बैदेशिक रोजगारको आकर्षण

१४ आश्विन २०७८, बिहीबार मा प्रकाशित

विप्रेषण राष्ट्रिय आम्दानीको मुख्य स्रोत भएको छ यसबेला । सक्षम युवाशक्तिलाई पराई देश पठाएर विप्रेषणको आशा र भरोसामा बाँच्नु परिवार र सत्तामा बस्नेहरूको नियमितता नै बनेको छ । अनेक सम्भावनाहरूको खोजी गरेर आत्मनिर्भर बन्ने प्रयास गर्नुभन्दा विप्रेषण आप्रवाह रोज्नु सरकारको प्राथमिकता भएपछि स्वावलम्बन ओठे भक्ति हुने नै भयो । देश र जनताका लागि दुर्भाग्यपूर्ण यो अवस्थाले दुबैको श्रीबृद्धि सम्भव छैन ।

युवा जनशक्तिको पलायनले एकातिर देशमा विद्यमान साधन स्रोत खेर गएको छ भने अर्कातिर परनिर्भरतालाई बढाएको छ । त्यसैगरी समाज र पारिवारिक जीवन खण्डत हुने क्रम बढेर गएको छ । शदीयौंदेखिको आदर्श परिवार, समाजको हार्दिकता, सद्भाव, सहिष्णुता, एकता र प्रेम कमजोर हुँदै गएको छ । सामुहिकता र परस्परको गहिरो भावनात्मक सम्बन्ध पनि खण्डित भइरहेको छ । जनशक्तिको अभावमा उर्वर जमिन बाँझिएको छ र देशमा आश्रित जनसंख्या मात्रै बाँकी रहेको अवस्था छ। देश विकासको मूल आधार राजनीतिक स्थिरता हो । त्यसकै लागि सयौं नेपालीले वलिदान दिएको पनि भनिन्छ । तर, दलहरूको अभिष्ट केवल सत्ता प्राप्ति र त्यसको सुरक्षामा केन्द्रीत हुँदा न स्थिरता छ न त सर्वाङ्गीण विकासको आधार तयार गरिएको छ । जसरी पनि सत्तामा पुग्ने र सत्तामा पुगेपछि जसरी पनि सम्पत्ति कमाउने भोकले राजनीतिक प्रणाली नै आलोचित भएको छ । त्यसकै परिणामले विकृति, विसङ्गति र भ्रष्टाचार हुर्किएर जन आक्रोश नबढोस्, सरकारबिरूद्ध नखनियोस् भनेर शायद सरकारको ध्यान वैदेशिक रोजगार प्रवद्र्धनमा केन्द्रीत भएको छ । तर, विगत दुई वर्षअघि चीनबाट शुरू भएको कोभिड महामारीले विश्वलाई गाँजेपछि भने परिस्थिति भिन्न हुन पुग्यो ।
रोजगारी कै लागि भिन्न जलवायु र जटिलताका बीच मलेसिया, दुबई, कतार, कुवेत लगायतका खाडी मुलुकमा मात्रै साढे चार लाख नेपाली युवा जाने गरेका थिए । तर, कोभिडले त्यहाँको जीवन नै प्रभावित भएपछि वेरोजगार बनेकाहरू कष्टकर जीवन बिताउन बाध्य भए । यसबेला खाडी मुलुकले महामारी न्यून हुँदै गएपछि नेपाली कामदारको माग गर्न थालेका छन् । विपद् आउँदा कामदारको जीवन रक्षा गर्न नसक्ने र सहजतामा बोलाउने तिनको व्यवहार हाम्रो हित अनुकूल छैन र होइन पनि । तर, सरकार नै युवाशक्तिलाई बिदेशको प्रचण्ड गर्मीमा पसिना बगाउन प्रेरीत गर्छ भने आफ्नो देशको विकास कसरी सम्भव होला ! यसबेला बैदेशिक रोजगार फेरि सुचारू गरिएको छ । दैनिक पन्ध्र सय जनाभन्दा बढीले श्रम स्वीकृति लिन थालेका छन् । कोभिडका कारण बन्द भएका वैदेशिक रोजगारीमा पठाउने व्यवसायीहरू उत्साहित भएका छन् । श्रम कार्यालयमा श्रम स्वीकृति माग्न जानेहरूको भीडले हाम्रो बाध्यताको प्रमाण दिइरहेको छ । धेरै नेपालीको गन्तव्य बनेको मलेसियाले त्यहाँको कृषि क्षेत्रका लागि नेपाली कामदार मागेको छ भने दुबईले सुरक्षा गार्ड र औद्योगिक मजदुर खोजेको छ ।

कोभिडले रोकिएको विप्रेषणको आप्रवाहले फेरि गति लिने सरकारको अपेक्षा पूरा त होला । तर, यसले परनिर्भरताको झन् ठूलो खाडल बनाउँछ भन्ने बिर्सिन हुँदैन । यदि सरकार र राजनीतिक दलमा रहनेहरू देश र जनताप्रति जिम्मेवार छन् भने सक्षम तथा सक्रिय युवालाई स्वदेशमै उत्पादनमूलक कार्य गर्ने वातावरण निर्माण गर्नुपर्छ । यसले मात्र आत्मनिर्भर, स्वावलम्बी र बलियो समाज निर्माण गर्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here