले अभियानलाई तीब्रता दिएर सत्र वर्षमाथिका दुई करोड सत्र लाख छप्पन्न हजारभन्दा बढीलाई खोप लगाउने लक्ष्य राखेको छ । त्यसै अनुसार पुस मसान्तसम्ममा दुई तिहाइ र चैत मसान्तसम्ममा लक्षित समूहका सबैलाई खोप लगाइसक्ने सरकारको योजना छ । यो योजना खोपको तीब्रताले पूरा हुने सुखद सङ्केत हो । यद्यपि गठन भएको दुई महिना बितिसक्दा पनि सरकार अपूर्ण नै छ । धेरै मन्त्रालयहरू नेतृत्वबिहीन हुँदा राज्य सञ्चालनका महत्वपूर्ण विषयहरू ओझेलमै छन् । अनि पनि दिनहुँ औसत एक लाख जनाले खोप लगाइरहेका कारण सङ्क्रमण दर घट्दै गएको पनि छ । यद्यपि अहिले पनि सङ्क्रमण दर उन्नाइस प्रतिशतभन्दा तल झरेको छैन तर मृत्यु संख्या भने क्रमशः घट्दैछ । विश्वका कतिपय देशमा शून्यमा झरेको सङ्क्रमण फेरि उकालो लाग्न थालेको सूचना आइरहेका छन् । त्यसैले अहिलेको सङ्क्रमणको घट्दो क्रमलाई हेरेर जोखिममुक्त नै भइयो भन्ने अवस्था भने छैन ।

महामारी शुरू भए यता प्राथमिकता निर्धारण गरी खोप लगाउन थालियो । पैंसठ्ठी वर्षमाथिका, स्वास्थ्यकर्मी, सफाईकर्मी र अग्रपंक्तिमा रहेर काम गर्नु पर्नेहरूलाई जोखिमपूर्ण समूह मानेर शुरू भएको अभियान अहिले व्यापक भइरहेको छ । पछिल्लो समय विद्यालय जाने उमेर समूह अर्थात बाह्रदेखि सत्र वर्षसम्मका बालबालिकालाई खोप अभियानमा सामेल गर्ने योजना अनुरूप सरकारले काम गरिरहेको बताइएको छ । त्यसो त जनताको जीवन रक्षा गर्नु सरकारको मूल दायित्व हो तर यस अघिको सरकारले खोपलाई अभियानका रूपमा सञ्चालन गर्न सकेन । बरू खोपलाई आर्थिक लाभको विषय बनाएको भन्दै विवादित बनायो । त्यसकै परिणाम हो कि स्वास्थ्य मन्त्री पटक–पटक फेरिए, कार्यक्रमले गति लिन सकेन । विगतबाट सिकेर वर्तमानलाई परिणाममुखी बनाउनु पर्छ । वर्तमान सरकारले त्यही सत्यवोध गरेर अबको सम्पूर्ण ध्यान कोरोनाजन्य कहरबाट मुक्त गराउनेतर्फ केन्द्रित गर्नुपर्छ । थलिएका सम्पूर्ण अवयवहरू पुनःस्थापित होऊन्, सक्रिय र गतिवान होऊन् योजना त्यतातर्फ लक्षित हुनुपर्छ । अनिमात्र सरकारप्रति आशा, भरोसा र विश्वास गर्न सक्ने वातावरण तयार हुन्छ । अनि मात्र सरकार देश र जनताको प्रतिनिधि र अभिभावक सिद्ध हुन सक्छ । सरकारको अभियान त्यसतर्फ उन्मुख भएकाले थोरै आशा पलाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here